झ्याप्ले खोलामा पुरिएको अर्को बसमा तीन शव भेटिए
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ।
पहिरोमा बस पुरिएको देखिएपछि आइतबार बिहान सुरक्षाकर्मी परिचालन गरिएका थिए। पहिरो पन्छाउँदै जाँदा बसभित्र तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले बताए। “अहिलेसम्म तीन वटा शव भेटिएका छन्, अझै पूरै बस देखिएको छैन,” सिलवालले भने।
पहिरो पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। बसको केही भाग मात्रै देखिएको छ। पूरै बस निकाल्न समय लाग्ने प्रहरी निरीक्षक सिलवालले बताए।
उक्त बस कहाँबाट आएको हो भन्ने खुल्न सकेको छैन। पूरै बस पुरिएकाले नम्बर पनि पहिचान हुन सकेको छैन।
यही ठाउँमा शनिबार लु १ ज ४५७८ नम्बरको माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो। पहिरो पन्छाएर माइक्रोबस निकाल्दा १४ यात्रु मृत अवस्थामा भेटिएका थिए।
बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रोबस धादिङको धुनिबेसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएको थियो। माइक्रोबसमा सवार यात्रुको संख्या यकीन हुन सकेको छैन। मृत भेटिएका १४ जनाको पनि सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए।