काठमाडौं सहित देशका २५ स्थानमा अहिलेसम्मकै धेरै वर्षा
पछिल्ला दुई दिनमा काठमाडौं उपत्यकासँगै देशका २५ स्थानमा अहिलेसम्मकै धेरै पानी परेको छ।
असोज १० गतेदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका नदीमा बाढी निम्त्यायो, नदी किनारका कैयौं बस्ती जलमग्न भए। उपत्यकाको दक्षिणी भेगका बल्खु, नख्खु लगायत क्षेत्रका घर डुबानमा परे।
बाढीले उपत्यकामा कम्तीमा ४८ जनाको ज्यान लियो। अझै २१ जना हराइरहेका छन्। कैयौं घाइते भएका छन्।
काठमाडौं उपत्यका मात्रै होइन, देशको मध्य र पूर्वी भागमा वर्षापछि आएको बाढी र पहिरोले ठूलो क्षति निम्त्यायो।
मनसुन सकिने वेला देशैभर विपद् निम्त्याउने गरी यस पटक वर्षिएको झरी जस्तो ठूलो पानी दुई दर्जन स्थानमा यसअघि कहिल्यै रेकर्ड नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार असोज १२ गतेको २४ घन्टामा देशका २५ स्थानमा वर्षाको पुरानो रेकर्ड तोडिएको छ। अर्थात् ती स्थानमा मौसम स्टेशनले अहिलेको जति परिमाणमा पानी परेको रेकर्ड यसअघि कहिल्यै गरेका थिएनन्।
काठमाडौं उपत्यकाका झन्डै एक दर्जन स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको छ। काठमाडौं उपत्यकामा यसअघि २४ घन्टाको अवधिमा सर्वाधिक २४९.२ मिलिमिटरसम्म पानी परेको अभिलेख थियो। तर यो वर्ष सर्वाधिक ३२३.५ मिलिमिटरसम्म वर्षा भयो। जुन आफैंमा असाधारण घटना हो।
उपत्यकाका आठ स्थानमा अति भारी वर्षा भएको विभागले जनाएको छ। विभागले २४ घन्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अति भारी वर्षा भएको उल्लेख गर्छ।
त्यस्तै, असोज १२ गतेको २४ घन्टाभित्र ललितपुरको चापागाउँमा ३२३.५ मिलिमिटर वर्षा भएको हो। यो काठमाडौं उपत्यकाको कुनै स्थानमा रेकर्ड भएको अहिलेसम्मकै सर्वाधिक वर्षा हो। यसअघि २०५९ साउन ७ गते चापागाउँमा सर्वाधिक २००.५ मिलिमिटर वर्षा भएको थियो।
ललितपुरकै खोकना, गोदावरी, खुमलटार, चापागाउँमा काठमाडौं उपत्यकाको अन्यत्रका तुलनामा बढी वर्षा रेकर्ड भएको छ। गोदावरीमा ३११.६ मिलिमिटर पानी परेको छ। २२ वर्षअघि यहाँ सर्वाधिक २२५.२ मिलिमिटर पानी परेको थियो। खोकनामा २९७.३ मिलिमिटर पानी परेको छ।
असोज १२ मै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३९.७ मिलिमिटर पानी पर्यो। यसअघि २०५९ साउन ७ गते विमानस्थलमा सर्वाधिक १७७ मिलिमिटर पानी परेको अभिलेख थियो।
काठमाडौं उपत्यकामा मात्रै होइन, देशका अन्य भागमा पनि असोज १२ मा अहिलेसम्मकै धेरै वर्षा भएको छ। विभागको तथ्यांक अनुसार मकवानपुरको दामनमा ४१० मिलिमिटर पानी पर्यो। यसअघि २०५० साउन ५ गते दामनमा ३७३.३ मिलिमिटर पानी परेको थियो।
दामनमा असोज १२ मा देशैभरमा रेकर्ड भएको उच्च वर्षा हो। तर यो अहिलेसम्म रेकर्ड गरिएको उच्च वर्षा होइन।
नेपालमा अहिलेसम्म सर्वाधिक पानी परेको रेकर्ड कञ्चनपुरमा छ। गत असार २३ र २४ गते २४ घन्टाको अवधिमा कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५ मिलिमिटर वर्षा मापन भएको थियो। विभागले यो वर्षालाई ‘क्लाउड ब्रस्ट’ बताएको छ।
असोज १२ मा देशका डेढ दर्जन स्थानमा अति भारी वर्षा भएको तथ्यांकले देखाएको छ। त्यसैगरी, कैयौं स्थानमा भारी वर्षा हुन पुगेको छ।
अहिले काठमाडौंमा परेको पानी कञ्चनपुरमा परेको पानीको आधा जति मात्रै हो। यसले एउटा गम्भीर प्रश्न भने छोड्छ– यदि ‘क्लाउड ब्रस्ट’ हुने गरी कञ्चनपुरमा भएको वर्षा सरह काठमाडौंमा पानी परे के होला?