इरेजर (कथा)
कहाँ आफू देश बनाउने कुरा सोच्दै गरेको मान्छे, कहाँको यो घटिया गाली! शरम र घिनले मैले भुइँतिर हेरें। त्यस्तो शब्द बोलेकामा उनले कत्ति पनि अप्ठ्यारो मानिनन्।
“बडी,
बडीऽऽऽ
दोकानमा आउनू न!”
घरमा अरू कोही नभएको थाहा पाए झैं आवाज सीधै मेरो कोठामा आएर ठोक्किन्छ। तर यो आवाजले सम्बोधन गरेको व्यक्ति म हैन। कहाँ २८ वर्षे ठिटो म, कहाँ बूढी स्वास्नीमान्छेलाई लगाइने साइनो!
आवाजले बोलाएको मान्छे मेरी आमा हुन्। किराना दोकानकी हर्ताकर्ता। मलाई बोलाएको भए पो जानु म!
बोलावटलाई बेवास्ता गरेर म फेरि मोबाइल फोनमै घोरिन्छु। मोबाइलमा महत्त्वपूर्ण विषयमा गम्भीर बहस सुनिरहेछु। संसारमा कति धेरै विद्वान् छन्, सुन्नु र जान्नुपर्ने कति थोक छन्। यी मामूली मान्छेहरूको माझमा यस्ता ज्ञानगुनका कुरा कहाँ सिक्न पाउनु! भर्खरै बिथोलिएका केही सेकेन्डको औधी माया लागेर आयो।
“बडीऽऽऽ”
उफ्! फेरि उही बिथोल्ने आवाज।
के के नै बिते जस्तो के साह्रो हतार! घर गएर तिनै थाङ्ने काम त गर्ने हुन् यिनले। समाज, देश र विश्वका बारेमा यिनलाई केही चासै छैन। दुई छाक भुँडीमा हुल्न पाए पुग्यो!
खासमा म यसरी घरमा बस्नै नहुने थियो। कम्तीमा डेरामा बसेको भए विचार मिल्ने साथीभाइको संगत हुन्थ्यो। देश, विदेश, राजनीति, दर्शन, विज्ञान, साहित्य जस्ता अनेक विषयमा गफ चल्थ्यो। गाउँमा आफ्नो उमेरका एउटै साथी छैनन्। कि विदेशमा छन्, कि त शहरमा। गाउँका यी अनपढ, गँवार मान्छेहरूसँग बसिरहँदा आफू पनि त्यस्तै भइएला भन्ने डर छ।
यी गँवारले एकछिन गुदी कुरा सुन्न र चिन्तनमा घोत्लिन समेत नदिने भए! खासमा घरमा यो दोकान राख्नु जरूरी नै थिएन। मजाले खान पुग्ने खेत छँदै छ। गोठमा दुई माउ गाई र खोरमा गोडा तिनेक बाख्रा कहिल्यै टुट्दैनन्। त्यसमाथि बुबाको जागीर पनि छ। अनि दाजुले घर खर्च भनेर विदेशबाट दुई–चार पैसा पठाइदिएकै छ। यतिले पनि नपुगेर दोकान थाप्नुपरेको बूढीमाउलाई! केही भन्नै हुँदैन कुर्लिहाल्छिन्, “तिमेरलाई लेखपढ गराउनै यति दुःख गर्नुपरेको।”
पढाइ सकिइसक्यो, अब मेरा लागि दुःख गर्नु पर्दैन भनेर कति भन्नुु! उल्टै बेइज्जती सुन्नुपर्छ, “खै त, यत्रो पढेर के नापिस्?”
जागीर नपाउँदा यस्तो बेइज्जती दालभातसरि नियमित भागमा आइलाग्छ। पढेलेखेको मान्छे अरू जे जे बनोस्, बेरोजगार चाहिं नबनोस्।
“बडीऽऽ, को हुनुन्छ हौ घरमा?”
हेर चिच्याउन सकेका बेसोमतीहरू! मान्छे घरभित्र कता हुन्छ, के काममा हुन्छ, उठेर आउन पनि एकछिन समय लाग्छ भनेर यिनका दिमागमा कहिले घुस्ने? हुन त आफ्नै आमा उस्ती छिन् अरूलाई के भन्नु! आफू कतै निस्किँदा दोकान त बन्द गरेर जानुपर्छ नि।
दोकानमा पनि गतिला खालका मान्छे आउने हैनन्। अहिले बोलाएपछि दुःख गरेर पसलमा गयो, पाँच रुपैयाँको सामान किन्न बेर छैन। अझ केटाकेटी त चाउचाउको एक रुपैयाँको कुपन लिएर चकलेट माग्न पो आइपुग्छन्।
‘क्लबहाउस’ मा ‘आजका युवा र देशको भविष्य’ विषयमा कति गजब छलफल भइरहेको थियो। कोरोना महामारीका कारण लकडाउन शुरू भएपछि ‘क्लबहाउस’, ‘स्पेस’ जस्ता अडिओ सञ्जालमा ज्ञानगुनका कुरा सिक्दै दिन काट्न सजिलो भएको छ। संसारभरिका मान्छेको विचार मन्थन गर्ने थलो तिनै बनेका छन्। आमाले पकाएको खानेकुरा फेसबूकमा हाल्ने, फिल्म हेर्ने, लुडो खेल्ने कामपछि अहिले मेरो पूरै समय यसैमा बितिरहेको छ।
मोबाइलमा बहस सुन्दै दोकान जाँदा नहुने त होइन, तर गाउँका मान्छेको अनावश्यक पतरपतर बोल्ने स्वभावका कारण मोबाइलमा एकाग्र हुनै पाइन्न। त्यसैले पनि कोठा बाहिर निस्किनुपर्ने कुरामा मलाई झोक चलेको थियो।
निकैपल्ट बोलाएपछि बहसमा ध्यान दिनै सकिनँ। आइलागेको झ्याउलो नपन्छाई धर नपाइने भयो। कोठाबाट निस्किएँ।
“एऽ भित्रै हुनुँदो रैछ त। यत्रो बोलाएँ सुन्नुभएन?”
“अहँ सुनिनँ। मोबाइल चलाउँदै थिएँ।”
पन्ध्र वर्षमा बिहे गरेर बीस वर्षमा तीन छोराकी आमा भएकी अनपढ आइमाईलाई ‘क्लबहाउस’ भनेको कुन चराको नाम थियो। त्यसैले त्यसको नाम लिइनँ।
तीनमध्ये दुई छोरा लिएर आइछिन् पसलमा। उनले कम्मरमा झारुँला झारुँला झैं गरेर बोकेको सिंगाने केटामा आँखा पुग्यो। घिनले मरिगएँ! छोराछोरीलाई राम्रा लुगा लगाइदिन नसके पनि सफासुग्घर राख्न त पैसा चाहिंदैन नि गाँठे! काठमाडौं जस्तो पानी किन्नु पर्दैन नि यो मधेशमा।
अर्को बच्चाको हालत उस्तै थियो। भाइ नजन्मेको भए आमाको कम्मरमा टाँसिने उमेर थियो उसको। उसले लगाएको भेस्ट वास्तविक रङ थाहा नलाग्ने गरी मैलिएको थियो। कपाल कैलो नै हो कि मैलोले काई लागेको! निर्दोष हाँसो छोडिदिने हो भने दुवै बालकको हुलिया हेरिनसक्नुको थियो।
हेर त बर्सेनिका छाउरा! तर गरीबका छोराछोरी छिटै हुर्किहाल्छन्। कुद्ने वेलाका भएपछि त यिनले तरुनी खोज्न थालिहाल्छन्। अबको पन्ध्र वर्ष जतिमा त बाउ बन्न बेर लाउँदैनन्। यी भुराका आमाकै कुरा गरौं न। मभन्दा आठ–दश वर्ष कान्छी छिन्, तर तीन छोराकी आमा भइसकिन्।
“अनि माइलो छोरो चैं खै त?” सोधिदिन्छु।
“घरमै सुतिराको छ,” ठूलो छोरालाई घचेट्दै भनिन्, “यो हैजालाई पनि नआइज भनेको टेर्दैन।”
‘क्लबहाउस’ छुटिसक्यो भन्ने पिरलोले हतारिएर सोधें, “के चाहियो, भनिहाल्नु त?”
“बीसको मेघाश्री (गुट्का) अनि दुई पाकेट खैनी दिनु न।”
उनको ठूलो छोरो मन्द आवाजमा आमासँग गनगन गरिरहेको थियो। उनले रूखो स्वरमा ‘चूप!’ भनेर थर्काइन्। छोरो चूप भएन। बरु रुन थाल्यो, “मधु खाने हुँ... हुँ...।”
आमाको सुरुवालमा झुन्डिन थाल्यो। रुवाइ झनै उग्र भयो।
उनको धैर्य गुम्यो। छोरालाई मुख छोडिन्, “तेरो बाउको के... खा न बरु!”
कहाँ आफू देश बनाउने कुरा सोच्दै गरेको मान्छे, कहाँको यो घटिया गाली! शरम र घिनले मैले भुइँतिर हेरें। त्यस्तो शब्द बोलेकामा उनले कत्ति पनि अप्ठ्यारो मानिनन्। घरमै हिसाब गरेर ल्याएको पैसा मेरो हातमा थमाइन्। छोरोलाई ‘आइज’ भनेर सुइँसुइँ बाटो लागिन्।
छोरो आँगनमा लडिबुडी गर्न थाल्यो।
गेटमा पुगेकी मान्छे सुर्रिंदै आएर छोरालाई फिलामा दुई लबटा हिर्काइन्। केटाले घुँक्कघुँक्क गर्दै भन्यो, “आफूलाई खैनी खान चि पैसा हुने, मलाई मधु किन्न चि नहुने!”
फेरि मान्छे नआऊन् भनेर म दोकान बन्द गरेर आँगनमै थिएँ। केटाले त्यसो भन्दा उसकी आमा र मेरा आँखा जुधे। उनले थोरै अप्ठेरो मान्दै भनिन्, “एउटा मधु दिनु न ल। पैसा भरे ल्याइदिन्छु।”
आमाले सुनाइसक्नुभएको थियो, त्यसरी ‘भरे दिन्छु’ भनेर राखेको बाँकी हिसाब नतिरेकाले उनको खातामा उधारो निकै चढिसकेको छ रे। उनले पहिलेको बाँकी बिर्सिन् कि यसै टारिन्, उनै जानून्।
मलाई दोकानमा कुनै रुचि छैन भन्ने जान्दाजान्दै पनि आमाको बानी छ, आज को को आए, कति नगद र कति उधारो बिक्यो, कसले के भन्यो एकोहोरो सुनाइरहने। मलाई उनको उधारोको कुरा उठाएर त्यो बच्चाको स्वाद खोस्न मन लागेन।
सानो सिंगाने केटाले चाहेको कुरा खान पाउने कुराले भन्दा पनि उसले गरेको तर्कले मलाई छोएको थियो। उसकी आमा नहुँदी हो त एउटा बिस्कुट सित्तै दिने थिएँ। दोकान खोलेर केटालाई मधु दिएँ र कोठामा गएर फेरि क्लबहाउसतिर व्यस्त भएँ।
छलफलको अर्को विषय ‘युवा र रोजगारी’ तिर छिरें। छलफल गर्नै पर्ने खास विषय त यो पो हो। डिग्री सकेर पनि घरमै डुकुलन्ठु भएर बस्नुपरेको छ आफूले। बाउआमाको सधैंको कचकच, “तँलाई पढाको पनि बालुवामा पानी!”
कत्ति न मैले मात्रै काम नपाएको जस्तो। गाउँमा अरू पनि त छन् जागीर नभेटेका। यो देशमा भन्ने बित्तिकै जागीर पाइन्छ र! अझ बाउ त ‘गोरु किन्दिन्छु, खेत जोतेर बस्’ पो भन्छन्। उहिले घरमा गोरु हुँदा चाहिं पढ् पढ् भनेर छुनै दिएनन्, अहिले ट्र्याक्टरले जोत्ने जमानमा गोरुले जोत्नु रे। कति हेप्न सकेका मलाई!
“दोकानमा आउनु न!” फेरि कसैले बोलायो।
होइट! दोकान बन्द गर्नै बिर्सेछु।
म यस्तो खुद्रे दोकान रुँगेर बस्ने मान्छे हुँ? लाखौं–करोडौंको हिसाब पढेको जाबो दश–बीस रुपैयाँ गनेर बस्नलाई हो?
फन्किँदै बाहिर निस्किएँ।
बीस–बाइस वर्षकी महिला आँगनबाट घरभित्र पल्याकपुलुक चियाउँदै थिइन्। साथमा थिए, दुई साना बच्ची। ती जम्ल्याहा छोरी जस्ता देखिन्थे।
मैले केही भन्नुअघि नै महिलाले सोधिन्, “कापी पाउँछ?”
म पन्छिन खोजें, “खोइ थाहा छैन। आमालाई सोध्नुपर्छ।”
“काकी काँ जानुभो?”
“घाँस काट्न।”
“निकै बेर लाउनुहुन्छ होला, तपाईंले हेरिदिनु न।”
अर्थोक किन्न आउनेलाई भए हेर्दै नहेरी छैन भनेर पठाउने थिएँ। कापी किन्न आउनेसँग कसरी रूखो हुनु! लेखपढ त आफ्नै साइनो जोडिएको विषय पर्यो।
दोकानमा एक नजर दौडाएँ, साना खाले कपी रहेछन्। उनले पेन्सिल र इरेजर पनि सोधिन्। सबै कुरा थिए, तर मलाई कुनैको पनि मूल्य थाहा थिएन। गाउँको सानो दोकानमा कपी, पेन्सिल जस्ता वस्तु आक्कलझुक्कल मात्रै बिक्छन्। धेरै बिक्ने खैनी, चुरोट, चाउचाउ, बिस्कुटको दाम मात्रै मलाई थाहा थियो।
उनले फेरि अनुरोध गरिन्, “सोधिदिनु न।”
मैले अल्छी गरें, “एकछिन पर्खिनु। आमा आइहाल्नुहुन्छ।”
“उम्... कति काम छ घरमा।”
तिनको काम म गएर सघाइदिऊँ त? वास्तै नगरी म कोठाभित्र छिर्न लागें।
“घाँस काट्न कहाँ जानुभएको हो र?” उनले ठाउँ देखाइमागिन्।
“उः... त्यता,” चोर औंलाको इशाराले मैले खेततिर देखाएँ।
उनी साना छोरीलाई त्यहीं खाटमा बसालेर जान खोजिन्, तर छोरीले मानेनन्। तिनलाई डोर्याउँदै उनी आलीको बाटो खेततिर गइन्।
ती साना छोरीसँग उनलाई खेत पठाएकोमा मलाई कताकता नमीठो लाग्यो। तर म पनि त गम्भीर कुरा सुनिरहेको छु, यस्ता बकमफुसे काममा अलमलिने फुर्सद कहाँ छ र! त्यसमाथि कापी मलाई हैन, उनैलाई चाहिएको हो। मान्छेले आफ्ना लागि आफैं दुःख गर्नुपर्छ। अर्काले एकछिन देखाएको दयाले जीवन कहाँ चल्छ र!
