एभरेस्ट र बसेरा होटललाई तीन–तीन लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरस्थित होटल एभरेस्ट र बबरमहलमा रहेको होटल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
मंगलबार अनुगमनका क्रममा म्याद गुज्रिएको सामान बिक्री गरेको पाइएपछि होटल एभरेस्टलाई कारबाही गरेको विभागले जनाएको छ। त्यस्तै, बसेराले अत्यधिक महँगोमा सामान बेचेको पाइएकाले कारबाही गर्नुपरेको विभागले उल्लेख गरेको छ। गुणस्तर, परिमाण, मूल्य, नापतौल हेरफेर गर्नेलाई यस्तो जरिवाना गर्न सकिने प्रावधान छ।
विभागले मंगलबार डा. इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। खरीद बिल बिजक नराखेर कानून उल्लंघन गरेको भन्दै विभागले कारबाही गरेको हो।