फराकिलो सडक बनाउँदा पहिरोको जोखिम
सडक फराकिलो पार्ने नाममा बाढीपहिरोको जोखिमलाई ख्याल नगरी जथाभावी भीर–ढिस्को खन्दा यात्रा थप असुरक्षित बन्न पुगेको छ।
गत असोज १२ मा नागढुंगा चेकपोस्ट नजीकै आइपुगेका तीन वटा बस झ्याप्ले खोलामा पुरिंदा ३५ जनाको ज्यान गयो। बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ को माइक्रोबस, चितवनबाट आउँदै गरेको बा३ज १३४५ को माइक्रोबस र गोरखाबाट आउँदै गरेको ना४ख २२७० नम्बरको बस झ्याप्ले खोलामा पुरिएका थिए।
असोज १० देखि १२ मा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले देशभरि २२६ जनाको ज्यान गइसकेको छ। गृह मन्त्रालयका अनुसार असोज १५ गतेसम्म २५ जना बेपत्ता छन् भने घाइतेको संख्या १५९ पुगेको छ।
उपत्यका जोड्ने काठमाडौं-चितवन सडकखण्डमा केही समयअघि चितवनको सिमलतालमा भेलबाढीले दुई बस बगाएको थियो। सिमलतालको दुर्घटना सम्झाउने गरी फेरि सोही सडकखण्डको काठमाडौं-धादिङको सिमानामा रहेको झ्याप्ले खोलाको पहिरोमा तीन बस पुरिएका हुन्।
बाह्रै महीना मर्मतसम्भार भइरहेको यो मार्ग किन मृत्युमार्ग जस्तो बनेको छ त? “किनकी यहाँ सडक फराकिलो बनाउने राजनीतिक प्रतिस्पर्धा चलेको छ, तर त्यसको व्यवस्थापन गरिएको छैन,” यातायातविद् कमल पाण्डे भन्छन्। उनका अनुसार सडक फराकिलो बनाउन लगानी गर्ने तर पहिरो नियन्त्रणमा ध्यान नदिंदा यस्तो भएको हो।
सडक विस्तारगर्ने नाममा जताततै भीर काटेर छोडिएको छ। सडक चौडा गर्दा हुने जोखिममा ध्यान दिएको देखिंदैन।
त्यसमाथि कच्ची सडक खनेर जताततै छाडिएकाले पहिरोको जोखिम बढेको पाण्डेको विश्लेषण छ। सडक चौडा बनाउँदा कहाँ पहिरो जान सक्छ, त्यस अनुसारको व्यवस्थापन गरिनुपर्ने उनको भनाइ छ। ठूलो पानी पर्दा ढलको सुधार नभएको उनको आरोप छ। भल जाने मार्ग बन्दा कम क्षति हुन्छ।
भूगर्भविद् श्रीकमल द्विवेदी सन् २००२ मा झ्याप्ले खोलामा नै दुर्घटनामा परेर सात जनाको ज्यान गएको स्मरण गर्दै सडक विभागले भौगर्भिक जोखिम नहेरी बाटो विस्तारका नाममा जताततै खनेको आरोप लगाउँछन्। “सानो ठाउँ छ, भीर खनेर बाटो चौडा बनाइएको छ, त्यस्तो ठाउँमा पहिरो जाने सम्भावना बढी नै हुन्छ,” उनी भन्छन्।
झ्याप्ले खोलामा माथि रहेको गेग्रान पानीले खुकुलो भएको र भेलबाढीले बसलाई पुरेको द्विवेदी बताउँछन्। गेग्रान बहाव तीव्र गतिमा हुँदा धेरै नोक्सानी हुन्छ। सरकारले बाटो बनाउन जति पनि लगानी गर्ने तर त्यसको अन्य वातावणीय जोखिमलाई बेवास्ता गर्ने आरोप लाग्दै आएको छ। केही महीनाअघिको सिमलतालको भेलबाढीबाट पनि कुनै पाठ नसिकेको द्विवेदीको टिप्पणी छ।
अर्का यातायातविद् आशिष गजुरेल सडक निर्माणका वेला त्यसको भौगर्भिक अध्ययन नभएको वा भए पनि पहिचान नगरेको बताउँछन्। उनका अनुसार सडकको भित्तामा पर्खाल नहुँदा माटो खुकुलो भएर बसेको हुन्छ र पानी पर्दा लेदोमा परिणत हुन्छ। जसले गर्दा पहिरो जाने उनी बताउँछन्। उनी भन्छन्, “चौडा सडकले जाम कम हुने पनि होइन।”
याे पनि पढ्नुहोस् : समाधान हुँदै हाेइन फराकिलो सडक