एन्फा एकेडेमीका तीन विद्यार्थीको मृत्यु, तीन बेपत्ता
मकवानपुरको सिस्नेरीस्थित एन्फा एकेडेमीमा रहेका तीन विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
अखिल नेपाल फूटबल संघले सञ्चालन गरेको एन्फा एकेडेमीमा यू-१४ क्याम्पका ४० विद्यार्थीलाई राखिएको थियो। उनीहरूमध्ये ६ जना पहिरोमा परेका थिए। तीन जनाको शव भेटिएको र तीन जना हराइरहेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले बताए।
संयोजक ठकुरीका अनुसार कुलेखानी जलविद्युत् केन्द्रको बाँधका दुई वटा ढोका खोलेपछि नदीमा पानीको सतह बढेको थियो। त्यसपछि एन्फा एकेडेमीबाट भाग्ने क्रममा उनीहरू पहिरोमा परेका हुन्।
एकेडेमीमा रहेका अनुपम घलान (मकवानपुर), आदित्य वलम्पाकी (सर्लाही), रियान्स आचार्य (काठमाडौं), सुमन योन्जन (मकवानपुर), विकल रेग्मी (निजगढ, बारा) र दिवस बानियाँ (मकवानपुर) पहिरोमा परेको संयोजक ठकुरीले बताए। अन्य ३४ विद्यार्थी सकुशल रहेको उनले जानकारी दिए।
“कुलेखानीको पानी ओभर फ्लो भयो, भाग्ने क्रममा ती विद्यार्थीले छोटो बाटो रोजेर हिंडे। तर उनीहरू नै हिलोमाटोमा परे। त्यसपछि बगाएको रहेछ,” संयोजक ठकुरीले भने।
एन्फाले गत वर्ष सिस्नेरीको वत्सलादेवी माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यार्थीलाई एकेडेमीमा राख्दै आएको छ।
उनीहरूको खोजीका लागि प्रहरी टोली खटिएको छ। बाटो अवरुद्ध भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।