बाढीपहिरोमा परी १९२ जनाको मृत्यु
बाढीपहिरो र डुबानमा परी सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको छ।
पछिल्ला तीन दिनमा विपद्मा परी १९२ ज्यानको गएको विवरण प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। उनका अनुसार अझै ३० जना हराइरहेका छन्।
त्यस्तै, बाढीपहिरोमा परी १९४ जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रवक्ता तिवारीले बताए।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित छन्। अहिलेसम्म चार हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए।
बाढीपहिरो प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।
यससँगै अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए। बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भई सवारीसाधन बाटामै राेकिंदा यात्रुहरू अलपत्र परेका छन्।
यो पनि पढ्नुहोस् :