देशैभर झरी, आज पनि अत्यधिक वर्षा हुने
आज पनि देशैभर झरी परिरहेको छ भने तीन वटा प्रदेशमा अत्यधिक वर्षा हुने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेको छ। आज दिनभर पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै र एक–दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी पनि चल्ने जनाएको छ। वर्षासँग हावाहुरी चल्दा जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, आज राति पनि देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागलेको अनुमान छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी समेत चल्ने विभागले जनाएको छ।
लगातारको वर्षाले भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने विभागले जनाएको छ। आज दिनभर र आइतबार दिउँसोसम्म आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक पुगेको छ। अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक पुगेको विभागले जनाएको छ।
त्यस्तै, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको छ। अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप वर्षाको पूर्वानुमान गरिएको छ।