‘खराब मौसमले गर्दा हेलिकोप्टरबाट उद्धार गर्न सकिएको छैन, सबै सजग हौं’
खराब मौसमका कारण हेलिकोप्टरबाट समेत उद्धार गर्न नसकिने अवस्था भएकाले सबैलाई सजग रहन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले अनुरोध गरेको छ।
ललितपुरको नख्खुमा एउटा टहरामाथि उद्धारका लागि कुरिरहेका चार जनालाई केही घन्टाअघि बाढीले बगायो। चारमध्ये तीन जनाको उद्धार गरिएको छ भने एक जना हराइरहेका छन्। उद्धार गरिएका तीनै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
चार जना टहराको छानोमा बसिरहेको र उद्धारको पर्खाइमा रहेका भन्दै स्थानीयले फेसबूकमा ‘लाइभ’ गरेका थिए। फेसबूक लाइभ गरेरै देखाएको आधा घन्टासम्म पनि उद्धारका लागि कोही नपुगेको स्थानीयले गुनासो गरेका छन्।
उद्धारमा ढिलाइ भएपछि बाढीले टहरा भत्कियो। छानोमा रहेका चारै जना बगे।
काठमाडौं उपत्यकामै समयमा उद्धार नगरेको भन्दै आलोचना भइरहेको छ। किन उद्धारमा ढिलाइ भयो?
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणका प्रवक्ता डा. डिजन भट्टराई डुबान क्षेत्रमा उद्धार गर्न तत्कालै हेलिकोप्टर तयार गरिएको भए पनि प्रतिकूल मौषमका कारण उद्धार गर्न नसकिएको बताउँछन्। “अहिले पनि धेरै स्थानमा पानी परिरहेको छ। सबै स्थानमा उद्धार गर्न हेलिकोप्टर अहिले पनि पुग्न सकेको छैन। त्यसैले ५० भन्दा बढी डुंगा विभिन्न स्थानमा परिचालन गरेका छौं,” भट्टराई भन्छन्, “खराब मौसमका कारण हेलिकोप्टर समेत उद्धार गर्न सकिएको छैन, त्यसैले सबै सजग भएर बसौं।”
उनका अनुसार काठमाडौं उपत्यकामा नेपालीका सेना १० वटा, शसस्त्र प्रहरीका २० र नेपाल प्रहरीका १० डुंगा उद्धारमा खटिएका छन्। सबैभन्दा धेरै डुंगा बल्खु र बागमती किनार क्षेत्रमा परिचालन गरिएका छन्। उद्धार र व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
तीन दिनदेखिको झरी अझै थामिएको छैन। आज दिनभरि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबारदेखि विस्तारै मौसम खुल्दै जाने विभागको आकलन छ। त्यतिञ्जले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।