तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने
आगामी तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने भएको छ।
वायुसेवा सञ्चालक संघको बैठकले असोज १४ देखि १६ गतेसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेको छ। “विपद्को समयमा सरकारले तोकेको अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेका छौं,” संघका अध्यक्ष मनोज कार्कीले भने।
दशैं नजिकिएसँगै विमान वायुसेवा कम्पनीहरूले अधिकतम मूल्यमा टिकट बिक्री गर्दै आएका थिए। पछिल्लो दुई दिनको झरीपछि आएको बाढीपहिरोले सडक अवरुद्ध पारेको छ। जसले गर्दा हवाई यात्रा गर्नेको संख्या बढेको छ।
यससँगै संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङ लगायत शुल्कमा छूट गर्न आग्रह गरेको छ। सरकारले छूट दिएमा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले जनाएका छन्।