बार अध्यक्ष विरुद्धको अवहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रारको घोषणा
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन्।
वरिष्ठ अधिवक्ता समेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिशको विषयमा प्रश्न गरेका थिए। असोज ११ गते काठमाडौं जिल्ला अदालत बारले आयोजना गरेको कार्यक्रममा घिमिरेले न्यायाधीश नियुक्ति सिफारिशमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको अभिव्यक्ति दिएका थिए। “तपाईंले हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो,” उनले भनेका थिए, “सक्नुहुन्छ भने थुन्नुहोस्। कानून लगाउनुहोस्।”
त्यसपछि असोज १४ गते सर्वोच्चमा घिमिरे विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको थियो। यसमाथि कात्तिक १ गते पेशी तोकिएको छ।
प्रतिवेदन तयार गर्ने उपरजिस्ट्रार घिमिरेले आफूले दिएको प्रतिवेदन फिर्ता लिने बताएका छन्। ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘अदालत खुला हुँदा आफ्नो भनाइ सहित औपचारिक निवेदन दिनेछु।’
अवहेलना मुद्दा दर्तापछि आफू विचलित भएको उनले उल्लेख गरेका छन्। ‘म हिजोदेखि निदाउन सकेको छैन। जीवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैं यसकै लडाइँ लड्नुभयो,’ उनले थपेका छन्, ‘म कसैको प्यादा बन्न चाहिनँ।’
बार अध्यक्ष घिमिरे विरुद्ध अवहेलना मुद्दा दर्ता भएपछि आलोचना भइरहेको छ। बारले संस्थागत रूपमा मुद्दा लड्ने निर्णय गरिसकेको छ।
पछिल्लो समय अदालतको अपहेलनालाई लिएर भइरहेको उजुरबाजुरका विषयमा हिमालखबरले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
यो पनि पढ्नुहोस् : छाँटकाँट बिसेक देखिएन, ‘सर्वोच्च श्रीमानज्यूहरू’!