मनसुनी झरीले जनजीवन प्रभावित (तस्वीरहरू)
मनसुनी झरीले देशभरका विभिन्न स्थानमा बाढीपहिरो गएको छ भने जनधनको क्षति भएको छ।
तीन दिनदेखिको लगातारको वर्षाले नदी तथा खोलानालामा बाढी आएको छ। नदी किनारका बस्ती डुबानमा परेका छन् भने जनजीवन प्रभावित छ।
देशका प्रमुख नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। कोशी, नारायणी, बागमती लगायत नदीमा जलस्तर बढेको छ।
कुलेखानी जलाशय भरिंदा दुई वटा ढोका खोलिएका छन्। बिहीबार बेलुकासम्म एक हजार ५२६ मिटर रहेको पानीको सतह शनिबार एक हजार ५३० मिटरमा पुगेपछि बाँधको सुरक्षार्थ दुई वटा ढोका खोलिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।
जसले गर्दा बागमती नदीको बहाव क्षेत्रमा जलस्तर बढेको छ। “पानीको सतह एक हजार ५३० मिटरमा स्थिर गर्नुपर्ने हो, तर वर्षा जारी रहेकाले ढोका अहिले पनि खुला छ,” घोषले भने, “वर्षा कम भयो भने ढोका बन्द गर्छौं।”
यस्तै, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध छन्। नेपाल प्रहरीका अनुसार ३६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।