मनसुन सकिने वेलाको झरीले धानबालीमा असर
मनसुन सकिने वेलामा बिहीबार रातिदेखि देशभर झरी परिरहेको छ। आइतबार बिहानसम्मै झरी निरन्तर रहने आकलन मौसमविद्ले गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घन्टामा देशको पूर्वी क्षेत्र झापा, इलाम, मोरङ सहित ललितपुर, मकवानपुर, पाल्पा, रुपन्देही, पूर्वी नवलपरासी लगायत स्थानमा अत्यधिक वर्षा भएको छ।
पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै पानी झापाको चन्द्रगढीमा २६३.४ मिलिमिटर परेको छ। अविरल वर्षाका कारण कैयौं स्थानको आवागमन रोकिएको छ भने विभिन्न क्षेत्र पनि डुबानमा परेका छन्।
विभागका अनुसार बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणालीका कारण देशैभरि वर्षा भइरहेको छ। मनसुन सकिने औसत मिति नजिकिए पनि मनसुनी प्रणाली सक्रिय रहेकाले यो वर्ष मनसुन ढिलासम्म कायम रहने सम्भावना छ।
सामान्यतया नेपालमा १३ जूनमा मनसुनी वायु भित्रिएर २ अक्टोबरसम्म रहन्छ। यही बीचका ११२ दिनलाई मनसुन अवधि भन्ने गरिन्छ। तर मनसुन बाहिरिने औसत मिति आउन पाँच दिन मात्रै बाँकी रहे पनि मनसुनको सक्रियता कायम छ।
पछिल्ला वर्षमा मनसुन ढिलासम्म कायम रहने प्रवृत्ति देखा परेको छ। गत वर्ष पनि मनसुन १५ अक्टोबर अर्थात् असोज अन्तिम साता मात्रै बाहिरिएको थियो। पछिल्ला पाँच वर्षयता मनसुनी प्रणाली असोजको अन्तिम साता मात्रै बाहिरिएको देखिएको छ।
यो वर्ष पनि अहिलेसम्म दक्षिण-पश्चिम भारतबाट मनसुन नबाहिरिएकाले नेपालमा पनि ढिलासम्मै कायम रहने आकलन छ। भारतीय आकाशबाट मनसुनी वायु हटेको एकाध दिनपछि नेपालबाट पनि बाहिरिन शुरू गर्छ।
मौसमविद् मदन सिग्देल भन्छन्, “अहिलेको प्रणाली सकिएपछि क्रमशः मनसुन बाहिरिन थाल्ने अनुमान छ। सम्भवतः दशैं अगाडि नै मनसुन बाहिरिन सक्छ।”
यो वर्ष मनसुनमा औसतभन्दा बढी पानी परेको छ। विभागले मनसुन अवधिको मौसमी प्रक्षेपणमा यो वर्ष बढी पानी पार्ने आकलन गरेको थियो।
विभागका अनुसार यो वर्ष विगतको औसतभन्दा बढी पानी परिसकेको छ, जबकि मनुसन सकिने अझै टुंगो छैन। असोज ११ को बिहानसम्म देशभरमा सरदरमा एक हजार ५८६.३ मिलिमिटर पानी परेको छ। यो विगतको सरदरका तुलनामा १०७.२ प्रतिशत हो।
असोज १३ गतेसम्म पर्ने आकलन गरिएको झरीका कारण यो वर्ष विगतको सरदरभन्दा एकचौथाइसम्म बढी पानी पर्ने सम्भावना छ। काठमाडौंमा त अहिलेसम्म नै विगतको सरदरका तुलनामा एकतिहाइभन्दा धेरै पानी परिसकेको छ।
धानबालीमा असर
समयमा नै बढी वर्षा भएका कारण यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन बढ्ने आकलन गरिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टरमा रोपाइँ भएको थियो। यो धान खेती हुन सक्ने अनुमान गरिएभन्दा २० हजार हेक्टर थोरै हो।
यद्यपि समयमा नै पर्याप्त वर्षा भएकाले यो वर्ष धानको उत्पादन बढ्ने आकलन गरिएको थियो। कृषि विभागका प्रवक्ता डा. अरुण काफ्ले यो वर्ष अहिलेसम्मको मौसम धान खेतीका लागि राम्रो भए पनि हिजो रातिदेखिको अविरल झरीले भने चिन्ता बढाएको बताउँछन्। “अहिलेको झरीले धानबालीलाई कति असर गर्छ भनेर आकलन त गरिसकेका छैनौं, तर केही न केही असर भने गर्छ,” डा. काफ्ले भन्छन्।
अहिले छिटो रोपाइँ सकिएका तराईका कतिपय स्थानमा धान काट्ने वेला शुरू भएको छ। खेतमा धान पहेंलपुर छन्। अविरल झरी पर्दा पाकिसकेको धानमा असर पर्छ। विभागले करीब १० प्रतिशत खेतमा धान पाक्ने वेला भएको बताएको छ।
अर्कातिर, जल तथा मौसम विज्ञान विभागले कैयौं स्थानमा हावाहुरी पनि आउन सक्ने चेतावनी दिएको छ। झरीमा हावाहुरी समेत थपियो भने त्यसले धानका बोटलाई ढालिदिन्छ, जसले गर्दा पाकिसकेको धान खेतैमा झर्न पुग्छ।
मध्यपहाडका कैयौं स्थानमा भने अहिले धानका बोटमा फूल लाग्ने वेला भएको छ। फूल लाग्ने वेला पानी पर्दा बोटबाट फूल झारिदिन्छ। जसको परिणाम धानमा फल लाग्न पाउँदैन र भुस भरिन्छ। विभागका प्रवक्ता काफ्ले भन्छन्, “लगातार वर्षा हुँदा धानमा लागेको फूल झारिदिएर परागसेचनमा असर गर्छ। त्यसैले फूल लाग्ने वेला भएका धान खेतमा अहिलेको पानीको ठूलो असर हुन्छ।”
नेपालमा धान प्रमुख कृषि बाली हो। देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको भूमिका करीब एकचौथाइ छ। कृषि क्षेत्रको उत्पादनमा धान बाली एक्लैको भूमिका २० प्रतिशत हाराहारीमा छ। देशका लाखौं किसान परिवारको पनि जीविकोपार्जन र आम्दानीको मुख्य स्रोत धान हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फलेको थियो। यो अहिलेसम्मकै उच्च धानको उत्पादन हो। नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.९८ मेट्रिक टन छ।