झोलुंगे पुल भत्किएपछि स्कूलको बाटो बन्द
सुनकोशी नदीमा आएको बाढीले झोलुंगे पुल भत्किएपछि तटीय क्षेत्रमा पर्ने खोटाङ र उदयपुरका विद्यार्थी स्कूल जानबाट वञ्चित छन्।
असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२, डिकुवा चारबोटे र उदयपुरको कटारी नगरपालिका-१०, सोरुङछबिसे जोड्ने झोलुंगे पुल भत्किएको छ। पुल भत्किएपछि सोरुङछबिसेस्थित बेंसीगाउँका विद्यार्थी डिकुवाको डिकुवा आधारभूत विद्यालय जान सकेका छैनन्।
सोरुङछबिसेबाट सुनकोशी पुल तरेर दैनिक १६ जना विद्यार्थी विद्यालय आउने गरेका थिए। झोलुंगे पुल क्षतिग्रस्त भएपछि विद्यार्थी आउन नपाएको विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताए।
कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा सोरुङछबिसेबाट बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी आउने गरेका छन्। यस विद्यालयमा ७८ विद्यार्थी अध्ययनरत छन्। पानी नघट्दासम्म उनीहरू पढाइबाट वञ्चित हुने राईले बताए। पानी घटेपछि भने डुंगा वा गाडीको ट्यूबमा चढेर विद्यालय आउन सक्ने उनको भनाइ छ।
यस्तै, डिकुवा र उदयपुरको ताप्ली गाउँपालिका-५, रुपटारको निबुवाटार जोड्ने झोलुंगे पुल बगेपछि डिकुवाका विद्यार्थी पनि स्कूल जान पाएका छैनन्। डिकुवाका कक्षा ९ देखि कक्षा १२ सम्मका ११ विद्यार्थीले दैनिक पुल तरेर महेन्द्र मावि रुपटार जानेआउने गरेका थिए। यो पुलको दायाँ-बायाँको सपोर्ट लट्ठा चुँडिनुका साथै खोटाङतर्फको टावर ढल्किएको छ।
डिकुवाकै बाइटार र उदयपुरको कटारी नगरपालिका-१०, सोरुङछबिसेको चिपटार जोड्ने नयाँ पुलमा पनि बाढीले क्षति पुर्याएको छ। गत साउनदेखि सञ्चालनमा ल्याइएको पुलको दुईतिरको सपोर्ट लट्ठा चुँडिएको स्थानीयले बताए।