बाढीले काबेली करिडोरका चार वटा पोलमा क्षति, विद्युत् उत्पादन बन्द
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार वटा पोलमा क्षति भएको छ।
बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करीब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक १८०-१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो।
काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको हो। उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराइएको थियो। त्यो ठाउँमा प्रसारण लाइनको स्पान ७५० मिटर रहेको छ।
बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति पुर्याएको छ। त्यस्तै, ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रीड महाशाखाको टोलीले आइतबार निरीक्षण गरी क्षतिको जानकारी लिएको छ। महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरमा क्षति भएको बताए।
काठमाडौंबाट सिभिल इन्जिनीयर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्भे टोली सोमबारसम्म फिल्डमा पुग्ने र अवलोकनपश्चात् प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने खड्काले बताए।