कुलेखानी भरिन लाग्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षाका कारण कुलेखानी जलाशय (इन्द्र सरोवर) भरिने तहमा पुगेको छ।
शुक्रबार साँझ ५ः३० बजेसम्म कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५२६.८ मिटर नाघिसकेको छ। यो जलाशयको उच्चतम सतह एक हजार ५३० मिटर हो।
कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख तरणदत्त भट्टले पछिल्ला केही घन्टामा जलाशयमा पानी थपिने क्रम तीव्र भएको बताए। “अहिलेकै दरमा जलाशयमा पानी थपिइरहे केही घन्टाभित्रै जलाशय भरिन सक्छ, सम्भवतः राति नै भरिएला,” भट्टले भने।
आयोजनाले पूर्ण रूपमा ६० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिरहे पनि जलाशयमा पानी थपिने गति छिटो छ। जसले गर्दा जलाशय भरिएर पानी बाँध माथिबाट पोखिने स्थिति आउन सक्ने भट्टले बताए। उनले पानी थपिने क्रम तीव्र भएमा बाँधका ढोका समेत खोल्नुपर्ने स्थिति आउन सक्ने बताए।
गृह मन्त्रालयले कुलेखानीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सचेतना अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले कुलेखानी बाँध केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको बताए।
उनले भने, “कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई समेत ‘हाई एलर्ट’ मा बस्न हामीले निर्देशन दिइसकेका छौं।”
उनले तल्लो तटीय क्षेत्रका सम्बन्धित निकायलाई यसबारे निर्देशन दिइएको बताए। सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिले समेत तदनुरूप सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन्।
यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा भएकाले कुलेखानी जलाशय छिटै भरिन लागेको हो। गत वर्ष मनसुनमा कुलेखानीको जलसतह एक हजार ५२३.३ मिटर मात्रै भरिएको थियो। २०७९ सालमा भने मंसीरमा मात्रै कुलेखानी भरिएको थियो। यस आयोजनामा वर्षा अवधिमा पानी जम्मा गरेर हिउँदको सुक्खा याममा विद्युत् उत्पादन गरिन्छ।