आमाको बिदाइ (कथा)
‘बाँच्न दुई सर्को सास भए पुग्छ। त्यो मैले गरेकै छु। यो समाजले मेरा लागि सास तानिदिने-फ्याँकिदिने होइन। यसले भोलिको दिनमा बाउ खोइ भनी भने देखाइदिउँला। मरेछ भने कथा भनिदिउँला।’
डर मेरो थाप्लोमा आएर बसेको थियो।
आमा र माइजू ओछ्यानमा बस्नुभएको थियो। माहोल यस्तो थियो, मानौं म उहाँहरूको सामुन्ने कुनै अपराधी जसरी उभिएकी थिएँ र उहाँहरू फैसला सुनाउन लागिरहनुभएको थियो।
फैसला दुई दशकअघि पनि भएको थियो र फैसला सुनाउने न्यायाधीशले आमाको पक्षमा निर्णय दिएको थियो। त्यति खेर म पाँच वर्षकी थिएँ। फैसला आमाको पक्षमा हुनु भनेको अब उप्रान्त म आमासँग बस्न पाउनु थियो, अनि बाबाबाट टाढा हुनु थियो। उसो त बाबासँग पहिल्यै टाढिइसकेका थियौं हामी आमाछोरी। त्यस दिनदेखि कानूनी रूपमा पनि टाढा भयौं।
विडम्बना पनि कस्तो! उही बाबासँग जीवन बिताउन आमा घरबाट भागेर काठमाडौं पस्नुभएको थियो, बाजेबोजूको चित्त दुखाएर।
“त्यो मरी हाम्रो लागि। त्यसको मुख पनि हेर्दिनँ,” बाजे बेस्कन रिसाउनुभएको थियो। नरिसाउनु पनि किन? सोह्र वर्षकी मेरी आमा राइनी। बीस वर्षे मेरो बाबा नेवार। त्यो जमानामा अन्तरजातीय बिहे गर्नु अपराध गरे जत्तिकै हुन्थ्यो।
बिहे भएको दुई वर्षसम्म त बाबा र आमाको जिन्दगी हाँसीखुशी बित्यो। तेस्रो वर्ष लाग्दानलाग्दै म जन्मिएँ। जिम्मेवारी बढेपछि बाबाले रोजगारीका लागि मलेशिया जाने निर्णय गर्नुभयो।
बाबा मलेशिया जानुभएको दुई वर्षसम्म ठीकै चलिरहेको थियो। बिस्तारै उहाँको व्यवहार फेरिन थाल्यो। पहिले पहिले हप्ता-दश दिन बिराएर फोन गर्ने बाबाले महीना दिन बित्दा पनि फोन गर्नुभएन। आमा छटपटाउनुहुन्थ्यो। तर त्यो छटपटी बिसाउने ठाउँ थिएन। मामाघर जाऊँ भने बाजेबोजूको रिस मरेको थिएन। मामाहरू बाजेको डरले चूप हुनुहुन्थ्यो।
आमाको मन पीडाले टिलपिल हुन्थ्यो। छचल्किएर पोखिन पाए सन्चो हुन्थ्यो। तर आमालाई बलियो बनाउन मैले केही पनि गर्न सक्ने अवस्था थिएन।
बाबासँगको सम्पर्क टुटेपछि आमाले शटर भाडामा लिएर किराना पसल शुरू गर्नुभयो। म स्कूल जान थालेकी थिएँ।
पाँच महीनापछि एक दिन बाबाको फोन आयो। बाबाले उतै एउटी केटीसँग बिहे गरेको बताउनुभयो। खबर सुनेर आमा विक्षिप्त हुनुभयो। विचलित मनस्थितिमा दैनिक जीवन अगाडि बढाउन सक्ने अवस्था रहेन। पसल बेचिदिनुभयो र झोलामा कपडा खाँदखुँद पारी मलाई लिएर रात्रिबसमा निस्किनुभयो।
भोलिपल्ट झापा बसपार्कमा ओर्लियौं। बसपार्कबाट उँभो बुधबारे लाग्यौं। केही बेरमा हामी मामाघरको आँगनमा थियौं।
उदास अनुहार र मनोदशा बोकेर पुग्नुभएको आमालाई देखेर बाजे नि:शब्द हुनुभयो। बोजूले आमाको हातबाट मलाई छुटाएर घरभित्र लैजानुभयो।
साँझमा हामी चुलोको वरिपरि बसिरहेका थियौं। सबै मौन थिए।
निकै बेरपछिको मौनता तोडेर बाजे बोल्नुभयो, “हाम्री छोरीचेली कुनै लुगाफाटा होइन। आज मन पर्यो लायो, भोलि मन परेन फुकाल्यो। मेरो पाखुरा अझै चल्छ। तेरो र नातिनीको जिम्मेवारी उठाउन सक्छु। तर त्यसलाई पाठ पढाएर मात्र छोड्छु। अबदेखि यहीं बस्।”
बाजेको त्यस्तो कठोर मन आज नौनी झैं देखियो। कठोर र नरम स्वभाव एउटै मान्छेभित्र कसरी हुर्किन्छ?
बाजेबोजू, मामामाइजू सबैको इच्छा थियो- अब आमा आफ्नो पुरानै लयमा फर्कियोस्। केही नयाँ काम शुरू गरोस्। बन्जर ओठमा फूल फुलोस्।
आमालाई बाजेबोजूले भन्नुभएको लयमा फर्किन करीब दुई वर्ष लाग्यो। आमाले सुँगुर फार्म खोल्ने निधो गर्नुभयो। बाजेले लगानी गरिदिनुभयो।
शुरूमा पचास वटा सुँगुरबाट फार्म चलाउन शुरू भयो। आमाले रातदिन मिहिनेत गरी तीन वर्षमै बाजेको सम्पूर्ण लगानी फिर्ता गरेर पनि दुई सय पचास वटा सुँगुर थप्नुभयो।
बजारमा आमाको फार्मको नाम चल्न थाल्यो। धरानदेखि काठमाडौंसम्मका व्यापारीहरू सुँगुर किन्न फार्ममा आउँथे। शुरूमा दुई जना कामदार राख्नुभएकी आमाले पछि बाह्र जनालाई रोजगारी दिनुभयो। मामाघरमा सबै खुशी थिए। तर त्यो खुशी धेरै टिक्न पाएन।
एक दिन दुई जना मान्छे मामाघरमा आए। एउटा पचास-साठी वर्षका र अर्को अट्ठाइस-उनन्तीस वर्षका पुरुष। मामाघरमा बाजे, बोजू र माइजू मात्रै हुनुहुन्थ्यो। आँगनमा म र मामाकी छोरी खेलिरहेका थियौं। मामा र आमा बिहानै फार्ममा गइसक्नुभएको थियो।
बूढो मान्छेले बाजेबोजू कहाँ छन् भनेर सोधे। मैले हातले इशारा गरेर घरभित्र देखाइदिएँ। त्यो बूढो मान्छेसँगै अर्को मान्छे पनि घरभित्र पस्यो। एकछिनमा भित्रबाट चर्को चर्को आवाज आउन थालेपछि हाम्रा कान ठाडा भए।
बोजू भित्रैबाट कराइन्, “ममता, फार्ममा गएर फुपूलाई बोलाएर ल्या त!”
