विपत्ति आउने जान्दाजान्दै किन गरियो लापरवाही?
अत्यधिक वर्षा हुने पूर्व जानकारी हुँदाहुँदै पनि सरकारले पूर्व तयारीमा लापरवाही गर्दा जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ।
देशको राजधानीमै हजारौं मान्छेले हेर्दाहेर्दै घर सहित चार जनालाई बगाएकोे हृदयविदारक दृश्यले हाम्रो विपत् व्यवस्थापनको नांगो चित्र देखाउँछ। यदि बगिरहेका चार जनालाई बचाउन चणिकलाल तामाङ बाढीमा नहेलिएको भए यी निरीह कहाँ पुग्थे? सम्झँदै आङ सिरिङ्ङ हुन्छ।
तामाङले दुई जनाको उद्धार गरे, एक जना आफैं पौडेर निक्लिए। तर एक नाबालक पानीमै विलीन भए। अहिले ती बालक कहाँ होलान्? कहालीलाग्दो दृश्यलाई नियालिरहेका सबैले सोचिरहेका होलान्।
तर मेरो मथिंगल चाहिं हामीले कर तिरेर पालिरहेका राज्य संयन्त्रले यत्रो विपत् मुखमै आइरहेको छ भन्ने जान्दाजान्दै किन सावधानी अपनाउन सकेन भन्ने विषय वरिपरि नै घुमिरहेको छ।
जल तथा मौसम विज्ञान विभागले गत बिहीबार नै देशभर अत्यधिक वर्षा हुने प्रक्षेपण गरिसकेको थियो। त्यसैका आधारमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्डले ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको थियो। यो ‘रेड अलर्ट’ नै थियो।
तर त्यसलाई न जनताले गम्भीरताका साथ लिए न त सरकार स्वयंले पनि त्यो सम्भावित विपत्तिबाट बच्न कुनै पूर्व तयारी नै गर्यो। सरकारले हिमाली र पहाडी जिल्लामा रात्रिबस चलाउन रोक लगाई आफ्नो कर्तव्य पूरा गरेको ठान्यो। यस्तो विपत्तिपछि सदा झैं गृहमन्त्रीले झारा टार्ने वक्तव्यबाजी गरे। जबकि यस्तो लापरवाहीको मूल्य सर्वसाधारणले चुकाउनुपर्यो।
यो रिपोर्ट तयार पार्दासम्म बाढी र पहिरोमा परी ६६ जनाले ज्यान गुमाइसकेका छन् भने ६९ जना हराइरहेका छन् र ६० जना घाइते छन्। काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३४ जनाको ज्यान लिएको छ। करोडौंको सम्पत्ति नाश भएको छ। काठमाडौं छिर्ने र निस्कने हजारौं यात्रु असोज ११ गतेदेखि नै बीच सडकमा अलपत्र छन्। विपत्को पूर्व तयारीको त कुरै छाडौं, राजमार्गमा फसेर फोन र सामाजिक सञ्जाल मार्फत हारगुहार गरिरहेका नागरिकलाई उद्धार गर्न समेत समयमा पुगिएन।
उपत्यकाभित्रकै बाढी र पहिरो व्यवस्थापनमा राम्ररी काम गरेको देखिएन। हेर्दाहेर्दै नख्खु खोलामा सम्पत्तिसँगै मान्छे पनि बगिरहेका थिए। घर डुब्दै गएपछि मान्छेहरू छत छतमा पुगेर हारगुहार गरिरहेका थिए, तर तिनको पुकार सुन्ने कोही देखिएन।
यस्तो हरिबिजोग किन भयो? हाम्रा राज्य संयन्त्र किन लाचार देखियो? केही समयअघिदेखि वर्षातका कारण राजमार्गमा डरलाग्दा दुर्घटना भइरहेको अवस्थामा सम्बन्धित निकायले सम्भावित विपत्तिबारे किन गम्भीरता देखाएन? किन बारम्बार यस्तो लापरवाही गरिन्छ?
मैले विपत् व्यवस्थापन विज्ञ गंगालाल तुलाधरसँग कुरा गरेकी थिएँ। तुलाधर भन्छन्, “हामी कहिल्यै गल्तीबाट सिक्दैनौं। यसपालि पनि त्यही भयो। सानो लापरवाहीले धेरै क्षति हुन गयो।”
सडक विभागका अनुसार अविरल वर्षाले देशभरका सडकको बिजोग छ। ठाउँ ठाउँमा पहिरो गइरहेको छ, पुलहरू भत्किरहेका छन्। त्यहाँ हिंड्नै नसकिने अवस्था छ। तैपनि यात्रु हिंडेरै गन्तव्यतर्फ लागिरहेका छन्। यदि रात्रिबस चल्न रोके जस्तै काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई दुई दिनसम्म रोकिदिएको भए यस्तो विपत्ति झेल्नुपर्ने नै थिएन। यदि बागमती र नख्खु जस्ता खोला किनारमा बसोबास गर्नेहरूलाई आफ्नो वासस्थानबाट निकालेर राखेको भए यत्रो क्षतिबाट बच्न सकिने थियो।
तुलाधर भन्छन्, “कुन कुन ठाउँमा भारी वर्षाको सम्भावना छ भनेर भनिसकेपछि, त्यसको सूचना आइसकेपछि त्यो भारी वर्षाले ल्याउने विपत्ति त यही नै हो। खोलामा बाढी आउने, पाखामा पहिरो जाने भयो। यस्तो सम्भावित खतरापूर्ण ठाउँहरू कहाँ कहाँ छन्, तत् तत् स्थानमा पहिले नै हामी तम्तयार अवस्थामा रहनुपर्थ्यो। त्यो तयारी देखिएन। सम्भावित खतराप्रति लापरवाही र त्यसको पूर्व तयारी नगर्ने हाम्रो संस्कारले गर्दा नै यत्रो क्षति भयो।”