मणिमुकुन्द सेनको कोट
बलि दिइने नेपाली मठमन्दिर धेरै छन्। तर मन्दिरकै चोकभित्र दिगमिग लाग्ने रगतका टाटा र पत्र मैले गोरखाको मनकामना, तनहुँको छिम्केश्वरी, साँखुको बज्रयोगिनी, फर्पिङको दक्षिणकाली, बाराको गढीमाई, पर्साको माईस्थान कतै पनि देखेको थिइनँ।
माघको एक बिहान। झिसमिसे अँध्यारोमै हामी तानसेनबाट मूल सडकैसडक लम्कियौं। तीन जना छौं यात्रामा। अँध्यारो बाटोमा गफगाफले ऊर्जाको काम गरेको थियो।
धारापानी पुगेपछि धर्तीमा उज्यालो पोखिन थाल्यो। हाम्रो हिंडाइ सजिलो र अझ मनोरञ्जक हुँदै थियो।
सेनवंशका राजा मणिमुकुन्दको राजधानी मानिएको हार्थोकको भैरवथान र पूर्णकोट पुग्ने लक्ष्यमा हामी लम्किरहेका थियौं। हामीलाई त्यसरी कस्सिंदै हिंडेको देखेर सडकको पल्लो किनारमा उभिएका एक व्यक्तिले सोधिहाले, “ओहो! सरहरू कता हो?”
यो प्रश्नको जवाफ सहयात्री मित्र ईश्वरीजीले दिनुभयो। मतिर देखाएर भन्नुभयो, “उहाँ हाम्रो नयाँ मेनेजर साहेब...।”
सुन्नासाथ के के नै बिराए झैं मतिर दृष्टि केन्द्रित गर्दै उनले भने, “ओहो! नमस्कार हजुर, म होमलाल।”
(तिन ताक म राष्ट्रिय वाणिज्य ब्यांकको पाल्पा शाखा कार्यालयको प्रबन्धक पद सम्हाल्न भर्खर पाल्पा पुगेको थिएँ।)
यसपछि हामीबीच परिचय आदानप्रदान सहितको गफ चल्यो। होमलालजी त्यस क्षेत्रका राम्रै गनिने किसान रहेछन् भन्ने बुझियो। कुराकानीपछि उनले हामीलाई सडकको साँधमै जोडिएको आफ्नो घरभित्र सत्कारपूर्वक लगे। आफ्नो कोठामा कुर्सीमा बसाले। स्वभावत: ब्यांक र कारोबार सम्बन्धी कुराकानी चल्न थाले।
गफकै बीचमा होमलालजीले बडे-बडे ढलोटको गिलासमा मुर्रा भैंसीको तात्तातो दूध हातहातमा थमाए। गिलास समाउँदै गर्दा ठट्टा गर्न मेरो घाँटी खसखसायो। भनिहालें, “ऋणको आशले घूस बापत पिलाउनुभएको त हैन नि?”
मेरो यस्तो ठट्टामिश्रित प्रश्न सुनेर सहयात्री मित्रहरूको हाँसो फुत्किन खोज्दा भर्खर सुरुप्प पारेको दूध झन्डै सर्केको!
होमलालजी पनि हाँसे, “कहाँ त्यस्तो हुनु। सर पनि!”
“ठट्टा गरेको है, नरिसाउनुस्।”
“बुझें सर, पिऔं।”
यसपछि तातो दूध फुक्दै पिउन थालें।
होमलालजीको न्यानो आतिथ्यबाट बिदा भएर हामी भैरवथानको गन्तव्यतर्फ लम्कियौं।
सडकको दायाँ पाखोको टाकुरोमा बनेको छ, भैरवथान। भैरवथान राजा मणिमुकुन्द सेनले स्थापना गरेका थिए भनिन्छ। यसलाई मान्ने हो भने उनले आफ्नो दरबारका लागि रोजेको पूर्णकोट झैं भैरवथानका लागि पनि त्यस्तै टाकुरो नै रोजेछन् भन्न सकिन्छ।
राजा मणिमुकुन्द बिहान उठ्ने बित्तिकै दरबार परिसरमा उभिएर भैरवथानतर्फ फर्केर हात जोड्दै भैरवको ध्यान गर्थे रे। यसैका लागि उनले दरबारदेखि पश्चिमको अग्लो टाकुरामा भैरवथान निर्माण गराएका थिए। उनको मनसाय बिहान उठ्ने बित्तिकै आफ्नो झ्याल वा आँगनबाट पहिलो दृष्टि भैरवतिर नै परोस् भन्ने हुनुपर्छ। सत्य झैं लाग्ने यो कुरो हामीलाई भैरवथानमा भेटिएका एक गफीले सुनाएका थिए। ती गफीलाई यो कुरो अर्को कुनै पाको गफीले सुनाएको रहेछ। गफको त्यो यात्रा त्यस बिहान हाम्रो कानसम्म आइपुग्यो। यसबाट गफको रफ्तार कति परसम्म हुन्छ र कसरी फैलिन्छ भन्ने आकलन गर्न सकिन्छ।