यति सुन्नासाथ मामाकी छोरी फार्मतिर कुदी। ममताको पछि पछि म पनि कुदें। फार्ममा आमा सुँगुरको खोर सफा गर्ने मान्छेहरूलाई अह्राउपह्राउ गर्दै हुनुहुन्थ्यो। बाजेले बोलाउन पठाउनुभएको भन्ने बित्तिकै अरू केही नसोधी उहाँ कुदेर घर पुग्नुभयो।
घर पुगेपछि ती दुई मान्छेका अनुहार देखेर आमा हतप्रभ हुनुभयो। खासमा ती दुईमध्ये एक मेरो बाबा र अर्को हजुरबा हुनुहुँदो रहेछ। वर्षौंपछि एकाएक त्यसरी लोग्ने र ससुरालाई त्यहाँ देखेर आमा आत्तिनुभयो। उनीहरू मलाई छोरी दाबी गर्दै घर लिएर जान आएका रहेछन्। त्यसैले त्यस दिन ठूलो झगडा भयो। निकै बेरको चर्काचर्कीपछि बाबा र हजुरबा कानूनी प्रक्रियामा जाने धम्की दिएर फर्किनुभयो। त्यस रात आमाले मलाई अघिपछि भन्दा कसिलो अँगालोमा बाँधेर सुताउनुभयो।
नभन्दै एक सातापछि आमाको नाममा मुद्दा दर्ता गरेछन्। कानूनी रूपमा पारपाचुके नभइसकेकाले छोरीमाथि हक लाग्ने भन्दै बाबाले मुद्दा हाल्नुभएको रहेछ। मामाले आमालाई नआत्तिन भन्नुभयो। आफूले पनि वकील चिनेको र अन्तिमसम्मै लड्ने भनेर आमालाई ढाडस दिनुभयो।
मुद्दामामिला चलिरहेकै थियो। मलाई स्कूल लैजाने-ल्याउने जिम्मा बोजूले लिनुभएको थियो। कतै मलाई बाटोबाटै तानेर लैजालान् कि भनेर सतर्क हुनुभएको होला।
चार-पाँच महीनापछिको एक दिन बाजे, मामामाइजू र आमा सबेरै अदालततिर हिंड्नुभयो। खाना खाइवरी म र ममता बोजूसँगै स्कुल गयौं। स्कूल छुट्टी हुन आधा घण्टा बाँकी थियो, आमा टुप्लुक्क प्रांगणमा देखिनुभयो। म कक्षाकोठाबाट दौडिंदै गएर आमालाई झ्याप्प समात्न पुगें। मलाई देख्नासाथ आमाले आँसु थाम्नै सक्नुभएन। आमा त्यसरी रुनुभएको देखेर सर-मिसहरू अचम्ममा पर्नुभयो। उहाँहरूलाई के थाहा, छोरीसँग बिछोड हुने हो कि भनेर आमाको मनमा महीनौंदेखि रहेको त्रास आजबाट सकिएको थियो। ममाथि हक दाबी गर्दै बाबाले हाल्नुभएको मुद्दा आमाले जित्नुभएको थियो। अब म पूर्णतया आमाको जिम्मेवारीमा परेकी थिएँ|
हाम्रो दैनिकी फेरि सामान्य हुँदै गयो। जसरी फार्मबाट हुने आम्दानी बढ्दै गयो, त्यसरी मेरो उमेर पनि बढ्दै गयो। बाजेबोजूलाई आमाको चिन्ता लाग्न थालेको थियो। म ठूलो भएर बिहे गरी गएपछि आमा फेरि एक्लै हुने पीरले उहाँहरूलाई सताएको थियो।
बोजू अर्को बिहे गर्न आमालाई दबाब दिइराख्नुहुन्थ्यो। उहाँ सम्झाउनुहुन्थ्यो, “तेरो उमेर कति नै भयो र, छब्बीस त पुगिस् भर्खर। नातिनी एक दिन बिहे गरेर गइहाल्छे। हामी बूढाबूढी मरेर गइहाल्छौं। तँ एक्लै हुन्छेस्। फेरि यसलाई बाउको पनि खाँचो छ। तँ बिहे गर् नानी। बरु केटा हामी नै खोजिदिउँला।”
“बाँच्न दुई सर्को सास भए पुग्छ। त्यो मैले गरेकै छु। यो समाजले मेरा लागि सास तानिदिने-फ्याँकिदिने होइन। यसले भोलिको दिनमा बाउ खोइ भनी भने देखाइदिउँला। मरेछ भने कथा भनिदिउँला। आफैंले रोजेर गएको मान्छेले त मलाई बुझेन, तपाईंहरूले खोजेकाले कसरी बुझ्ला! यो बिहे गर्ने कुरा आजबाट मसँग कसैले नगरोस्,” आमा कठोर देखिनुभयो।
त्यसपछि आमासँग बिहेको कुरा कसैले गरेन।
आमाले तन-मन फार्ममै लगाउनुभयो। कमाएको पैसाले जग्गा किन्नुभयो र एकतले घर बनाउनुभयो।
हामी नयाँ घरमा सर्यौं। सबै ठीकै चलिरहेको थियो। तर जब जब ठीक चल्न थाल्थ्यो, हामीमाथि केही न केही बज्रपात हुन्थ्यो।
हामी नयाँ घरमा सरेको ६ महीनापछि बोजूले संसार छोड्नुभयो। आमा छाती पिटीपिटी रुनुभएको थियो। त्यसरी ज्यानै फालेर आमालाई त्यसअघि रोएको देखेकी थिइनँ।
बोजूको क्रियाकर्म सकिएपछि आमाले मलाई कलेज काठमाडौं गएर पढ्न भन्नुभयो। तर आमालाई छोडेर कतै जान मन थिएन।
म काठमाडौं गइनँ। गाउँकै कलेजमा भर्ना भएँ। दैनिकी उसैगरी चलिरह्यो। समय रफ्तारमा बग्यो। मलाई आफ्नो बढ्दो उमेरसँगै आमाको चिन्ता लाग्न थाल्यो। कहिलेकाहीं आमा एकदम उदास देखिनुहुन्थ्यो। हुन त आमा मसँग सबै कुरा बाँड्नुहुन्थ्यो। तर आमाछोरीको बीचमा त्यस्तो केही कुरा पनि हुँदो हो, जुन आमाले मसँग बाँड्न सक्नुहुन्नथ्यो शायद। माया गर्ने बाबा हुनुभएको भए आमाले पक्कै आफ्ना उदासीका कारण बताउनुहुन्थ्यो होला। आमालाई माया गर्ने बाबा भइदिए हुन्थ्यो जस्तो लाग्न थालेको थियो मलाई।
एक दिन हामी मामाघर गएका थियौं। साँझ आमा, माइजू, ममता र म गफ गरिरहेका थियौं।
“अब त भान्जी पनि पच्चीस वर्षकी भइन्। पढाइ पनि लगभग सकियो। अब बिहे गर्नुपर्छ है भान्जी,” माइजूले भन्नुभयो।
“गर्दिनँ म बिहेसिहे,” मैले माइजूलाई आँखा तरेर रिस देखाउन खोजें।
“माइजूले ठीकै त भन्नुभयो नि। तेरो बिहे गर्ने समय घर्किन लाग्यो,” आमाले माइजूको कुरामा सही थाप्नुभयो।
“बरु आमाले चाहिं बोजूले भनेको मान्नुभएको भए हुन्थ्यो। मेरो बाबा, भाइबहिनी हुन्थे होला। म बिहे गरेर गएँ भने तपाईं एक्लै हुनुहुन्छ। बरु तपाईं बिहे गर्नुस् न,” खै कुन साहसले मैले आमासँग भनेछु। भनिसकेपछि पो झस्किएँ।
आमाको अनुहारमा तैरिएको कठोर भावले मेरो सातो लग्यो। अब आमाले के भन्नुहोला? डर मेरो थाप्लोमा आएर बस्यो। म हुरीको पात जस्तो थररर भएँ। माइजूले म र आमालाई पालैपालो हेर्नुभयो।
माहोल यस्तो थियो, मानौं म उहाँहरूको सामुन्ने कुनै अपराधी जसरी उभिएकी थिएँ र उहाँहरू फैसला सुनाउन लागिरहनुभएको थियो।
“लौ नानी, भान्जीले त तपाईंको पो बिहे गरिदिने कुरा गर्नुभयो। तपाईंको बिदाइ गरेर मात्र आफू बिदाइ हुने सोच्नुभएको रहेछ। के विचार छ अब?” माइजूले मुस्काउँदै आमालाई हेर्नुभयो।
“यो केटी अचेल खूब जान्ने हुन थालेकी छे। यस्तो कुरा नगर।” यति भनेर आमाले मेरो र माइजूको मुखमा ताल्चा मारिदिनुभयो। धन्न आमाले यति मात्रै भन्नुभयो, मैले राहत महसूस गरें।
त्यसपछिका दिनमा म निरन्तर फार्ममा जान थालें।
महिलाले दोस्रो बिहे गर्दा समाजमा महिलामाथि अनेकन् प्रश्न उठ्ने भएकाले आमा तर्किनुभएको हो कि! म यसबारे आमाको मनोविज्ञान बुझ्न चाहन्थें।
वेलावेला कुरैकुरामा उहाँको कुरा खोतल्ने प्रयास गर्थें। उहाँलाई ढाडस दिन्थें।
एक साँझ खाना खाइवरी आमाछोरी गर्मी छल्न कौसीमा बसिरहेका थियौं। यही ताक पारेर मैले भनें, “आमा, परिवार र समाज भनेर आफ्नो केही इच्छा, आकांक्षा छ भने नमार्नू है। जिन्दगी तपाईंको, रहर तपाईंको हो, निर्णय पनि तपाईंकै हुनुपर्छ। अहिलेसम्म अरूका लागि बाँच्नुभयो, अब आफ्ना लागि बाँच्नुस्। तपाईं मैले भनेको किन मान्नुहुन्न? एक पटक हुन्छ त भनिहेर्नुस्, म तपाईंको साथमा उभिन तयार छु।”
यति भनेर मैले मधुरो उज्यालोमा आमाको अनुहार पढें। उहाँ उस्तै तटस्थ हुनुहुन्थ्यो। एकछिनपछि आमा कौसीबाट तल झर्नुभयो र सुत्ने कोठामा पसेर चुकुल लगाउनुभयो।
कस्तो नीरस मान्छे होला! आमाको जिद्दीपनले म खिन्न भएँ। फेरि लाग्यो, कतै आमाको मन पो दुखाएँ कि? भैगो, अबदेखि आमासँग यो कुरा गर्दिनँ भन्ने सोचें।
कलेजका अन्तिम दिनहरू चलिरहेको थियो। सधैं झैं कलेज गएँ। आमा फार्मतिर लाग्नुभयो। त्यस दिन केही किताब पनि किन्नुपर्ने भएकाले साथीहरूसँग अलमलिंदै दिउँसो ३ बजेतिर घर फर्किएँ।
घरको ढोका खुलै रहेछ। चाबी हामी आमाछोरीसँग एक-एक वटा हुन्थ्यो। त्यस बिहान निस्किंदा आमाले नै ताल्चा चलाउनुभएको थियो। आमा पाँच नबजी फार्मबाट फर्कनुहुन्नथ्यो। कतै चोर त पसेन? मलाई डर र शंका लाग्यो।
चाल मारेर सुस्तरी घरभित्र पसें।
अरे! भित्र त आमा र माइजू पो हुनुहुँदो रहेछ।
“ओहो माइजू, आज स्कूल छुट्टी हो र?” मैले सोधें। माइजू स्कूलमा पढाउनुहुन्थ्यो। यतिखेर त माइजू स्कूलमा हुनुपर्ने हो। आमा बिरामी हुनुभएर पो आउनुभएको हो कि? तर आमा त चंगा देखिइरहनुभएको थियो।
माइजूले 'होइन' भन्ने भावमा टाउको हल्लाउनुभयो र मन्द मुस्कुराउनुभयो। मलाई देखेर आमा पनि प्रसन्न देखिनुभयो। दुवै जना मुस्कुराएपछि मेरो मनमा पसेको चिसो स्वाट्टै भाग्यो।
“ल भान्जी, तिम्रो इच्छा पूरा हुने भयो,” माइजूले मुस्काउँदै भन्नुभयो।
“कुन इच्छा माइजू?” म अन्योलमा परें। मेरा आँखीभौं उचालिए।
“आमालाई बिदाइ गर्ने इच्छा,” माइजू हाँस्नुभयो।
मेरो शरीरभरि खुशीको तरंग दौडियो।
मलाई हाँस्न मन लाग्यो। तत्क्षण रुन पनि मन लाग्यो। कस्तो कस्तो रोमाञ्चकताले मेरो बक फुटेन। आमालाई झ्याप्प अँगालो मारें।
हिमाल दशैं साहित्यका थप सामग्री: