पहिरोमा पुरिएर ललितपुरमा चार जनाको मृत्यु
अविरल वर्षासँग आएको पहिरोमा पुरिएर ललितपुरमा चार जनाको मृत्यु भएको छ।
ललितपुरको टाहाखेलमा दुई जनाको र गोदावरी नगरपालिका-३ टौखेलमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ। गोदावरी नगरपालिका-१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्युु भएको छ।
त्यस्तै, गोदावरी-३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ।
महाङ्काल गाउँपालिका-३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल-३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन्,” उनले भने।
बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ। “बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ,” उनले भने।