आईएसले अपहरण गरेकी युवतीको दश वर्षपछि गाजाबाट उद्धार
एक दशकभन्दा लामो बन्धक जीवनपछि याजिदी युवती फौजिया अमिन सिदोको फलस्तीनको गाजाबाट उद्धार गरिएको छ।
इजरायल, अमेरिका र इराकका अधिकारीहरूका अनुसार फौजियालाई ११ वर्षको उमेरमा इस्लामिक स्टेट समूहले अपहरण गरेको थियो। उनलाई इराकबाट अपहरण गरेर गाजा पुर्याइएको थियो।
याजिदी इराक र सिरियामा बसोबास गर्ने अल्पसंख्यक धार्मिक समुदाय हो। सन् २०१४ मा इस्लामिक स्टेटले उत्तरी इराकको सिन्जारमा यो समुदायमाथि आक्रमण गरेको थियो। यस आक्रमणमा कैयौं युवा मारिएका थिए। महिला तथा बालिकालाई दासी बनाइएको थियो।
इजरायली सेनाका अनुसार फौजियालाई गाजामा बन्धक बनाएर राख्ने व्यक्ति हालैको इजरायल-हमास युद्धमा मारिएका थिए। हवाई आक्रमणका क्रममा ती व्यक्ति मारिएको अनुमान गरिएको छ।
ती व्यक्ति मारिएपछि फौजिया भागेर गाजाको अर्को स्थानमा गएकी थिइन्। इजरायली सेनाका अनुसार उनलाई इजरायल, अमेरिका र अन्य देशको सहकार्यमा मुक्त गरिएको हो। त्यसपछि उनलाई इजरायल र जोर्डन हुँदै इराक फर्काइएको छ।
इराकी विदेश मन्त्रालयका अधिकारी सिल्वान सिन्जारीले रोयटर्सलाई बताए अनुसार लगभग चार महीनाको अवधिमा उनलाई उद्धार गर्ने धेरै पटकका प्रयास गाजाको सुरक्षा स्थितिका कारण असफल भएका थिए। उनका अनुसार फौजियाको शारीरिक अवस्था ठीक थियो, तर लामो बन्धक जीवन र गाजाको भयावह स्थितिले उनलाई मानसिक आघात पुगेको छ।
क्यानेडेली समाजसेवी स्टिभ मामानले फौजियाको परिवारसँगको पुनर्मिलनको भिडिओ सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल एक्समा भिडिओ पोस्ट गर्दै मामानले लेखेका छन्, ‘मैले फौजियालाई सिन्जारमा उनकी आमाकहाँ फर्काउने वाचा गरेको थिएँ। उनलाई यो असम्भव लागेको थियो, तर मलाई लागेन। समय मात्र मेरो शत्रु थियो। हाम्रो टोलीले उनलाई परिवारसँग मिलाएको छ।’
इस्लामिक स्टेट समूहले एक समय ८८ हजार वर्ग किलोमिटर क्षेत्रमा शासन गर्थ्यो। जहाँ ८० लाख मानिस बस्थे। सन् २०१४ अगस्टमा उनीहरूले याजिदी अल्पसंख्यक समुदायको गृहभूमि उत्तर-पश्चिमी इराकको सिंजारमा आक्रमण गरेका थिए।
आईएस समूहले याजिदी बस्तीहरूमा घेराबन्दी गर्यो। १४ वर्षमाथिका पुरुषलाई महिला तथा बालिकाबाट अलग गरियो। पुरुष जतिलाई मारेको थियो भने महिलालाई युद्धको सम्पत्ति मानेर अपहरण गरेको थियो।
उनीहरूको कब्जाबाट उम्केका केही याजिदी महिला र किशोरीका अनुसार उनीहरूलाई खुलमखुला बेचिएको या आईएस लडाकूलाई यौनदासीका रूपमा उपहार दिइएको थियो।
आईएसले तीन हजारभन्दा बढी याजिदीको हत्या गरेको थियो। त्यस्तै, ६ हजार जनालाई बन्दी बनाएको थियो। संयुक्त राष्ट्रसंघले यसलाई नरसंहार, मानवता विरोधी अपराध र युद्ध अपराध भनेको छ।
इराकी अधिकारीहरूका अनुसार हालसम्म तीन हजार ५०० भन्दा बढी याजिदीलाई उद्धार गरिएको छ। अझै पनि दुई हजार ६०० जना बेपत्ता छन्। (बीबीसीबाट)