कुलेखानी जलाशय भरियो, गेट आंशिक खोलियो
अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ।
जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुई वटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ। पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युतगृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ।
विद्युतगृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो। जलाशययमा पानीको तह समुद्र सतहबाट एक हजार ५३०.९३ मिटर पुगेको छ।
केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार, पानीको तह एक हजार ५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएका छन्। कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरी सहित अविरल वर्षा भइरहेकाले दुई वटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले बताए।
बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दा समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ।