कम्तीमा २० जलविद्युत् आयोजनामा दुई अर्बभन्दा बढीको क्षति
बाढीपहिरोले कम्तीमा २० जलविद्युत् आयोजनामा क्षति पुगेको अद्यावधिक विवरण प्राप्त भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार निजी क्षेत्रले लगानी गरेका कम्तीमा २० आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ। यी आयोजनाको कुल उत्पादन क्षमता ७०० मेगावाट रहेको छ। यस बाहेक नेपाल विद्युत् प्राधिकरणले प्रवर्द्धन गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ।
अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २० जलविद्युत् आयोजनामा कम्तीमा दुई अर्ब ३९ करोड रुपैयाँको क्षति भएको इप्पानले जनाएको छ। यद्यपि यसमा कम्तीमा आधा दर्जन आयोजनाको क्षति यकीन हुनै बाँकी छ। माथिल्लो तामाकोशीको पनि क्षति यकीन भएको छैन।
सबै जलविद्युत् आयोजनासँग सम्पर्क हुन नसकेको कारण अन्य आयोजनामा पनि क्षति पुगेको हुन सक्ने आकलन छ।
मकवानपुरस्थित २२ मेगावाटको बागमती साना जलविद्युत् आयोजनाको पावरहाउस पूर्ण रूपमा डुबानमा परेको छ र बाँध क्षेत्रमा क्षति पुगेको छ। यस आयोजनामा करीब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
पाँचथरमा रहेको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा पनि करीब २५ करोड रुपैयाँको क्षति भएको छ, जहाँ पावरहाउस डुबानमा परेको छ।
त्यसैगरी, सोलुखुम्बुको ८६ मेगावाट क्षमताको सोलु दूधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ।
प्रभावित आयोजनाको पुनर्निर्माण तथा मर्मतमा केकति समय लाग्ने हो भन्ने विषयमा स्पष्टता आउन बाँकी छ। ऊर्जा मन्त्रालयले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
नेपालको ऊर्जा क्षेत्रलाई ठूलो धक्का दिने गरी बाढीले पुर्याएको यो क्षतिले जलविद्युत् उत्पादन र आपूर्ति व्यवस्थामा समस्या आउने अनुमान छ। बढी विद्युत् उत्पादन गरेर आम्दानी गर्ने समयमा बाढीले आयोजनामा क्षति पुर्याएपछि आम्दानीमा असर पर्नेछ।