अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुः गृह मन्त्रालय
गृह मन्त्रालयले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।
निरन्तर वर्षाका कारण नदीहरूमा जल सतहले खतराको तह पार गरेको र यो अझै बढ्न सक्ने भएकाले घरमै सुरक्षित बस्न मन्त्रालयले आग्रह गरेको हो। “अत्यावश्यक काम नपरी आवतजावत नगर्नु होला,” मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हिमालखबरसँग भने, “नदी तटीय क्षेत्रमा बसोबास गर्ने लगायत सबैलाई पूर्ण सर्तक रहन अपील गर्दछौं।”
नागढुंगा क्षेत्रमा अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालित भएको पनि तिवारीले जानकारी दिए। पहिरो र रुख ढलेर सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सयौं यात्रु अलपत्र परेका छन्।
राससका अनुसार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो।
यस्तै जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध छ। नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो।
रसुवाको स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका छन्। काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।