माथिल्लो तामाकोशी बाँधस्थलमा पाँच जना सम्पर्कविहीन
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा पाँच जना हराएका छन्।
अविरल वर्षापछि आएको पहिरोमा परेका उनीहरूको अवस्था अज्ञात रहेको आयोजनाले जनाएको छ। दोलखाको बिगु गाउँपालिका-१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको नियन्त्रण भवनमा कार्यरत आयोजनाका दुई कर्मचारी, नेपाली सेनाको गरुडदल गणका दुई जवान तथा एक जना सुरक्षा गार्डको अवस्था अज्ञात छ।
आयोजनाले गरुडदल गणलाई पत्र लेखेर अविलम्ब हेलिकोप्टर वा अन्य उपायद्वारा उनीहरूको खोजी गरिदिन अनुरोध गरेको छ। आयोजनाले उद्धार कार्यमा प्रयोग हुने हेलिकोप्टरको खर्च समेत बेहोर्ने जनाएको छ।
पहिरोका कारण आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुगेको छ। माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोका (गेट) खोलिएका छन्।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण संरचनामा ठूलो क्षति भएको आयोजनाले जनाएको छ।