देशका १०१ स्थानमा सतर्कता तहभन्दा धेरै पानी, नदी किनारका बस्ती जोखिममा
तीन दिनदेखि देशैभर अविरल झरी परिरहेको छ भने मौसमविद्ले आइतबारसम्मै पानी पर्ने देखिएको उल्लेख गरेका छन्।
देशका कैयौं स्थानमा अस्वाभाविक पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका १०१ वर्षा मापन केन्द्रमा सतर्कता तहभन्दा धेरै पानी परेको छ।
शनिबार बिहान ६ः२० को मापन अनुसार २६९ स्वचालित वर्षा मापन केन्द्रमध्ये १०१ वटामा सतर्कता तहभन्दा धेरै पानी परेको रेकर्ड भएको हो।
विभागले एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोका लागि अलर्ट जारी गर्ने गर्छ। पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा धेरै ३५२.२ मिलिमिटर पानी परेको छ।
त्यस्तै, मकवानपुरको दामनमा ३३०.४ मिलिमिटर, काभ्रेको खोपासीमा ३१५ मिलिमिटर पानी परेको छ। ललितपुरको लेलेमा २८९.६ मिलिलिटर पानी परेको छ।
जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी सूचना निकालेर पूर्वमा अरुण नदीदेखि पश्चिममा वाणगंगा (कपिलवस्तु)सम्मका नदी जलाधार क्षेत्रमा बाढी आउन सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरेको छ। सुनकोशी र बागमती लगायत नदीले खतराको तह पार गरिसकेका छन्।