यात्रामा यस्ता रसिलो गफी भेट्दा रमाइलो हुन्छ। वास्तवमा यस्ता गफभित्र इतिहासको सत्यतथ्य दबेको हुन्छ। झूट कुरा तथ्य भनेर चलिरहेको हुन्छ। वस्तुत: तिनै झूटमा ठालुहरू विवाद गर्छन् र इतिहास अधमरो भइरहन्छ।
सडकबाट ढुंगे भर्याङको डेढ-दुई सय खुट्किला उक्लिएपछि भैरवथान मन्दिरको परिसर पुगिन्छ। हामी मन्दिर परिसरबाट माथि कौसीमा उक्लियौं। त्यहाँबाट पहाड, खोंच, देउराली र गाउँबस्तीको मोहक दृश्य हेर्न पाइयो। सुदूर उत्तरका हिमशृंखला, त्यस वरका अग्ला पहाडतिर हामीले मुग्ध दृष्टि लगाइरह्यौं।
सहयात्री मित्र नेत्रजीले एक अग्लो पहाडतर्फ औंल्याउँदै भने, “त्यो चुच्चे पहाड रेसुंगा हो सर। त्यहाँ वन छ। त्यसलाई रेसुंगाको लेक पनि भन्छन्, यतातिरको सबभन्दा अग्लो पहाड त्यही हो। त्यहाँबाट यतातिर दूरबिनले हेर्ने हो भने यो भैरवथान, तानसेनको श्रीनगर, कैलाशनगर देखिन्छ। त्यहीं मुन्तिर पर्छ गुल्मीको सदरमुकाम तम्घास।”
खुला आकाशमुनि सुन्दर पहाडहरू र तिनलाई चियाइरहेको झैं लाग्ने पर परका हिमचुचुराको मोहक दृश्यपान गर्दै हामीले भैरवथानको कौसीमा निकै बेर बितायौं- लगभग पौने घन्टा।
त्यसपछि तल अर्को कोठामा लुकाएर राखिएको भैरवको प्रतिमूर्ति सामुन्ने पुग्यौं।
“तपाईंको नाम के?” मेरो निधारतिर रातो अक्षता लगाइदिन हात लम्काइरहेका झुसे दाह्री भएका ख्याउटे पूजारीलाई सोधें।
“योगनाथ योगी हजुर।”
“ध्यान योगी कि काम योगी?”
उनले हाँस्दै भने, “जातको योगी।”
“ए! कति वर्षदेखि यहाँ हुनुहुन्छ?”
“तीन वर्ष भयो, दाङबाट आएको हुँ।”
“कति वर्षको हुनुभयो?”
“उन्चालीसको भएँ क्यारे।”
“ब्रह्मचारी हुनुहुन्छ कि?”
योगीजी अलमलिए। मैले फेरि ठट्टाको स्वरमा सोधें, “देउताको थानमा बसेर झूट बोल्न हुन्न भनेर चूप लागेको हो कि?”
तर योगीले किच्च दाँत मात्र देखाए।
हामी अर्का भैरव, बटुक-भैरव राखिएको सँगैको कोठातिर ओर्लियौं।
मन्दिरको भित्री चोकमा तेली इँटा वा इँटा के ओछ्याइएको हो, थाहा पाइएन। बलि दिइएका बोकाहरूको कटकटिएको रगतले तिनको स्वरूप छपक्क ढाकेको थियो। त्यसको चारैतिर सुकेका रगतका पाप्रैपाप्रा छरिएका थिए। अत्यन्त घिनलाग्दा ती पाप्रातिर मैले उदेकलाग्दो गरी हेरेको देखेर नजीकैको केटाले मलाई सुनायो, “वेलावेला यहाँ रगतको रह जम्छ।”
त्यस्तै रह सफा नगर्दा त्यहाँ त्यस्ता पाप्रा जम्मा भएका थिए। जसले वरिपरिको परिदृश्य कुरूप बनाएको थियो।
बलि दिइने नेपाली मठमन्दिर धेरै छन्। तर मन्दिरकै चोकभित्र दिगमिग लाग्ने रगतका टाटा र पत्र मैले गोरखाको मनकामना, तनहुँको छिम्केश्वरी, साँखुको बज्रयोगिनी, फर्पिङको दक्षिणकाली, बाराको गढीमाई, पर्साको माईस्थान कतै पनि देखेको थिइनँ। पाल्पाको रमणीय टाकुरो भैरवथानमा त्यस्तो विद्रूप फोहोर देख्दा साह्रै नमजा लाग्यो। धर्म कमाउन रगतको यस्तो फोहोर छोड्ने यो संस्कृति विडम्बना नै लाग्यो।
हामी भैरवथानबाट ओर्लेर पूर्णकोट जान सडकैसडक पश्चिमतर्फ सोझियौं। हिंड्दै पुगेको मूल सडकसँगै जोडिएको रहेछ, पूर्णकोट रहेको पाखो। बोटबुट्यान र झारले पाखो भरिएको थियो। त्यसको फेदीदेखि नै खोपेर खुड्किला बनाइएको थियो। तुरुन्तै खुट्टा गलाउने त्यही ठाडो बाटो उक्लिन थाल्यौं।
यस यात्रा गर्नुको मेरो मुख्य उद्देश्य, उत्साह, जाँगर जे भने पनि पूर्णकोटको ऐतिहासिक रहस्य र साक्ष्यलाई नजीकबाट महसूस गर्नु थियो। ६०० वर्ष पुरानो भनिएको पाल्पाका राजा मणिमुकुन्द सेनको दरबारको अवशेष बोकेको पूर्णकोटको ऐतिहासिक थुम्को पुग्ने र त्यसलाई हर तरहले छाम्ने उत्कण्ठाले भरिएको थिएँ। यसैका लागि मैले नेत्रप्रसाद भुसाल र ईश्वरीप्रसाद अर्याललाई सहयात्री बन्न उक्साएको थिएँ।
फेदीबाट खुड्किलो उक्लिन थालेको पाँच-सात मिनेटमा हामी स्वाँस्वाँ गर्दै कोटको टुँडिखेल नाम गरिएको समथर भूमिमा पुग्यौं। त्यहाँ सुस्ताउन अडियौं। टुँडिखेल करीब एक रोपनी क्षेत्रफलको होला। बढारेर सफा पारिएको देखियो। सैनिक ब्यारेक छेउछाउका रूखका फेद र कम्मरमा झैं त्यहाँका वरिपरिका रूखमा रातोमाटो र सेतो कमेरोले लिपेको देखियो। वरिपरिका अरू क्षेत्र पनि स्वच्छ र सफा थियो। संरक्षण गरिएको यो भूमिको तीन-चार पटक परिक्रमा गरेर यसको ऐतिहासिकता महसूस गर्ने, बुझ्ने कोशिश गरें।
यसपछि केही कदम उक्लिएर थुम्कोमा पुग्यौं। थुम्कोको समथर चौहद्दी नक्शाको हिसाबले दुई रोपनी जति होला। यहीं बनेको रहेछ सोह्रौं शताब्दीमा मणिमुकुन्द सेनको दरबार। दरबारको जगका इँटा चारैतिर दबेको अवस्थामा देखिए। उत्खनन गरेपछिको अवस्था रहेछ त्यो।
दरबारको जगको छेउमै ‘६ बाई ६’ को भग्न मन्दिरको अवशेष देखिन्छ। त्यस मन्दिर उत्खनन गर्दा भेटिएको मूर्ति छेवैमा बनाइएको नयाँ मन्दिरमा सारिएको रहेछ। उत्खननबाट निस्किएको मन्दिरलाई पूर्ण स्वरूप नदिएर छेउमा नयाँ मन्दिर बनाइनुमा कुनै पुरातात्त्विक कारण हुनुपर्छ। ती कारण के होलान्? त्यहाँ पुग्ने हरेक यात्रीको मनमा यस्तो प्रश्न उब्जिन सक्छ। हामी पनि यही प्रश्नमा अल्झियौं। हाम्रा प्रश्नको जवाफ दिन त्यहाँ कोही थिएन।
मन्दिरका इँटाहरूले तत्कालीन इतिहास र वास्तुको सम्भावित झलक दिइरहेका थिए। म प्राचीन इतिहासको छेउ र पुरातत्त्वको टुप्पो पनि नजानेको यात्री परें। तथापि ती धरोहर र भूगोललाई ध्यानपूर्वक परिक्रमा गर्दा र हेर्दा के लाग्यो भने, मणिमुकुन्द सेनले आफ्नो दरबारका लागि त्यस टाकुरो रोज्नुमा सामरिक कारण र आत्मरक्षाको उद्देश्य नै निहित थियो।
भैरवथानको कौसीले झैं पूर्णकोटको टाकुरोले पनि चारै दिशाका मनोरम प्राकृतिक दृश्य र टाढा टाढाका गाउँबस्तीको मनोरम दृश्य दर्शन गराउँछ। दरबारको इतिहास छामेपछि माघको पारिलो घाम ताप्दै चारैतिरका दृश्य र बस्तीहरू हेर्दै चिन्ने र चिनाउनेमा निकै बेर बिताइयो।
स्थानीय बोलीमा पुरनकोट भनिने गरिएको पूर्णकोटको ऐतिहासिकता र भूगोल बुझ्ने चाहना र जिज्ञासा थियो। यसैका लागि २०५९ माघको चिसो बिहान त्यो यात्रा जुराइएको थियो। त्यस क्रममा मनोरम भूगोल र इतिहासको साक्षी भइयो र आफ्ना जिज्ञासा शान्त पारियो।
हिमाल दशैं साहित्यका थप सामग्री: