‘पूर्व तयारी पुगेको भए यति धेरै मान्छे मर्ने नै थिएनन्’
‘यति ठूलो घटनालाई मध्यनजर गरेर हामीले पूर्व तयारी गर्न सकेका रहेनछौं भन्ने नै अहिलेको घटनाले सिद्ध गरेको छ।’
बाढीपहिरोमा परेर देशभर एक दिनमा ६० जनाभन्दा बढीको ज्यान गइसकेको छ। हराइरहेका व्यक्तिको संख्या र भौतिक क्षति पनि सानो छैन। सम्भावित जोखिमको पूर्वानुमान हुँदाहुँदै सरकारले पर्याप्त तयारी नगरेको विज्ञहरू बताउँछन्।
विपद् व्यवस्थापन विज्ञ गंगालाल तुलाधर पूर्व जानकारी हुँदा समेत क्षति न्यूनीकरण गर्न नसक्नु आपत्तिजनक भएको बताउँछन्। नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका तुलाधरले विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। अहिलेको विपद् र पूर्व तयारीमा केन्द्रित रहेर तुलाधरसँग हिमालखबरका लागि अर्चना दर्जीले गरेको संंक्षिप्त संवाद :
मौसम पूर्वानुमान महाशाखाले अत्यधिक वर्षा हुने पहिल्यै जानकारी दिई सतर्कता अपनाउन आग्रह गरेको थियो। त्यसका बावजूद किन यति धेरै विपद्का घटना घट्न गएका छन्। यस्तो किन भयो? यसलाई कसरी हेर्नुभएको छ?
मौसम पूर्वानुमान महाशाखाले ‘रेड अलर्ट’ सहितका सूचनाहरू जारी गरेको गर्यै थियो। यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि त्यही अनुसारको सतर्कता जारी गरिसकेको थियो। जिल्ला जिल्लामा पनि त्यही अनुसारको सतर्कता जारी गरिएको थियो।
यति हुँदाहुँदै पनि एकपछि अर्को मानवीय क्षति भइरहेका समाचार आइरहेका छन्। हामीले आकलन नै गर्न नसक्ने परिघटना पनि भइरहेका छन्। यसले हाम्रो विपद् व्यवस्थापनको पाटो कमजोर रहेको देखाएको छ।
क्षति कम गर्न पूर्व तयारी महत्त्वपूर्ण हुन्छ। यति ठूलो घटनालाई मध्यनजर गरेर हामीले पूर्व तयारी गर्न सकेका रहेनछौं भन्ने नै अहिलेको घटनाले सिद्ध गरेको छ। भविष्यमा अझै महाविपत्तिहरू आइलाग्न सक्छन्, त्यसकारण पूर्व तयारीमै ध्यान दिनुपर्छ भन्ने यो घटनाले पाठ सिकाएको छ।
कस्तो खालको तयारी गर्नुपर्थ्यो, के पुगेन?
अहिले मानवीय क्षति भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र मानवीय सहायता सहकार्य गर्ने स्वयंसेवकको टोली पुग्दापुग्दै पनि यी घटना भएका छन्। त्योभन्दा बाहेक थाहै नपाएर पनि दुर्घटना भएका छन्।
यस्तो अवस्थामा पूर्व तयारीको कुरामा प्राधिकरणले के गर्नुपर्थ्यो, सरकारका अरू निकायले के गर्नुपर्थ्यो, जनप्रतिनिधिले के गर्नुपर्थ्यो भन्ने पनि पूर्व तयारीको कुरा आउँछ। डुंगाको माग हुँदाहुँदै पनि पुग्न नसकेको समाचार सुनिरहेको छु। म बाहिर छु। तर सम्बन्धित निकायलाई मैले भनिरहेको छु, उद्धार सामग्रीहरू पुग्न नसक्दा चाहिं अझ मृत्युको संख्या बढ्न गएको छ भन्ने कुरा सुनिन्छ।
यो सुनिरहँदा जुन जुन निकाय पूर्व तयारी अवस्थामा बस्नुपर्ने थियो, त्यो हुन सकेको देखिएन। म के कुरामा जोड दिन चाहन्छु भने, स्थानीय जनप्रतिनिधि सबैभन्दा बढी पूर्व तयारी अवस्थामा रहनुपर्थ्यो। राजनीतिक पार्टीले पनि आफ्ना कार्यकर्ता परिचालन गर्ने कुरामा पूर्व तयारी अवस्थामा रहनुपर्थ्यो। मानवीय सहायता गर्ने निकायहरू पनि तदारुकताका साथ तयारी हालतमा रहनुपर्थ्यो। यो सबै निकाय तयारी अवस्थामा रहन सकेनन् कि भन्ने चर्चा छ।
यसको सम्पूर्ण रूपमा समीक्षा हुन त बाँकी नै छ। तर अहिले यस्तो किसिमको विपत्ति आउँदा हामी सामना गर्ने हालतमा रहेनछौं भन्ने कुरा नै अहिलेको घटनाले पुष्टि गरेको छ।
विपत्तिको पूर्वानुमानका बावजूद तयारी गर्न नसक्नुका कारण केही छन् कि?
कुन कुन ठाउँमा भारी वर्षाको सम्भावना छ भनेर भनिसकेपछि, त्यसको सूचना आइसकेपछि त्यो भारी वर्षाले ल्याउने विपत्ति त यही नै हो। खोलामा बाढी आउने, पाखामा पहिरो जाने भयो। त्यसैले यस्तो सम्भावित खतरापूर्ण ठाउँहरू कहाँ कहाँ छन्, तत् तत् स्थानमा पहिले नै हामी तम्तयार अवस्थामा रहनुपर्थ्यो। त्यो तयारी देखिएन। सम्भावित खतराप्रति लापरवाही र त्यसको पूर्व तयारी नगर्ने हाम्रो संस्कारले गर्दा नै यस्तो भएको हो।
मैले आजभन्दा १५ वर्षअघिदेखि नै आफ्नो आवाज बुलन्द गर्ने ठाउँमा गर्दै आएको छु। त्यो चाहिं संविधानसभामा होस्, चाहे व्यवस्थापिका संसद् होस्, या अरू किसिमका मञ्चहरूमा होस्। हामीले पूर्व तयारीमै जोड दिनुपर्छ भन्दै आएको हुँ। घटना घटिसकेपछिको प्रतिकार्य खोज, उद्धार र राहतमा हामीले जति नै बल गरे पनि त्यसले पुग्दैन। त्यसले राम्रो प्रगति हासिल गर्न सक्दैनौं।
त्यसपछिको पुन:स्थापना र पुनर्लाभका कुरामा पनि हामीले सोचे जतिका परिणाम देखिने गरी काम गर्न सक्दैनौं। तर पूर्व तयारी गर्यौं भने हामीले निश्चय नै प्रतिकार्य, खोज, उद्धार र राहतको वेला राम्रो गर्न सक्छौं।
आपत् परेपछि कसैले गरेन भन्दै आरोप लगाएर औंला ठड्याउनुभन्दा सम्पूर्ण समाज मिलेर अघि बढ्नुपर्छ। एउटा निकायले मात्र केही पनि गर्न सक्दैन। पूर्व तयारीमा धेरै पैसा पनि खर्च हुँदैन। यसमा आमशिक्षा दिने कुरामा राजनीतिक पार्टीले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिन सक्छन्। विश्वविद्यालयमा यसको पढाइ हुन सक्छ। विद्यार्थीलाई तयार पार्न सकिन्छ। अन्य संघसंस्थाहरू पनि त्यही अनुसारले तयार हुन सक्छन्। मिडियाहरू पनि त्यही अनुसारले परिचालित हुन सक्दछन्।
पूर्व तयारी हाम्रो जीवनपद्धति बन्न सक्नुपर्छ। जीवनपद्धति बनाउन नसक्दा अहिले हामीले भोगेको जस्तो विपत्ति भोग्छौं। सचेतना नअपनाउँदा हामीले वर्षैपिच्छे ३५ किसिमका विपत्तिबाट प्रभावित भइरहनुपरेको छ। यो हाम्रो नियति जस्तै भएको छ।
यदि हामीले पूर्व तयारी गरेको भए विपत् आइसकेपछि जसरी मान्छे हताहत भएका छन्, आत्तिएका छन्, रोइकराइ, भागदौड भइरहेको छ, मान्छेहरू बगेर मरिरहेका छन्, डुबेर मरिरहेका छन्, यो खालका घटना अवश्य नै कम हुन्थ्यो।