बाढीपहिरोमा परी देशभर ३० जनाको मृत्यु
लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन्।
पछिल्ला तीन दिनयता परिरहेको झरीले सबैभन्दा बढी काठमाडौं उपत्यका प्रभावित भएको छ। उपत्यकाका तीन जिल्लामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले बताए। काठमाडौंमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको छ।
एसएसपी घिमिरेका अनुसार काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी ११ जना घाइते भएका छन्। त्यस्तै, पाँच जना हराइरहेका छन्। सुरक्षाकर्मीले उपत्यकाका विभिन्न स्थानबाट ९२८ जनाको उद्धार गरेको छ।
त्यस्तै, काठमाडौं बाहिर बाढीपहिरोमा परी नौ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार काभ्रेपलान्चोकमा तीन, पाँचथर र धनकुटामा दुई-दुई, झापा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ।
काभ्रेमा १०, पाँचथरमा पाँच, झापामा चार, धादिङ र मकवानपुरमा तीन–तीन जना हराइरहेको सशस्त्र प्रहरीले जनाएको छ।