बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या सय पुग्यो
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ भने अझै ६७ जना हराइरहेका छन्।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा पाँच-पाँच जनाको मृत्यु भएको छ।
त्यस्तै, दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई-दुई तथा रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक-एक जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। विपत्मा परी १०१ जना घाइते छन्।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालित छन्। त्यस्तै, तीन हजार ३९ जनाको उद्धार गरिएको तिवारीले बताए।
तीन दिनदेखि लगातार परिरहेको झरी आज बिहानदेखि थामिएको छ। केही स्थानमा आज पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।