माथिल्लो तामाकोशीमा क्षति, बिजुली उत्पादन बन्द
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्याएको छ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोका (गेट) खोलिएका छन्।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेशमार्गमा पर्ने खोलाहरूमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेकोे बताए।
गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट लगायत संरचनामा क्षति पुर्याएको अनुमान गरिएको बताए। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा, लेदो थुप्रिएको छ।
नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो। अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा बहाव ४६१ क्युसेक छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरीदबिक्री सम्झौता बमोजिम नदीमा पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्नेछ। शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो।