प्रकृतिले ल्याएको बाढी, राज्यले ल्याएको विपद्
असोज दोस्रो साताको वर्षाले ल्याएको बाढी प्राकृतिक भए पनि त्यसमा भएको जनधनको क्षति राज्यको हदैसम्मकाे लापरवाहीको परिणाम हो।
गत साता वर्षापछि आएको बाढीपहिरोका कारण २०० भन्दा बढी मानिसले ज्यान गुमाए। दर्जनौं व्यक्ति अझै बेपत्ता छन्। हजारौं घर बगे। विद्युत्गृहहरूमा क्षति पुग्दा विद्युत् उत्पादनमा नेपालको करीब आधा क्षमता गुम्यो। पुल र राजमार्ग बगाउँदा देशका अन्य भेगबाट काठमाडौं जोड्ने सडक लगभग अवरुद्ध छन्।
यो बेमौसमी वर्षा अनपेक्षित या अप्रत्याशित थिएन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान केन्द्रले असोज ११ र १२ गते भारी वर्षा हुने सूचना साताअघि नै दिइसकेको थियो। सतर्कता अपनाउन भनी नागरिकलाई मोबाइल सन्देश समेत पठाएको थियो। आमसञ्चारमाध्यमले पनि समाचार दिएकै थिए। राज्य तहबाट ५६ वटा जिल्लामा रातको समयमा यात्रु बस सञ्चालनमा रोक लगाइएको थियो। तापनि यस्तो क्षति किन निम्तियो त? कारण प्रस्ट छ– हामीले मौसम पूर्वानुमानले गरेको संकेत अनुसार आवश्यक तयारी गरेनौं। अर्थात् सम्भावित विपद्लाई कम आँक्यौं।
यस अवधिमा काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ४० घण्टामै वार्षिक औसतको आधा जति पानी पर्यो। सन् १९७२ देखि रेकर्ड राख्न थालिएयताकै सबैभन्दा बढी वर्षा थियो यो। तर यति धेरै मानिसको मृत्यु हुनुमा प्राकृतिकभन्दा मानवीय कारण ज्यादा छ।
धादिङको झ्याप्ले खोलामा पहिरोले तीन वटा बस पुरिंदा कम्तीमा ३५ जनाको मृत्यु भयो। यसले गत असार २८ को सिमलताल दुर्घटनाको याद दिलायो जहाँ रातको समयमा दुई वटा बस पहिरोले त्रिशूलीमा खसाल्दा ६२ जनाको ज्यान गयो। ती बस अझै फेला परेका छैनन्।
दुवै घटनामा देखिने कारण पहिरो भए पनि खास कारण चाहिं सडक बनाउँदा पहिरो रोक्ने उपाय नअपनाइनु अर्थात् कमजोर इन्जिनीयरिङ हो। त्यसैले यो दुर्घटना हाेइन, मानवीय लापरवाही हो।
धेरैजसो पहाडी सडक निर्माणमा कुनै नियम पालना गरिंदैन। स्थानीय सरकारले आफ्नो डोजर भाडामा लगाउन जथाभाबी योजना बनाउँछन्। निर्माणका क्रममा जम्मा भएको ढुंगामाटो भीरबाट तल फालिन्छ। वर्षाले त्यसलाई तल्लो भेगका बस्ती, खेतबारी र राजमार्गमा पुर्याएर विकराल स्थिति ल्याइदिन्छ।
गत सप्ताहान्तको विपत्तिले के सिकायो भने, मौसमी सूचना मात्रै जनधनको क्षति रोक्न पर्याप्त हुँदो रहेनछ। जोखिमपूर्ण नदी किनारका बस्तीमा माइकिङ गरी मानिसलाई सुरक्षित ठाउँमा सार्नुपर्थ्यो। आश्रयस्थल तयार पार्नुपर्थ्यो। उद्धार सामग्री र डुंगा तम्तयार राख्नुपर्थ्यो। जलाधार क्षेत्रमा वर्षाको प्रत्यक्ष अनुगमन गर्नुपर्थ्यो। तर विपद् व्यवस्थापन गर्नुपर्ने निकाय सामाजिक सञ्जालमा जानकारी बाँड्नमै सीमित रह्यो। गृह मन्त्रालयले आश्वासन बाँड्ने र दुःख व्यक्त गर्ने काम मात्र गर्यो।
