यी हुन् जारमा कोलिफर्म भेटिएपछि दुई लाख जरिवाना तिरेका ११ ब्रान्ड
पानीमा फिकल कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानी बेच्ने कम्पनीलाई बिक्रीवितरणमा रोक लगाएको छ भने जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
परीक्षण गरिएका २१ मध्ये ११ ब्रान्डको पानीमा कोलिफर्म फेला परेको काठमाडौं महानगरले जनाएको छ। महानगरले भदौ १२ गतेदेखि २८ गतेसम्म नमूना संकलन गरेको थियो।
जरिवाना र बिक्रीवितरणमा रोक लगाइएका पानीका ब्रान्डः
१) फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ युनिट (सीएफयू) देखिएको महानगरले उल्लेख गरेको छ। पञ्चरत्न ग्रूपले टोखा नगरपालिका-८ मा यो पानी उत्पादन गरिरहेको छ।
२) अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० सीएफयू देखिएको छ। अक्वा पिस टोखा-८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा पनि टोखाकै अक्वा एसएनएस बेभरेजले उत्पादन गरेको पानी हो।
३) कोलभोतेश्वर ब्रान्डको पानीमा फिकल कोलिफर्मको मान ११६ सीएफयू देखिएको छ। यसको उत्पादन कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फूड एन्ड बेभरेजले गरेको हो।
४) गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डीबी, कागेश्वरी मनोहरा-६ मा रहेको स्नो क्युब ड्रिंकिङ वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तूपा इन्डस्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिंकिङ वाटरलाई बिक्रीवितरणमा रोक लगाइएको छ।
५) गोकर्णेश्वरमा सञ्चालित मुनलाइट स्प्रिङ मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको छ।
६) अक्वा डीबीमा पाँच सीएफयू देखिएको छ।
७) अकुवामा १७ सीएफयू भेटिएको छ।
८) क्युब प्रोसेस ड्रिंकङ वाटरमा ३०० भन्दा धेरै सीएफयू भेटिएको छ।
९) अक्वा माइल्ड ब्रान्डको पानीमा २१ कोलोनी फर्मिङ युनिट भेटिएको छ।
१०) अक्वा कपनमा फिकल कोलिफर्म मान ४ भेटिएको छ। एमके मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा यो पानी उत्पादन गर्छ।
११) अक्वा गौरीशंकरमा ३०० भन्दा धेरै कोलोनी फर्मिङ युनिट भेटिएको हो। अक्वा गौरीशंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।
यो पनि पढ्नुहोस् : पानीको जार रोगको घर