कस्तो ठाउँमा हुनुपर्छ स्कूल?
बाढीले काठमाडौं उपत्यकाका धेरैजसो विद्यालय डुबानमा परेपछि विद्यालय र विद्यार्थीको सुरक्षाबारे ध्यान दिनुपर्ने देखिएको शिक्षाविद् बताउँछन्।
दुईदिने झरीपछि आएको बाढीले काठमाडौं उपत्यकाका नदी किनारका बस्ती डुबानमा परे। अधिकांश घरका भुइँतलामा भल पस्यो। उपत्यकाका तीनै जिल्लामा ४८ जनाको ज्यान गयो भने भौतिक संरचनामा पनि क्षति पुग्यो।
बाढीले स्कूलमा पनि ठूलो क्षति पुगेको छ। त्यसपछि कतिपय स्कूल बन्द गरिएका छन्। केही स्कूलका भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्।
नागार्जुन नगरपालिकाका दुई विद्यालय भवन बाढीपहिरोले पूर्ण रूपमा क्षतिग्रस्त छन्। भीमढुंगाको बालबोध मावि र इचंगुनारायण आधारभूत विद्यालय पहिरोले पुरिएका छन्। नगरपालिका र सेनाको संयुक्त टोलीले पहिरो पन्छाइरहेको नार्गाजुन नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति श्रीकृष्ण रेग्मी बताउँछन्।
त्यस्तै, नागार्जुन नगरपालिकाकै हलचोक मावि परिसरमा पहिरो गएको छ। पहिरोमा परेर इचंगु माविका एक विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
शिक्षा शाखा स्रोतव्यक्ति रेग्मीका अनुसार बाफल, सानो भर्याङ, ठूलो भर्याङ, गैरीगाउँ लगायत ठाउँका विद्यालय धेरै प्रभावित छन्। धेरैजसो विद्यालय कोठामा पानी पसेको छ। नागार्जुन नगरपालिकामा १९ सामुदायिक र ६५ संस्थागत विद्यालय छन्।
यस्तै, ललितपुरको हात्तीवनका लिटिल एन्जल र आईजे पायनियर स्कूलमा क्षति पुगेको छ। बाढीले क्षति पुगेपछि विद्यालयमा पठनपाठन हुन नसकेको ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत धनबहादुर विश्वकर्मा बताउँछन्।
धापाखेलको जेम्स स्कूल, नख्खुको लिभिङ स्टोन एकेडेमी र ग्रेस एकेडेमी पनि डुबानमा परेका थिए। यस्तै, बालकुमारी आधारभूत विद्यालय, मंगलबजारको आदर्श कन्या निकेतन विद्यालय पनि डुबानमा परे। डुबानसँगै पहिरो र हावाहुरीले पनि विद्यालयको छानो उडाएको शिक्षा अधिकृत विश्वकर्मा बताउँछन्।
उनका अनुसार महानगर क्षेत्रका धेरै विद्यालयमा क्षति पुगेको छ। ललितपुर महानगरभित्र सामुदायिक विद्यालय ४० र संस्थागत विद्यालय २६२ छन्।
काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालयमा पनि दुईदिने झरीले क्षति पुगेको छ। त्रिपुरेश्वरको विश्व निकेतन मावि, कुलेश्वरको कुलेश्वर मावि, कलंकीको जनपथ मावि लगायत विद्यालयको कोठाभित्र पानी पसेको छ।
काठमाडौं महानगरका शिक्षा शाखा अधिकृत इन्द्रप्रसाद अधिकारी वर्षाका कारण धेरै क्षति नभए पनि डुबानमा परेका विद्यालय सफाइ गरिएको बताउँछन्। काठमाडौं महानगरभित्र रहेका ८७ सामुदायिक र ६०० संस्थागतमध्ये दक्षिणी क्षेत्रका केही विद्यालय डुबानमा परेका हुन्।
यसले देशको राजधानीमै पनि विद्यालय सुरक्षित नभएको देखाएको विज्ञहरू बताउँछन्। बालबालिकाको सुरक्षाको विषय पनि जोडिएकाले विद्यालय सुरक्षित ठाउँमा हुनुपर्ने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन्। “कुन ठाउँमा के बनाउने भन्ने योजना हुनुपर्छ, त्यही अनुसार भौतिक संरचना निर्माण गर्नुपर्ने हो,” कोइराला भन्छन्, “लिटिल एन्जल गहिरो खाल्डोमा बनाइएको छ, त्यहाँ नडुबे कहाँ डुब्छ त?”
शैक्षिक संस्था कस्तो ठाउँमा बनाउने भन्ने उत्कृष्ट उदाहरण त्रिभुवन विश्वविद्यालय भएको उनी बताउँछन्। उनका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिविका लागि कीर्तिपुर सुरक्षित ठाउँ छनोट गरेका थिए। “कीर्तिपुरमा त्रिवि कहिले डुबेको देख्नुभएको छ?” कोइराला भन्छन्, “महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिविका लागि कीर्तिपुर र शिक्षा कार्यालयका लागि सानोठिमीमा भवन बनाउन जग्गा छान्नुभएको थियो, यी भवन कहिल्यै डुबानमा पर्दैनन्।”
अन्य शैक्षिक संस्था विशेष गरी स्कूल पनि सुरक्षित ठाउँमा बनाउनुपर्ने विज्ञहरूको भनाइ छ। सरकारले पनि अनुमति दिंदा कस्तो ठाउँमा के बनाउने भन्ने सोचविचार गर्नुपर्ने उनीहरूको भनाइ छ।
बालविकास विज्ञ एवं शिक्षाविद् डा. मीनाक्षी दाहाल अहिले काठमाडौंका स्कूलको अवस्था हेर्दा बालबालिकाको सुरक्षा र संवेदनशीलतालाई ध्यान दिएको नदेखिएको बताउँछिन्। “सामान्यतया बालबालिकाका लागि भवन, बाटोघाटो समेत सुरक्षित हुनुपर्छ, विद्यालय त अझ सुरक्षित हुनुपर्छ। विद्यालय बनाउँदा दूरदृष्टि राखेको देखिएन,” डा. दाहाल भन्छिन्, “खोलाको छेउछाउका पूर्वाधार सधैं जोखिममा हुन्छन। विद्यालय त खोला छेउमा बनाउनै हुँदैन।”
काठमाडौं मात्र होइन, देशका अन्य भागमा पनि सुरक्षित ठाउँमा विद्यालय बनाउनुपर्ने उनको भनाइ छ। तर अहिले झन् असुरक्षित ठाउँमा विद्यालय बनिरहेको उनी बताउँछिन्। “उब्जनी नहुने, अप्ठ्यारो, भिरालो, पहिरो जाने ठाउँको जग्गा विद्यालयका लागि दान दिने गरिन्छ,” उनी प्रश्न गर्छिन्, “त्यहाँ कसरी विद्यार्थी सुरक्षित हुन्छन्?”
विपद्ले क्षति गरेको ठाउँमा बालबालिका डराउने गरेको उनी बताउँछिन्। “बाढीपहिरो गएको ठाउँको विद्यालय जान बालबालिका डराउँछन्। जुन ठाउँमा डर हुन्छ, त्यहाँ सिकाइ क्रियाकलाप गराउन एकदमै गाह्रो हुन्छ,” दाहाल थप्छिन्।
विपद्ले पढाइ र सिकाइसँगै विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर पर्ने उनी बताउँछन्। उनका अनुसार यसको असर पछिसम्म पनि रहन्छ। “सुरक्षित र आनन्दित भएर पढ्न पाए पो मन लाग्छ। अरू कुराको डर भएपछि मानसिक असर पर्छ। यसले पछि एन्जाइटी, ट्रमासम्म पुर्याउँछ,” उनी भन्छिन्।
विद्यालय स्थापना गर्दादेखि नै सुरक्षालाई हेर्नुपर्ने विज्ञहरूको भनाइ छ। यसका लागि इन्जिनीयरिङमा पनि ध्यान दिनुपर्ने उनीहरू बताउँछन्। विद्यालय भवन पूर्वाधार मापदण्डमा खोला, नाला, पहिरो तथा भूक्षय नजाने ठाउँ, मसानघाटमा नबाउने भन्ने उल्लेख भए पनि पालना नभएको उनको भनाइ छ। “पूर्वाधार निर्माणका लागि अनुमति दिंदा होस् या निर्माण गर्दा इन्जिनीयरिङ र सुरक्षित स्थान याद गरिन्न,” डा. दाहाल भन्छिन्।
त्यस्तै, प्रा.डा. कोइराला पनि नेपालको माटो र प्रकृति बुझेर विद्यालय बनाउनुपर्ने बताउँछन्। अहिलेका संरचना प्रकृति अनुकूल नभएको बताउँदै उनी भन्छन्, “यो विपद्ले विद्यार्थीलाई विद्यालय पनि असुरक्षित ठाउँ हो भन्ने परेको छ। विद्यालयमै विद्यार्थी न पढ्न सक्ने न त आश्वस्त हुन सक्ने स्थिति बनेको छ।”
बाढीपहिरो, डुबानबाट सुरक्षित ठाउँमा विद्यालय बनाउनुपर्ने उनको भनाइ छ। यससँगै पानीको निकासलाई ध्यानमा राख्नुपर्ने उनी बताउँछन्।