एकै दिन ६० जनाको मृत्यु, ६४ सम्पर्कविहीन
बाढीपहिरोमा परि देशभर एकै दिन ६० जनाको ज्यान गएको छ भने सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन्।
सशस्त्र प्रहरी बलका अनुसार, देशभर बागमती र कोशी प्रदेशमा ६० जनाको मृत्यु भएको हो। बागमती प्रदेशमा ५३ जना र कोशी प्रदेशमा सात जनाको ज्यान गएको छ। त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
जिल्लागत रुपमा पाँचधरमा पाँच, धनकुटामा दुई, काठमाडौंमा ११, भक्तपुरमा पाँच, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा एक, सिन्धुपाल्चोकमा दुई र दोलखामा दुई जनाको ज्यान गएको छ।
त्यस्तै, बाढीपहिरोमा परि ६४ जना हराएका छन्। बागमती प्रदेशमा ५२, कोशीमा नौ, लुम्बिनीमा दुई र मधेश प्रदेशमा एक जना हराइरहेका छन्। बागमतीमा हराएका ५२ जनामध्ये २१ जना काठमाडौं उपत्यकामै हराएका हुन्।
हराइरहेका ६४ जनामा पाँचधरमा पाँच, झापामा चार, महोत्तरीमा एक, काठमाडौंमा ६, ललितपुरमा १५, काभ्रेमा १६, सिन्धुलीमा एक, धादिङमा तीन, मकवानपुरमा ६, दोलखामा पाँच र रुपन्देहीमा दुई जना छन्।
बाढीपहिरोमा परी ३४ जना घाइते भएका छन्। घाइते हुनेमा बागमती प्रदेशमा ३३ र कोशी प्रदेशमा एक जना छन्। यसमध्ये १५ जना काठमाडौं उपत्यकामै घाइते भएका हुन्।
सुरक्षाकर्मीले दुई हजार १०३ जनाको उद्धार गरेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा एक हजार ४५७ जनाको उद्धार गरिएको छ। त्यस्तै, उपत्यकाभन्दा बाहिर बागमती प्रदेशमा १४४, कोशीमा ५०१ र मधेश प्रदेशमा एक जनाको उद्धार गरिएको छ।
तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बागमती र कोशीमा धनजनको क्षति गरेको छ। मधेश, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।