यस घटनाले सन् १९९३ मा मध्य नेपालमा आएको बाढी पनि सम्झायो जसले चितवनको लोथर, कुलेखानी क्षेत्र र राजमार्गमा व्यापक क्षति पुर्यायो। एक हजार ३०० भन्दा बढीको ज्यान गएको उक्त विपद्कै कारण काठमाडौं छिर्ने प्रमुख नाका धेरै सातासम्म अवरुद्ध थियो।
यस पटक काठमाडौं उपत्यकामा धेरै मानिसको मृत्यु हुनुको कारण अव्यवस्थित शहरीकरण पनि हो। विष्णुमती, मनोहरा, बागमती आदि तथा तिनका सहायक खोलाको प्राकृतिक बाटो सडक र संरचनाले मिचिएका छन्। नदीहरूले पुरानो बहाव क्षेत्र फिर्ता लिने प्रयास गरिरहेछन्।
माथिल्लो तामाकोशी र अन्य धेरै जलविद्युत् आयोजनामा भएको क्षतिले हामीलाई सबै लगानी एकै प्रकारको आयोजनामा गर्न हुने रहेनछ भन्ने पाठ सिकाएको छ। गत वर्ष सिक्किममा भएको विपत्तिले देखायो कि यस्ता आयोजना हिमताल विस्फोट र नदी थुनिएर एक्कासि फुट्ने खतरामा छन्। त्यसैले धेरै नदीमा साना तर सुरक्षा व्यवस्था बलियो रहेका आयोजना बनाउनु बढी उपयुक्त हुनेछ।
हिमालय पृथ्वीको सबैभन्दा कान्छाे र संवेदनशील पर्वत शृंखला हो। नेपालमा जहिले पनि बढी वा कम पानीकाे समस्या रहेकाे छ। यस्तोमा अहिले जलवायु परिवर्तनले बाढीको समस्या झन् बढाइरहेको छ। भूकम्प, बाढीपहिरोसँगै जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाल बहुप्रकोप सम्भावित देश बनेको छ।
लगातार आइरहने बाढी समाधान गर्न जापान सरकारको सहयोगमा पुल्चोकमा विपद् रोकथाम प्राविधिक केन्द्र स्थापना गरिएको थियो। यसलाई पछि जल-उत्पन्न प्रकोप व्यवस्थापन विभाग भनिएको छ। तर यो संस्थाको प्रभावकारिता र गतिविधि खासै देखिएको छैन।
विपद्मा सरकार जिम्मेवारी पूरा गर्न असफल भएका वेला बरु सर्वसाधारणले साहसिक काम गरेका छन्। उनीहरूले बाढीले बगाएका मानिसलाई बचाएका छन्, डुंगामा बालबालिकालाई सुरक्षित स्थान पुर्याएका छन्। बसमा फसेका यात्रुलाई बाहिर निकालेका छन्। नेपाली सेना र प्रहरीले पनि हजारौंको उद्धार गरे, तर यी प्रयासमा उचित समन्वयको अभाव देखियो।
अब हाम्रो ध्यान तत्काल राहत र पुनर्निर्माणमा जानुपर्छ। तर यो काम पनि किन नहुन सक्छ भने दशैं बिदा नजीकै छ। सामान्य अवस्थामै पनि हामीकहाँ सुशासन, जवाफदेही र पारदर्शिता छैन। बिदाको वेलामा झन् के होला र? तापनि पीडितलाई मलम लगाउन बिदा बाधक बन्न हुँदैन।
(यो लेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्। नेपाली टाइम्सबाट अन्शु खनालको अनुवाद)
याे पनि: नख्खु बाढीमा डुबेको मेडिसिटीले सिकाएको पाठ
दुई दिनकै झरीले किन भयो यति ठूलो क्षति?
विपत्ति आउने जान्दाजान्दै किन गरियो लापरवाही?