जगदम्बा-श्री र मदन पुरस्कार अर्पण
मदन पुरस्कार गुठीले २०८० सालको जगदम्बा-श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ।
पाटनमा बुधबार आयोजित विशेष समारोहमा भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार अर्पण गरिएको हो। स्रष्टाद्वयलाई गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मानपत्र र पुरस्कार राशि अर्पण गरेका छन्। दुवै पुरस्कारको राशि समान चार लाख रुपैयाँ छ।
प्रा.डा. यादवले भाषाविज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जगदम्बा-श्री सम्मान अर्पण गरिएको हो। उनी लामो समयदेखि भाषाविज्ञानका क्षेत्रमा अध्ययन-अनुसन्धानरत छन्। उनले थुप्रै भाषाको संरक्षण र प्रयोगमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
त्यस्तै, लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन्। उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन्। मैनालीका यसअघि मान्ठा डराएको जुग, उपल्लो थलो, देखेको देश र आकाशमुखी पुस्तक प्रकाशित छन्।
२०८० सालमा प्रकाशित ३०४ वटा कृति पुरस्कारका लागि मनोनयनमा परेका थिए। तीमध्ये मैनालीको मुकाम रणमैदानले मदन पुरस्कार प्राप्त गरेको हो।
पुरस्कार अर्पण समारोहमा बोल्दै जगदम्बा-श्री सम्मान प्राप्त प्रा.डा. यादवले लोप हुँदै गएका भाषालाई जोगाउन शिक्षणमा जोड दिए। “संकटग्रस्त भाषाको संरक्षणका लागि ती भाषालाई शिक्षामा प्रयोग गर्न अनिवार्य देखिन्छ। शिक्षा नै प्रयोगको सरल र सशक्त माध्यम हुन जान्छ,” उनले भने।
अहिलेको समयमा कक्षा ३ सम्म मातृभाषा, कक्षा ४ देखि ८ सम्म नेपाली भाषा र कक्षा ९ देखि १२ सम्म अंंग्रेजी भाषामा पठनपाठन आवश्यक भएको यादवले बताए। संकटग्रस्त भाषाको संरक्षण र संवर्द्धनका लागि भाषिक समुदाय नै लाग्नुपर्ने उनको जोड थियो।
त्यस्तै, लेखक मैनालीले नेपाल-अंग्रेज युद्धबारे गाउँघरमा लाहुरेबाट सुनेका कथालाई नै पुनर्कथन गरेको बताए। “नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्याइरहेको २१० वर्ष जति अघिको त्यस लडाइँबारे सिपाहीहरूले त्यति वेलै हालेका सत्य कथालाई पुनर्कथन गरेको छु,” उनले भने।
समारोहमा प्रा.डा. कटक मल्लले विद्वद् प्रवचन दिएका थिए। उनले पृथ्वीको वातावरणीय सीमाहरूको सन्तुलन, अमेरिका र रूस हतियार नियन्त्रण सन्धिको अन्त्य, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अक्षमता जस्ता विषयमा केन्द्रित भएर बोलेका थिए। यससँगै उनले परम्परागत सैन्य सुरक्षासँगै जैविक, जलवायु र वातावरणीय सुरक्षाको आवश्यकताबारे औंल्याएका थिए।
नेपालले सामूहिक वातावरणीय सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव लग्नुपर्नेमा प्रा.डा. मल्लले जोड दिए। संयुक्त राष्ट्रसंघको महासभाका सदस्यले स्टकहोम सिद्धान्त २६ अनुसार ‘सामूहिक वातावरणीय सुरक्षा’ सहित मानव अधिकार घोषणापत्रको धारा २८ अनुसार प्रत्येक व्यक्तिलाई सामाजिक र अन्तर्राष्ट्रिय शान्तिपूर्ण व्यवस्थाको स्थापनालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्छ,” उनले भने, “नेपालले चाहेमा ‘सामूहिक वातावरणीय सुरक्षा’ का लागि महासभामा प्रस्ताव पहल गर्न सक्छ।”
वातावरण संरक्षणमा नेपालले गरिरहेका प्रयासको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय कानून कार्यान्वयनमा पनि जोड दिए। प्रा.डा. मल्लले भने, “अन्तर्राष्ट्रिय वातावरणीय कानूनको कार्यान्वयनमा धेरै हदसम्म राष्ट्रिय कानूनी प्रणाली र कार्यान्वयनमा पनि निर्भर गर्दछ भन्ने कुरा पनि हामीले भुल्नु हुँदैन।”
यसअघि २०७९ सालको जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई अर्पण गरिएको थियो।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको थियो। यो सम्मान पहिलो पटक नारायण गोपाललाई अर्पण गरिएको थियो।