म कोठाभित्र गएर ‘क्लबहाउस’ मा छिरें।
“दोकानमा आउनु न।”
उनी दाम सोधेर आइछन्।
दुइटा कपी, दुइटा पेन्सिल र दुइटा इरेजर मागिन्। यसको मूल्य ठिक्क उनीसँग भएको पैसा जति। तर एउटी छोरी बिस्कुट खाने भनेर झगडा गर्न थाली। मैले आमाको पक्ष लिइदिएँ, “बिस्कुट खायो भने कीराले दाँत खान्छ नि नानी। पढेर ठूलो मान्छे हुनुपर्छ है।”
अर्कीले भनी, “म त धेरै पढ्छु।”
आमा चाहिंले आशा भरिएको नजरले छोरीतिर हेर्दै भनिन्, “अंकल जस्तै धेरै पढ्नुपर्छ है छोरी।”
मलाई कताकता उनले गिज्याएको महसूस भयो। शरमले निहुरिएँ।
बिस्कुट खान मन गर्ने छोरीले मान्दै मानिन। जिद्दी गरिरही।
“यो पैसा त काँबाट सापटी खोजेर ल्याको। तिमेरलाई पढाउन कत्ति दुःख गर्नुपर्छ, कति ठाउँमा दारा ङिच्याउन जानुपर्छ, तिमेरलाई के थाहा! रोइदिए भैगो।” आमाले अबोध छोरीलाई भनेकी हुन् कि मलाई? खुट्याउन सकिनँ।
मलाई भित्र कता कता तीतो भएर आयो। उनले छोरीलाई फकाउने प्रयास गरिन्, “घरमै भुजा छ, चिउरा छ। म चिया पकाएर नानीलाई खुवाउँछु नि है?”
चारवर्षे छोरी, अगाडि बिस्कुट देखिरहेकी छे, कसरी फकियोस्? म आमाको मन र अभावबीचको द्वन्द्वको साक्षी भएको थिएँ।
आमाले एउटा इरेजर फिर्ता दिइन् र त्यसको सट्टा दश रुपैयाँको बिस्कुट मागिन्। उपाय तत्क्षण सुझाइन्, “एउटै इरेजर मिलिमिली चलाओ है, झगडा गर्ने हैन नि खोसाखोस गरेर।”
म अवाक् भएँ।
जम्ल्याहा छोरी एउटा बिस्कुट समात्न झगडा गर्न थाले।
उनले हप्काइन्, “पख, म बराबरी बाँडिदिन्छु।”
प्याकेट खोलिन्। दुवै छोरीलाई तीन–तीन पाप्रा बिस्कुट भाग लगाइदिइन्। “लु हेर, बराबर भयो होइन? यो उब्रेको एउटा म खान्छु है। हस्?”
आमा र दुई छोरी बिस्कुट चपाउँदै गए।
उनले छोरीलाई चेतावनी दिएको सुनियो, “यो पेन्सिल हरायौ भने भोलि टिउसनबाट घर आउनु पर्दैन है!”
कोरोनाका कारण लकडाउन भएकाले स्कूल बन्द थियो। मसिना छोरीलाई दुःख गरेरै भए पनि उनले टिउसन हालिदिएकी थिइन्।
उनीहरू आँखाबाट पर पर हुँदै थिए। उतैतिरबाट घाँसको भारी बोकेर आमा आउँदै हुनुहुन्थ्यो।
पहाडलाई छिनमै कुहिराले ढाके जस्तो मेरा आँखा धमिला भए। कपी, पेन्सिल बोकेर हिंडेका साना नानीहरू र आफूभन्दा अग्लो घाँसको भारी बोकेर आइरहेकी आमाको चित्रले आँखा बिझाइरह्यो।
अब मलाई ‘स्पेस’ मा होइन, ती साना नानीको उमेरमा फर्कनु थियोे। भर्खर फिर्ता भएको इरेजरले आजसम्म पाएको शिक्षा मेटेर फेरि नयाँ धर्को कोर्न शुरू गर्नु थियो।
पडकास्ट सुन्नुहोस्:
हिमाल दशैं साहित्यका थप सामग्री: