लैंगिकता र साहित्य
विश्वपूँजीवादले महिलालाई उपभोग र बजारको माध्यम मानिरहेको सन्दर्भमा पूँजीवादी समाजका महिलाका रूपमा नेपाली लैंगिक आन्दोलन अझै पनि नारीकै वरिपरि छ।
लैंगिकता आजको बौद्धिक विमर्शको एउटा महत्त्वपूर्ण पक्ष हो। प्राज्ञिक संसारमा हिजोआज यसबारे पर्याप्त चर्चा हुने गरेको छ र नेपाली बौद्धिक जगत् पनि लैंगिक बहसमा केन्द्रित छ। महिला-पुरुषबारेका पुस्तक प्रकाशन भएका छन् भने नारी आन्दोलनमा आधारित सर्वेक्षण, पुस्तक र अनुसन्धान पनि निरन्तर भएका छन्। स्कूल तहदेखि उच्चशिक्षासम्म यसका पाठ्यक्रम तयार भएका छन्, पाठ्यपुस्तक लेखिएका छन् र पठनपाठन पनि भएको छ। बौद्धिक बहससँगै यसले नेपाली बजारमा पनि स्थान पाएको छ भने नारी पत्रिका, विशेषांक र समसामयिक संकलन पनि प्रकाशन भएका छन्।
यति भएर पनि नारीमाथिको शोषण र अन्याय जस्ताको तस्तै छ। नारी निरन्तर बलात्कृत भएकी छ, उसको हत्या भएको छ र सबै प्रकारका शोषण र दमनको शिकार उही भएकी छ। सरकारले पनि नारीका पक्षमा संविधान बनाएको छ, कानून ल्याएको छ र नारीमुक्तिका विषयलाई पहिलो सूचीमा राखेको छ। यति भएर पनि नेपालदेखि अमेरिकासम्म नेपाली नारीको उत्पीडन सकिएको छैन। यस दृष्टिले लैंगिक विषय मूलतः नारीको विषय भएको छ भने पुरुषका पीडा र यातनाका सन्दर्भमा यसले पुरुषलाई पनि विषय बनाउन थालेको छ।
साहित्य सौन्दर्यात्मक अभिव्यक्ति भएर पनि यसमा सामाजिकताको अभिव्यक्ति हुन्छ, किनभने लेखक समाजमा जन्मन्छ र त्यही अनुभवमा बाँच्छ। लेखकका अनुभवमा नेपाली समाजका सांस्कृतिक र राजनीतिक संचेतनाको विकास भए पनि पितृसत्ताको अवस्थामा परिवर्तन आएको छैन। लैंगिक चिन्तनमा देखिने पछौटे स्वर अझसम्म कायम छ र यसले सामाजिक सञ्जाल र लेखनलाई पनि प्रभावित पारेको छ। साहित्यमा नारीको सकारात्मक छवि तथा महिलाका भूमिकाको चित्रणको शैलीमा धेरथोर परिवर्तन आए पनि यसले क्रान्ति वा परिवर्तनको स्वरूप प्राप्त गरेको छैन। पाठ्यक्रममा साहित्यिक पाठको चित्रण र चयनमा समेत लैंगिक पक्षलाई ध्यान दिइएको छैन भने उच्चशिक्षाका पाठमा त पुरुष वर्चस्व तीव्र नै रहेको छ। चित्रको चयन होस् वा कलाको निर्माण सबैमा यही प्रवृत्ति छ। पितृसत्तात्मक अवधारणा र मूल्यलाई चुनौती दिने लेखनलाई अझै पनि पूर्ण महत्त्व दिइएको छैन।
पितृसत्ताको यस वर्चस्वलाई चिर्न नेपाली सिर्जनाको स्वरूप, चिन्तन र विचारधारामा परिवर्तन आवश्यक छ भने यतातिर पनि महिलाहरू र सचेत पुरुषको ध्यान जान थालेको छ। पितृसत्तात्मक मूल्यलाई चुनौती दिएर लेख्ने लेखकको संख्या निरन्तर बढ्दो छ भने त्यस्ता विभेदकारी प्रतिमानलाई चिनेर प्रश्न गर्ने प्रवृत्तिको पनि विकास भएको छ। नेपालको यही आधुनिक सामाजिक-सांस्कृतिक पृष्ठभूमिमा आधारित हुँदै यस समालोचनात्मक लेखमा लैंगिकता र साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्षको विश्लेषण प्रस्तुत गरिएको छ।
लैंगिकता र सामाजिक पक्ष
समाज कसरी र कहाँ टिकेको छ भन्ने प्रश्नले समाज र लैंगिकताको पहिचान गरिन्छ। नारीवादी दृष्टिकोणले विश्वमा लैंगिकता भनेको जहींतहीं रहेको त्यस्तो सोपानक्रम हो जसमा सामाजिक व्यवस्था टिकेको हुन्छ र ‘पुरुष’ र ‘महिला’ जस्ता परिचय चिह्नका साथ बाँच्नु भनेको दुई अलग अलग सत्यका साथ बाँच्नु भन्ने हुन्छ (Menon, N. (2012), Seeing Like a Feminist, London: Penguin, Pg. viii)। समाजले नारीवाद र लैंगिकताका भिन्न विशेषण दिएको छ जसलाई हामी व्यवहारमा पनि सुनिरहेका र भोगिरहेका हुन्छौं। समाजमा नारी हुनु र पुरुष हुनुका केही भिन्न अवस्था छन् र तिनलाई समाजले यही भिन्नताका रूपमा चिनाएको छ। वर्चस्वका दृष्टिले सत्ताद्वारा उत्पीडित हुनु र शक्तिका दृष्टिले निर्बल हुनु भन्ने परिचयका साथ समाजले नारीलाई हेरेको छ। हुन त समाजमा पुरुषका सामाजिक पीडा पनि छन्, तर महिला हुनुका कारण महिलाले भोगेका पीडा पुरुषका भन्दा दर्दनाक, दु:खद र विभेदकारी पनि रहेका छन् (Menon, Pg. viii)।
यसरी लैंगिकता पुरुष र महिलाको पहिचान हो र यसमा महिला हुनुका नाताले महिलाका र पुरुष हुनुका नाताले पुरुष विशेषता रहेका हुन्छन्। जसलाई नारीत्व र पुरुषत्वका रूपमा पनि लिने गरिएको छ। समकालीन युग र समाजमा यसलाई यौनिकताका रूपमा पनि लिइन्छ जसले बहुयौनिकता, विपरीतलिंगी, समलिंगी र परिवर्तित लिंगीलाई बुझाउने गरेको छ। लैंगिकताका विविध पहिचान भए पनि पुरुष र महिलाका बीचको भिन्नता लिंगगत, जीववैज्ञानिक वा प्राकृतिक नभएर सामाजिक निर्मितिका रूपमा रहेको छ भन्ने मान्यताका केन्द्रमा नै लैंगिकतालाई लिने गरिएको छ (Murfin, R. & Ray, S. M. (2018), The Bedford Glossary of Critical and Literary Terms (Fourth Edition), Boston, New York: Bedford/ St. Martin’s MacMillian Learning, Pg. 389)। मानवीय जीवका रूपमा महिला र पुरुष बराबर भए पनि सामाजिक रूपमा यी दुईका बीचमा भिन्नता छ। यही कारण लैंगिकताको विषय मानव अध्ययनको विषय नभएर महिला अध्ययनको विषय बनेको छ (Davis, K., Evans, M. & Lorber, J. (2006), 'Introduction', Handbook of Gender and Women’s Studies (Ed. Kathy Davis, Mary Evans and Judith Lorber), London, Thousand Oaks, New Delhi: Sage Publications, Pg. 2) भने यसलाई मानवले मानवमाथि गर्ने दमन र उत्पीडनका सन्दर्भबाट अध्ययन गर्ने गरिएको छ। समाजका संस्थागत एकाइ र संरचना तथा त्यसका ज्ञाननिर्माण र उत्पादनमा समेत महिलालाई दमन गर्ने विचारधाराको निर्माण गरिएको हुँदा लैंगिकता मूलतः महिला अध्ययनको विषयका रूपमा स्थापित सिद्धान्त हो।
लैंगिकतासँग जोडिएको पक्ष व्यक्तिगत नभएर सामाजिक हो। समाजले महिला र पुरुषका लागि भिन्न मान्यताको विकास गरेको छ र त्यस्तो भिन्नता सबै प्रकारका सामाजिक सम्बन्धहरूले प्रस्तुत गरेका हुन्छन् (भट्टराई, रमेशप्रसाद, सांस्कृतिक (वर्गीय, लैंगिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ, २०७७, काठमाडौं : भुँडीपुराण प्रकाशन, पृ. १३९)। यही सम्बन्धका कारण महिलालाई परिवार, शरीर, यौन लगायत दृष्टिले भिन्न तुल्याइएको छ र यसले महिला शोषणका विविध रूपको जन्म भएको छ। यस आधारमा महिला र पुरुषको सम्बन्धलाई यसरी संस्थागत गरिएको छ जुन दमनकारी र वर्चस्वशाली त छ नै जटिल र विभेदकारी पनि छ (Davis, Evans, & Lorber, Pg. ३)।
यसको मुख्य कारण विश्वको ज्ञानको निर्माण र त्यसको नियन्त्रण हो भन्ने कुरा पनि यसमा विचारणीय छ। समाजमा ज्ञान व्यवहारबाट बन्छ र व्यवहारले नै विचारधाराको पनि निर्माण गर्छ। बौद्धिक विश्वमा ज्ञान अन्तरक्रियाबाट बन्छ भन्ने कुरामा सहमति छ र यसले नै सामाजिक विश्वको पनि निर्माण गर्छ। संसारभरि नै पितृसत्ता र यसका रूपहरूको जन्मको कारण पनि पितृसत्ता ज्ञान, समाज, सत्ताको केन्द्रमा रहेर हो। समाज र ज्ञानको विकासले नै लैंगिक विषयलाई सामाजिक-सांस्कृतिक विषयका रूपमा लिन थालियो भने पुरुष र महिला समविकासकै क्रममा महिलाको मात्र नभएर पुरुषका विषय पनि अध्ययनीय छन् भन्ने मान्यताको विकास भयो।
ऐतिहासिक रूपमा समाजमा अंग्रेजी ‘जेन्डर’ (नेपाली लैंगिक, लैंगिक समविकास, सामाजिक लिंग) शब्द व्याकरणिक पद जनाउन प्रयोग गरिन्थ्यो। पश्चिममा ल्याटिन, फ्रेन्च, जर्मन भाषामा पनि यही प्रयोजनमा यस शब्दको प्रयोग हुने गरेको थियो। यस आधारमा लिंग पुलिंगी, स्त्रीलिंगी र नपुंसक (वर्तमानमा निषिद्ध शब्द) गरी तीन प्रकारका हुन्छन्। पश्चिममा नामको वर्गीकरणका रूपमा लिंगलाई हेरिन्थ्यो। यसको ल्याटिन रूप ‘जेनस’ ले चाहिं जन्म, परिवार र राष्ट्र भन्ने अर्थ दिन्थ्यो भने यसले व्यापक अर्थमा ‘प्रकार’ वा ‘अन्तर’ को अर्थ पनि दिने गर्थ्यो। चौधौं शताब्दीपछि चाहिं यसले पुरुष-महिला अर्थ दिन थाल्यो भने बीसौं शताब्दीमा मात्र यसले सामाजिक-सांस्कृतिक सन्दर्भमा महिला र पुरुष निर्मितिका अर्थमा लिन थालियो।
बीसौं शताब्दीपूर्व महिला र पुरुषको सामाजिक जीवन र व्यवहारलाई स्वाभाविक रूपमा हेरिन्थ्यो। अझ धार्मिक रूपमा यसलाई ईश्वरीय वरदानका रूपमा लिने प्रचलन पनि थियो। यही कारण परम्परागत लैंगिक भूमिका निर्धारित भयो र लैंगिक विभेद पनि संस्थागत भयो। बीसौं शताब्दीमा आएको लैंगिक जागरण र प्रतिरोधपछि मात्र यसलाई नयाँ रूपमा लिन थालियो। लैंगिकता सम्झौता नभएर असहज सामाजिक व्यवस्था हो भने प्राकृतिक व्यवहार नभएर सामाजिक व्यवहार हो भन्ने कुरामा पनि सहमति भयो। यही कारण समाजमा लैंगिक बौद्धिक विमर्श आवश्यक भयो र यसको सिद्धान्त पनि विकास भयो।
लैंगिकता र ऐतिहासिक सन्दर्भ
पूर्व र पश्चिम दुवैतिर नारीलाई हेर्ने दृष्टिकोणमा साम्य र वैषम्य भेटिन्छ। पूर्व र पश्चिम दुवैतिरका प्रमाण र साक्ष्यबाट प्राचीन आदिम युगीन समाज मातृप्रधान थियो भन्ने प्रमाणित भएको छ। एकनिष्ठ विवाहको परम्परा र निजी सम्पत्तिको उत्पत्तिसँगै समाजमा पितृसत्ताको उदय भयो। यसले महिला-पुरुषका बीच विभेद प्रारम्भ गर्यो। दासयुगीन परम्परामा महिलाका सीमित अधिकार रहे पनि सामन्तवादको विकाससँगै महिलामाथि दमनका आधार तय भए र महिलालाई दोस्रो दर्जा दिन थालियो। शील, नैतिकता, मर्यादा, यौन, शरीर, मातृत्व जस्ता नारी प्रतिमान तयार भए र सामन्ती पितृसत्तात्मक नैतिक प्रतिमानलाई महिलाले पालना गर्नै पर्ने नियम र कानून बने। यस पितृसत्तात्मक नैतिकतालाई बाँध्ने दर्शन बने र दार्शनिकहरूले यसलाई सिद्धान्तमा ढाल्ने काम गरे। यसरी समाज मातृप्रधानबाट पितृप्रधान बन्न पुग्यो।
पश्चिममा यही परम्परा प्लेटोदेखि नै शुरू भयो। प्लेटोपछिका पाश्चात्य चिन्तनमा यही निरन्तरता रह्यो भने यसैलाई संस्थागत पनि गर्दै लगियो। पश्चिमका वैचारिक र दार्शनिक अध्ययन तथा दार्शनिकका चिन्तनबाट नारीहरूले भोगेका पितृसत्ताको दमन र उत्पीडन तथा विद्रोह र प्रतिरोधका बारेका धारणा स्पष्ट हुन्छन्। प्लेटोले महिलालाई आवेगशील मानेका छन् र आदर्श गणराज्यमा तिनलाई नेतृत्व दिन नहुने मान्यता प्रस्तुत गरेका छन् (Jawin, A. (2012), The Ideal Role of Women in Plato’s and Aristotal’s Societies. A Thesis Submitted for the Degree of PhD at the University of St. Andrews, Pg. 8)। प्लेटो स्त्रीको क्षमता र योग्यताबारे नकारात्मक विचार राख्थे। उनी महिलालाई दास सरह वा दासकै श्रेणीमा राखेर उनीहरूलाई दार्शनिक चिन्तन र बहसबाट बाहिर राखिनुपर्छ भन्ने मान्यता राख्थे।
प्लेटोका सबै लेखन संवादमा आधारित छन् र उनका संवादमा महिलाको नभएर पुरुषको मात्र उपस्थिति रहेको छ। प्लेटोका शिष्य अरिस्टोटलले पनि महिलाको भूमिकालाई भातभान्सा र बच्चाको स्याहारसुसारमा सीमित गरेका छन्। उनका दृष्टिमा महिला असल हुन्नन् भन्ने त होइन, तर उनको असलपन नमनीयता, आज्ञाकारिता, सहिष्णुता र सेवाभावबाट प्रकट हुन्छ र उनमा यी सबै गुण हुनुपर्छ (Jawin, Pg. 118)। अरिस्टोटल महिलालाई पुरुषभन्दा कमजोर देख्छन् र कतिपय अवस्थामा पशुहरू जस्तै भावना भएका समेत हुन्छन् भन्ने धारणा राख्छन्।
पश्चिमी दर्शन परम्परामा लामो समयसम्म महिलालाई विवेकहीन, आवेगी र पुरुषलाई विवेकी र संयम देख्ने परम्परा कायम रह्यो। यसको प्रभाव प्रबोधनकालीन दार्शनिक देकार्त, कान्ट आदिमा पनि परेको छ। देकार्तले स्त्रीलाई घरभित्र सीमित रहने प्राणीका रूपमा चित्रण गरेका छन् भने कान्टले महिलालाई शृंगार मात्र उपयुक्त हुने धारणा प्रस्तुत गरेका छन् (अनामिका, स्त्रीत्व का मानचित्र, सन् २००२, पृ.२०–२१)। जोन स्टुआर्ट मिलले महिला उत्पीडन र दमनका विषयमा शक्तिशाली खोज गर्दै महिलालाई मताधिकार, शिक्षा र रोजगारका अधिकारमा समानता हुनुपर्ने कुरामा आवाज उठाएका छन्। पश्चिममा मार्क्सवादी दर्शनको अभ्युदय भएपछि महिला र महिलाको शोषणका बारेमा सकारात्मक दृष्टिकोणको विकास भएको छ।
मार्क्सवादले वर्गका सापेक्षतामा महिलालाई पनि हेरेको छ, तापनि पितृसत्तालाई महिला उत्पीडन दमनको एक मात्र आधार मानेको छ। होमस्ट्रोमका अनुसार पश्चिममा नारी-पुरुष समान अवसरका बारेमा सचेत आवाज उठाउने काम म्यारी उल्सनक्राफ्टले आफ्नो पुस्तक अ भिन्डिकेसन अफ दि राइट्स अफ विमेन (सन् १७९२) बाट गरिन् भने यही मान्यताका आधारमा कार्ल मार्क्स र एंगेल्सले पुरुष-महिला सोपानक्रमिक सम्बन्धमा प्रश्न उठाएर महिला समानताको मार्क्सवादी आधार निर्माण गरे। मार्क्सले इतिहास, समाज र सामाजिक परिवर्तनका सन्दर्भमा लैंगिक र यौनिक विषयका बारेमा चर्चा गरेका छन् भने एंगेल्सले महिला-पुरुष विभेदको कारकका रूपमा निजी सम्पत्तिलाई लिएका छन्।
यसरी मार्क्स र एंगेल्सका मान्यताको ठूलो प्रभाव नारीवादमा परेको छ र यसले परम्परागत पितृसत्तात्मक प्रणालीलाई अस्वीकार गर्ने र नयाँ समाज निर्माण गर्ने नयाँ लैंगिक मान्यतालाई प्रस्तुत गरेको छ (Holmstrom, N. (2011), The Socialist Feminist Project: Contemporary Reader in Theory and Practice, New Delhi: Aakar, Pg. 3)। यसरी शुरूमा महिला शोषण र अधिकारका बारेमा केन्द्रित पश्चिमा लैंगिक अध्ययनले बिस्तारै नारी अधिकार र मुक्तिको विषय बनाएपछि नै नारीवादी संचेतनाका साथै लैंगिकता पनि नारी अध्यययनको मूल बौद्धिक विमर्श बनेको छ।
पूर्वमा नारीको चित्रण परम्परा प्राचीन कालदेखि नै प्रारम्भ भएको हो। ऋग्वेदमा माता तथा अनेक देवीहरूलाई पिताका समानान्तरमा राखेर चर्चा गरिएको छ (कुमार, नरेन्द्र (सन् २०१८), जाति, वर्ग और संस्कृति, मुम्बई : संवाद प्रकाशन, पृ. ४८)। ऋग्वेदकालीन समाज पितृसत्तात्मक रहे पनि महिलाको सामाजिक महत्त्व यस समयसम्म पूर्ण तिरष्कृत थिएन। महिलाहरू आफ्ना मन परेका मानिसलाई पति वरण गर्न स्वतन्त्र थिए भने पुरुष सरह यज्ञमा समावेश पनि हुन सक्थे। यस समयमा महिला र पुरुष दुवैले मासु खान्थे भने मादक पदार्थको सेवन पनि गर्दथे र यहाँसम्म कि कतिपय अवस्थामा नग्न समेत हुने गर्दथे (Kosambi, D.D. (1965), Ancient India : A History of Its Culture and Civilization, Ohio: The World Publishing Company, Pg. 159)।
बिस्तारै यी आर्य कविलामा पितृसत्ताको बलियो स्वरूप निर्माण हुन थाल्यो र यसलाई कुल भन्न थालियो। मातृप्रधान समाजका अवशेषहरूको पनि अन्त्य हुँदै जाँदा परिवारको ज्येष्ठ सदस्य कुलको रक्षक भयो जसलाई कुलप भनिन्थ्यो (झा, द्विजेन्द्रनारायण (सन् २०००), प्राचीन भारत, दिल्ली : ग्रन्थ शिल्पी, पृ. ५१)। यति भएर पनि स्तोत्रहरूमा प्रजालाई सम्बोधन गर्दा पुरुष र महिला दुवैलाई गरिन्थ्यो भने पछिल्लो युगका तुलनामा महिलाहरू सम्मानित नै थिए। आफ्ना पतिका साथ यज्ञमा सामेल हुने स्वतन्त्रता तथा वेदका ऋचाको रचना समेतमा यिनको संलग्नता थियो (ऐजन, पृ. ५१)। सन्तानविहीन र विधवा महिला देवरबाट सन्तान जन्माउन सक्थे भने विवाह नामक संस्था पनि सुदृढ हुँदै थियो। यसरी ऋग्वैदिक कालमा महिलाहरूमाथिको बन्धन र यौन जीवन खुकुलो रहे पनि पितृसत्ताको बन्धन क्रमशः कसिलो हुँदै थियो।
ऋग्वेदमा देवीपूजनको संस्कृतिका अवशेष विद्यमान छन्। ऋग्वेद १०।४।४ मा लेखिएको छ, नारीहरू वेदको घोषणा गर्ने घोषाका रूपमा रहेका छन्। त्यस वेला समाजमा खुला वातावरण थियो, उत्पीडनमुक्त समाजमा उत्सवको वातावरण थियो, युवक-युवती र पुरुष तथा स्त्री समाजका हुने हुनाले प्रणय सम्बन्धको दिशामा जानका लागि पनि मानिसहरू यस स्वतन्त्रताको उपयोग गर्दथे (कुमार, पृ. ४८)। यसरी ऋग्वेदकालीन व्यवस्था पितृसत्तात्मक भए पनि परिवारमा पिताको भूमिका पछिल्लो चरणमा जस्तो थिएन भने पारिवारिक बन्धन पनि खुकुलो रहेको थियो।
भारतमा पितृसत्ताको कठोर बन्धन उत्तरवैदिक कालबाट शुरू भयो। यस कालमा आएर महिलाका ऋग्वैदिककालीन अधिकारमा बन्देज लाग्यो भने पितृपक्षका गोत्रसँगको विवाहमा प्रतिबन्ध लाग्यो। मातृ अधिकारलाई पूर्ण बन्देज लगाइयो भने पुरुषलाई बहुविवाह गर्ने स्वीकृति प्रदान हुनुका साथै महिलाले भने परपुरुषलाई हेर्नु पनि पाप मानिन थाल्यो। सबै धार्मिक अनुष्ठानमा पुरुषको अधिकार रह्यो भने पुरोहित पनि पुरुष मात्रै भए। महिलालाई दासी र सन्तान जन्माउने मशिनका रूपमा लिन थालेको चाहिं निरंकुश सामन्ती व्यवस्थाले नै हो। भारतमा केन्द्रीय निरंकुश सत्ताका रूपमा सामन्तवादको उदय भयो भने यस समयमा महिलाहरू दास बनाइए। समाजमा वेश्यावृत्तिले प्रश्रय पायो भने सामन्ती र राजपरिवारका महिला पनि तीव्र विभेदमा परे। दासप्रथासँगै समाजमा वर्णविभेद शुरू भयो भने वर्गीय विभेद पनि चर्को भयो। यस्तो अवस्था मागध, मौर्यकाल हुँदै गुप्तकालसम्म रह्यो भने त्यसपछि पनि यसको निरन्तरता रहिरह्यो।
भारतीय सामन्ती शोषण, जातीय विभाजन र अछूत वर्गको जन्म तथा महिला शोषण र विभेदको प्रभाव नेपालमा पनि पर्यो। नेपालमा शुरूमा मातृप्रधान व्यवस्था रहेको प्रमाण र साक्ष्य अध्ययन र खोजबाट प्राप्त भएका छन्। पुष्पलालले नेपालका मञ्जुश्री वा नेमुनिलाई आदि पूर्वज नमानी बज्रयोगिनीलाई मानेका छन् (पुष्पलालका छानिएका रचनाहरू भाग- १, काठमाडौं ः मदन आश्रित स्मृति प्रतिष्ठान। पृ. ३१४)। यसलाई पुष्टि गर्ने कार्य काठमाडौं उपत्यकामा रहेका मातातीर्थ, शोभाभगवती जस्ता देवीका मन्दिर र तिनमा गरिने पूजाआजाले पनि गरेका छन्। यसरी प्राचीन कालदेखि नै मातृदेवताको पूजा हुने गरेको सन्दर्भ तथा राजा-महाराजाका इष्टदेवीका रूपमा देवीहरूको पूजा गरेको सन्दर्भलाई यसको अवशेषका रूपमा लिन सकिन्छ (भट्टराई, पृ. ३३४)।
नेपालको इतिहासमा मानदेवकी इष्टदेवी मानेश्वरी र अंशुवर्माकी इष्टदेवी श्रदेवी हुनुले पनि यही कुरालाई पुष्टि गर्छ। नेपालमा मातृप्रधानताको अवशेषका रूपमा जनजातिका व्यवहार र परम्परालाई पनि लिन सकिन्छ। नेपालमा नारीलाई आद्यशक्ति, धर्तीमाता र जगदम्बाका रूपमा मान्नु, नारीलाई कुल प्रमुख मान्नु, परिवारमा नारीको पनि भूमिका र सम्मान हुनु तथा जनजातिका कतिपय समूहमा अझै पनि फुपूचेला र मामाचेलामा बिहेबारी चल्नुले प्राचीन मातृसत्ताको अवशेषका रूपमा यो व्यवहार देखिएका हुन् भन्ने कुराको पुष्टि हुन्छ।
नेपाली समाजमा सामन्तवादको विकास भएपछि पितृसत्तालाई बलियो बनाइयो र मातृअधिकार खोसियो। मातृवंशानुक्रमको सट्टा पितृवंशानुक्रम चल्दै गएपछि पितृउत्तराधिकारीको विकास भयो (भट्टराई, पृ. ३३४)। यस प्रकारको पितृसत्ताको स्थापना नेपालमा पनि केन्द्रीकृत सामन्तवादी राज्यसत्ताको अभ्युदयपछि नै भयो। सामन्ती राज्यसत्ताको उदय हुनु अगाडि नेपालमा रहेका प्राचीन गणराज्य कोलीय, विदेह, किरात र शाक्य गणराज्यमा वंशमा आधारित राजतन्त्रको स्थापना भएको थिएन भने यी गणराज्यमा महिलामाथिका बन्धन पनि त्यति कसिला थिएनन्। नेपालमा लिच्छविकालमा आएर सामन्तवाद सुदृढ भयो भने यही वेलादेखि पितृसत्ता पनि क्रमशः कठोर हुँदै गयो।
सामन्तवादी राज्यसत्ताको जन्मपछि नेपालमा निरन्तर केन्द्रीय सामन्ती सत्ताको बोलवाला रह्यो। वर्ण र वर्गको विषमतासँगै लैंगिक विषमता पनि नेपाली समाजको विभेदका रूपमा देखा पर्यो। हिन्दूवादी मान्यताले पनि नारीलाई पछि पार्यो भने धार्मिक-सामाजिक जागरणको अभावमा नेपाली समाजमा महिलाका प्रतिरोधी स्वरको विकास पनि हुन सकेन। यो अवस्था राणाकाल हुँदै पञ्चायती शासनकाल र अझ लोकतान्त्रिक समयसम्म रहिरह्यो। महिला विद्रोह र मुक्तिका स्वरहरू गुञ्जन थालेको लगभग सय वर्ष पुगे पनि नेपाली समाज लैंगिक विभेदबाट मुक्त हुन सकेको छैन भने लैंगिक प्रश्न अहिले नयाँ कोणबाट उठ्न थालेको छ।
विश्वपूँजीवादले महिलालाई उपभोग र बजारको माध्यम मानिरहेको सन्दर्भमा पूँजीवादी समाजका महिलाका रूपमा नेपाली लैंगिक आन्दोलन अझै पनि नारीकै वरिपरि छ। पुरुष प्रश्न पनि निरन्तर उठ्दो छ, तर मूल प्रश्न त नारी प्रश्न नै बनेको छ। सामाजिक, राजनीतिक तथा ऐतिहासिक दृष्टिका आधारमा नेपाली समाजमा नारीमुक्तिको प्रश्न अहिलेसम्म पनि जीवन्त हुनुले नेपाली समाजको लैंगिक अध्यययन मूलतः नारीपक्षीय नै छ भन्ने कुराको पुष्टि भएको छ।
लैंगिकता : विकास र सैद्धान्तिक विमर्श
लैंगिकता लिंगको सामाजिक-सांस्कृतिक पक्षको अध्ययन हो। लैंगिकतासँग जोडिएका लैंगिक भूमिका, विभेद, उत्पीडन जस्ता शब्द लैंगिक अध्ययनका नयाँ शब्दहरू हुन्। यी शब्द प्रचलनमा आएका दोस्रो विश्वयुद्धपछि मात्र हुन् भने सन् १९८० पछि जेन्डर बेन्डर जस्ता शब्दको प्रयोग हुन थाल्यो (Glover, D. & Kaplan, C. (2007), Genders : London and NewYork: Routledge, Pg. X)।
यस दृष्टिले लैंगिक सन्दर्भ र लैंगिकता जस्ता शब्द नयाँ हुन् भने त्यसअघि नै नारीवाद प्रारम्भ भइसकेको थियो। लैंगिकताको सिद्धान्तको जन्मका पछि नारीवादको भूमिका रहेको छ, तापनि नारीवाद नारीका कोणबाट गरिने सामाजिक-सांस्कृतिक आन्दोलन हो र जेन्डर वा लैंगिकता चाहिं नारी-पुरुष समविकासको नवीन मान्यता हो।
नारीवाद र लैंगिकता
लैंगिकता र नारीवाद आपसमा सम्बद्ध विषय हुन्। नारीवाद बहुल सैद्धान्तिक र राजनीतिक मान्यता हो जसले नारीका पक्षमा एजेन्डा सहित काम गर्छ (Barker, C. & Jane, E.A. (2016), Cultural Studies: Theory and Practice (5th edition), London: Sage Publications, Pg. 343)। नारीवादले पितृसत्ताका कारण सिर्जित नारी समस्याको समाधान खोज्ने हुँदा पुरुषका कारण महिलाले भोग्नुपरेको अधीनताको अध्ययन गर्छ। यसले महिलाको दमनमा सामाजिक संस्था र अभ्यासको संरचनाले कसरी कार्य गरेको छ भन्ने कुरामा आधारित भएर सामाजिक विश्लेषण गर्दछ।
यस आधारमा नारीवादले समाजमा महिलामाथिको व्यवहार र प्रतिनिधित्वको अवस्थाको खोजी मात्र गर्दैन, महिलामाथिका चुनौतीलाई बोध गरी महिलाका पक्षमा संगठन, क्रियाकलाप गर्दै उनीहरूका जीवनको रूपान्तरणको खोजी पनि गर्छ। नारीवाद एउटा राजनीतिक आन्दोलन हो र यसका सिद्धान्त, विधि र उद्धेश्यहरू यही आधारमा निर्धारित छन्। नारीवादले लैंगिक अध्ययनकै आधारमा लैंगिकतालाई सामाजिक-सांस्कृतिक निर्मिति मान्छ। यसले पितृसत्तात्मक सामाजिक व्यवस्थाको पहिचान गरी आजसम्मका सामाजिक आचारसंहिता पुरुषले बनाएको हुँदा महिलाप्रतिको यसको मान्यता भेदभावपूर्ण रहेको कुरालाई स्वीकार गर्छ र पुरुषशासित भएर बाँचेका महिलाको मनोदशाको विश्लेषण गर्छ भने लैंगिक मुक्तिको समाजको कामना गर्छ।
लैंगिकताको परम्परागत मान्यताको आलोचना र प्रतिरोध, महिलाको मन, शरीर, परिवारमा महिलाको अवस्थाको विश्लेषण तथा महिलाको सोच, अनुभव र अनुभूतिलाई ध्यानमा राखी परम्परागत अवस्थाको अन्त्य र सम्मानयुक्त तथा न्यायपूर्ण समाजको स्थापनाको ध्येयबाट नै नारीवादी मान्यताको विकास भएको छ। यसरी समाजमा रहेका महिलाको असमान राजनीतिक परिस्थितिका विरुद्ध प्रश्न उठाउने क्रममा नारीवाद (शब्द होइन, काम मात्रै)को जन्म भएको देखिन्छ र यो महिलाको नागरिकता प्राप्तिको हकसँग जोडिएको छ (त्रिपाठी, सुधा (२०६८), नारीवादी सौन्दर्य चिन्तन, काठमाडौं : भृकुटी एकेडेमिक्स पब्लिकेसन्स, पृ. ६५)। नारीवाद वास्तविक अर्थमा एउटा राजनीतिक आन्दोलन हो। त्यही भएर यसलाई महिलाका लागि महिलाहरूले गरेको राजनीतिक कार्यका रूपमा अर्थ्याइएको पाइन्छ (McCann, C., Kim, S.K., Ergun, E. (2010), Feminist Theory Reader: Local and Globel Perspectives. (Second edition), London & NewYork: Routledge, Pg. 1)। महिलाका लागि गरिएको यस आन्दोलनको मूल ध्येय नै महिला मुक्ति हो।
नारीवादी आन्दोलनका पनि विभिन्न धारा र चरण छन् जसले लैंगिक विषय र आन्दोलनलाई पनि जोड्ने काम गरेको छ। नारीवादी आन्दोलनको पहिलो धार उन्नाइसौं र बीसौं शताब्दीको नारीवादी राजनीतिसँग जोडिएको छ जसले समान मताधिकार (Barker & Jane, Pg. 344) समान ज्याला, शिक्षा र कानूनी अधिकारलाई मुख्य जोड दिएको छ। यस समयका प्रमुख नारीवादी मेरी उल्सटनक्राफ्ट, एलिजाबेथ क्याडी स्ट्यानटोन, सुसान बी. आन्थोनी, सोजेमेर ट्रूथ आदि हुन्। महिला अधिकारका लागि सेनेका फल कन्भेन्सन, मताधिकारको प्राप्ति तथा ज्याला लगायत सुधार यस आन्दोलनका प्राप्ति हुन्। नारीवादको दोस्रो धारको समय सन् १९६० देखि १९९० सम्मको तीस वर्षको अवधि हो।
यस कालमा पनि पहिलो धारमा भन्दा अघि बढेर महिलाले भोगेका सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक लगायत असमानता विरुद्ध आन्दोलन गर्ने कार्य भयो भने प्रजनन अधिकार, कार्यस्थलमा हुने हिंसा, यौनिक स्वतन्त्रता र अधिकार, शरीर राजनीति तथा पितृसत्ता र यसको संस्थागत दमनका विरोधमा आवाज उठाउने कार्य भए। बेट्टी फ्रिडान, ग्लोरिया स्टेनेम, एन्जेला डेभिस, आन्द्रे लोर्द यस समयका शक्तिशाली नारीवादीहरू हुन्। लैंगिकताका ज्वलन्त प्रश्नको उठान गर्दै समविकासको धारणालाई स्थापित गर्ने र त्यसको सैद्धान्तिकीकरण गर्ने कार्य पनि यही समयमा भएको हो। नारीवादको तेस्रो धारको समय सन् १९९० देखि २०१० सम्मको समय हो। यस धारले दोस्रो धारले अघि सारेका धारणा सहित वर्ग, लिंग र यौनिकताको अधिकारमा बढी जोड दियो। लैंगिक समानता र समावेशिता, महिला र यौनिक अल्पसंख्यकका अधिकार तथा पहिचानगत विभाजन, मध्यम वर्गीय महिला लगायतको अध्ययनमा पनि यसको रुचि रह्यो।
यस समयमा नवउदारवादका कारण सिर्जित तथा परम्परावादीहरूले चलाएका विरोधको प्रतिरोधका साथै सन्दिग्ध सिद्धान्त र एलबीजीटीक्यूका मान्यतालाई समर्थन गर्दै यौनिक विविधतालाई सम्बोधन गर्ने कार्य पनि भयो। यस बाहेक लोकप्रिय संस्कृति र सञ्चारका क्षेत्रमा नारीवादी उपस्थिति तथा हस्तक्षेपको धारणा पनि यही समयमा शुरू भयो। रेबेका वाकर, जुडिथ बटलर, क्याथलिन हान्ना, बेल हुक्स यस कालका शक्तिशाली नारीवादीहरू हुन्। नारीवादको चौथो धारको शुरूआत सन् २०१० पछि भयो। मिडिया र इन्टरनेटले यस धारलाई जन्माएको हो भन्ने मान्यता छ। यस समयमा डिजिटल विश्वको प्रभावकारितामा वृद्धि भयो भने ‘मि टु’, अनलाइन हैरानी तथा डिजिटल प्लेटफर्मका माध्यमबाट हुने हैरानी, शरीर र यसको राजनीति, कार्यस्थलमा हुने असमानता, वैश्विक डिजिटल विश्वमा हुने लैंगिक हिंसा र यसको विरोधको स्वरले यस धारलाई जन्माएको हो।
यस बाहेक काला नारीवादी आन्दोलनको थप सशक्तता र ‘ब्ल्याक लाइभ्स म्याटर’ जस्ता आन्दोलनले पनि यस धारलाई अगाडि बढाएका छन्। नारीवाद लैंगिकतासँग जोडिएको विषय भएको हुँदा भाषा, पारिभाषिक शब्दावली, समविकास जस्ता विषय यसैबाट लिइएको छ भने यसका धेरै मान्यतालाई पनि लैंगिक अध्ययनले आत्मसात् गरेको छ। लैंगिक अध्ययन महिला-पुरुष समविकाससँग सम्बन्धित भएको हुँदा यसले समाजमा महिला त दमित छन् नै, पुरुष पनि दमित छन् भन्ने मान्यता प्रस्तुत गर्यो। यही कारण नारीवादकै विषयका रूपमा लैंगिक अध्ययनको विकास भएको हो।
लैंगिक सिद्धान्त
लैंगिक सिद्धान्त सन् १९७० पछि आएको मान्यता हो। शुरूमा यसको प्रयोग सांस्कृतिक र सामाजिक रूपमा हुने लैंगिक भिन्नतालाई देखाउने क्रममा भए पनि सन् १९६० पछि यसलाई यौनिक सन्दर्भ दिन थालियो (Glover & Kaplan, Pg. XIX)। शुरूमा यौनिक विषय र यससँग सम्बन्धित कुरा निषिद्ध जस्तै थिए भने यसपछि चाहिं यौनिकता पनि बौद्धिक विमर्शका रूपमा स्वीकृत भयो। यौनिक स्वतन्त्रता र मुक्तिको विषयले नै समाजमा लैंगिक पहिचानको कुरा उठ्न थाल्यो भने ज्ञान र सचेतता तथा लैंगिक चेतनाको विषय उठान भएपछि लैंगिक भूमिका तथा नारीत्व र पुरुषत्वको बहस पनि शुरू भयो।
मानविकी र समाजशास्त्रका क्षेत्रमा लिंग र लैंगिकताको रेखा कोरियो र यौनिक राजनीति, प्रकृति र संस्कृति, जीववैज्ञानिक र सामाजिक-सांस्कृतिक भिन्नताको बोधका आधारमा महिला र पुरुषका बारेका व्यवहार तथा प्रवृत्तिको समीक्षा भयो। सन् १९७५ मा प्रकाशित टुवार्डस् एन्थ्रोपोलोजी अफ विमेन पुस्तकले सर्वप्रथम महिलाको नृवंशशास्त्रीय अध्ययनलाई नयाँ दृष्टिका साथ प्रस्तुत गर्यो। यस पुस्तकमा ग्याल रुविनले ‘द ट्राफिक इन विमेन : नोट्स अन द पोलिटिकल इकोनोमी अफ सेक्स’ शीर्षकको लेखमा महिला र पुरुषको राजनीतिक सन्दर्भको चर्चा गर्दै लैंगिकताको सिद्धान्तलाई प्रस्तुत गरेका छन्। महिलामाथि हुने दमन लैंगिक सोपानक्रमिक विभेद हो (Rubin, G. (1975), 'The Traffic in Women: Notes on the Political Economics of Sex', An Anthropology of Women (Ed. Rayna Reiter), London and New York: Monthly Review Press, Pg. 157) भन्ने मान्यता राखेका रुविनले यसमा लैंगिक विभेदलाई राजनीतिक र आर्थिक विभेदको विषयका रूपमा प्रस्तुत गरेका छन्।
रुविनको यस लेखलाई अझसम्म पनि लैंगिक असमानता तथा कार्य, नातासम्बन्ध र राजनीतिको उल्लेखनीय विश्लेषण मानिएको छ भने मार्क्सवादी र मनोविश्लेषणात्मक मान्यताको आलोचना सहित विवाह र परिवारका बारेमा लेखिएको नृवंशशास्त्रीय र पहिचानमा आधारित व्यवस्थित खोज पनि मानिएको छ (Glover & Kaplan, पृ. XIX)। यस लेखमा मार्क्स र एंगेल्सका सिद्धान्तमा व्यक्त वर्गीय पक्ष र त्यसले यौनिकतालाई उपेक्षा गरेको सन्दर्भका आधारमा लिंग र लैंगिकताको गहिरो समीक्षा गरिएको छ।
नारीवादकै सापेक्षतामा लिंग र लैंगिकताको भिन्नताको खोजीका क्रममा नै लैंगिक सिद्धान्तको जन्म भएको हो। यही क्रममा लिंगलाई प्राकृतिक मानी लैंगिकतालाई सामाजिक-सांस्कृतिक रूपमा व्याख्या गरियो भने लिंगले सामान्यतः विपरीत लिंग र आकर्षणलाई प्रस्तुत गर्छ भन्ने मान्यता विकसित भयो (Barker & Jane, Pg. 351)। लैंगिकताको यस मान्यतालाई जीववैज्ञानिक मानिन्छ भने सामाजिक-सांस्कृतिक मूल्यका कारण लैंगिक भूमिका र व्यवहारका कारण सिर्जित भेदलाई लैंगिकता भनिन्छ। लिंग र लैंगिकताको यही मान्यतामा नै लैंगिक सिद्धान्तको आधार तयार भएको छ।
लैंगिक सिद्धान्त महिला र पुरुष तथा यौनिकताको सत्तासम्बन्धको विश्लेषणमा आधारित छ। महिला-पुरुषभन्दा भिन्न रूपमा आउने सन्दिग्ध सिद्धान्त र क्रियाकलापले आकर्षण र लैंगिक भूमिकालाई फरक किसिमले लिने गर्छ र यसले समान लिंगसँगको यौनिक व्यवहारलाई प्रस्तुत गर्छ (Barker & Jane, Pg. 351)। यसरी हेर्दा लैंगिक र यौनिक विभाजनको सत्तासम्बन्ध सामाजिक र यौनिक व्यवहारमा आधारित हुन्छ र यही आधारमा नारीत्व र पुरुषत्वको विभाजन शुरू हुन्छ। यसरी लिंग मानिसको सांस्कृतिक र राजनीतिक निर्मिति हो र यसले नै पुरुष र महिला तथा अन्य लिंगीमाथि विभेद गरेको छ। यसरी लिंग र लैंगिकताको विभाजन महिला पुरुषमा मात्र वा विपरीत लिंगीमा मात्र विभाजन गर्ने कुरा पनि आलोच्य बनेको छ र लैंगिक सिद्धान्तमा सन्दिग्ध सिद्धान्तलाई पनि समावेश गरिएको छ।
स्त्रीत्व र पुरुषत्व जस्ता विषय पनि लैंगिक सिद्धान्तका विषय हुन्। स्त्रीत्व नारीवादी लैंगिक चेतना हो र यसले पितृसत्तात्मक मूल्य र मान्यतालाई चुनौती त दिन्छ नै, सँगसँगै पैतृक मूल्य र लिंगभेदको राजनीतिका कारण स्त्रीलाई उत्पीडन गर्ने कारणको पनि खोजी गर्दछ। परम्परादेखि स्त्रीमाथि गरिएका विभेद र विषम लैंगिक भूमिकाका कारण लैंगिक सिद्धान्तमा यसले निर्माण गरेको विमर्श व्यापक छ। पछिल्लो चरणमा पुरुष र पुरुष संस्कृतिका सन्दर्भबाट पुरुषत्व वा पुलिंगी विमर्शको पनि विकास भएको छ। पुरुषत्व त्यस्तो सामाजिक अभ्यास र सांस्कृतिक प्रतिनिधित्व हो जुन पुरुषसँग सम्बन्धित छ (Pilcher, J. & Whelehan, I (2004), Fifty key Concepts in Gender Studies, London, Thousand Oak, New Delhi: Sage Publications, Pg. 82)। पुरुषत्वलाई पुरुष हुनुका नाताले बनेको सांस्कृतिक प्रतिनिधित्वका रूपमा लिइन्छ जुन समाजका बीच वा एउटै समाजभित्रका समूहका रूपमा रहेको हुन्छ।
पुरुषत्वको अध्ययन परम्परा सन् १९८० देखि नै प्रारम्भ भएको हो र यसलाई अहिले लैंगिक सिद्धान्तकै रूपमा लिने गरिएको छ। यसले लैंगिक सम्बन्धमा पुरुषको अवस्था कस्तो रहेको छ भन्ने कुराको अध्ययन गर्दछ (Pilcher, J. & Whelehan, Pg. 82) भने वर्चस्वशाली पुरुषत्वको अध्ययन पनि यसै अन्तर्गत आउँछ। पुरुषत्व अध्ययनले पुरुष पनि समस्यारहित छैन भन्ने मान्यता राख्छ। वारेन फारेलका अनुसार पुरुष ‘डिस्पोजेबल लिंग’ हो र युद्धमा उनीहरू बढी मर्छन् भने महिलाभन्दा बढी आत्महत्या पनि यिनले नै गर्छन् (Barker & Jane, Pg. 376)। पुरुष पनि हिंसाको शिकार हुने गरेको र जेलमा पर्ने गरेको कुराले पनि ऊ समस्यामा छ भन्ने मान्यता पुरुषत्वको सिद्धान्तको छ।
यस बाहेक बस्ने, दिने र कुनै वस्तु प्राप्त गर्ने सीप पनि पुरुषमा नै कम रहेको छ। पुरुष सदैव समस्यामा छ, किनभने उदासीनता, बेचैनी, डिप्रेशन, आत्महत्या, मादक पदार्थ सेवन, ड्रगको सेवन, हिंसा र अपराधको शिकार पुरुष भएको छ र परिवारको जिम्मेवारीको बोझ पनि उसैको काँधमा रहेको छ। यसरी लैंगिक सिद्धान्तले महिलाको मात्र नभएर पुरुषको पनि अध्ययन गर्दछ।
लैंगिकता, पहिचान, प्रतिनिधित्व र प्रतिरोध
स्त्रीत्व र पुरुषत्व लैंगिक विषय त हुन् नै, तर मुख्य कुरा चाहिं यसको प्रमुख पाटो पहिचान र प्रतिनिधित्वसँग जोडिएको छ। लैंगिकताका सन्दर्भमा प्रायः उठ्ने विषय विशेषतः नारीको पहिचान र प्रतिनिधित्व कस्तो छ भन्ने नै हो। पहिचान भनेको अनुभवगत र विषयगत पक्ष हो भने यसले यसले महिलाको सामाजिक अवस्थामा उनीहरू अरूभन्दा कसरी भिन्न छन् भन्ने कुराको वर्णन गर्छ। यो वर्गीय, लैंगिक, यौनिकताको अवस्थाको वर्णन हो (Francis, A.C., Waring, W., Stavropoulos, P. & Kirkby, J. (2003), Gender Studies: Terms & Debates, NewYork: Palgrave Macmillan, Pg. 33)। उदाहरणका लागि समलैंगिक हुनु वा नारी वा पुरुष समलैंगिक हुनु पहिचानको अवस्था हो र यसले समाजका अन्य समुदायभन्दा भिन्न पहिचान दिन्छ र आफू जस्तैसँगको अनुभव आदानप्रदानको अवसर पनि दिन्छ।
यसरी समाजमा अरू सदस्य र विशेषतः वर्चस्वमा रहेका समुदाय (श्वेत, उच्च वर्ग, विपरीत लिंगी, पुरुष आदि) भन्दा भिन्न स्वत्व र अस्तित्वको अवस्था पहिचानको अवस्था हो। यही कारण पहिचानलाई समूहहरू बलियो बनाउने र अनुभवहरूको सम्मिलनको आदानप्रदानको अवस्थाका रूपमा चिनाइएको छ (Francis, Waring, Stavropoulos, & Kirkby, Pg. 36)। लैंगिकताका सन्दर्भमा यसलाई भगिनित्व पहिचान भन्न सकिन्छ जहाँ महिलाहरूले आफ्ना पहिचानका बारेमा खुलेर बहस र छलफल गर्छन् र अनुभवको आदानप्रदान गर्छन्। जसलाई पहिचानको राजनीति पनि भन्ने गरिएको छ।
प्रतिनिधित्व पनि लैंगिक राजनीतिक विषय हो जसमा महिलाको अवस्था कस्तो छ भन्ने कुराको खोजी र विश्लेषण गरिन्छ। सिर्जना, चलचित्र, राजनीति र अन्य क्रियाकलापमा महिलाको उपस्थिति कस्तो छ भन्ने कुरालाई प्रतिनिधित्वका रूपमा हेरिन्छ। पुरुषत्व र स्त्रीत्व दुवैको प्रतिनिधित्व र त्यसको स्वरूपको अध्ययन यस अन्तर्गत गरिन्छ। यही कारण नारीवादी लेखनले विशेषतः महिला र लैंगिकताको प्रतिनिधित्वको खोजी गर्छ (Barker & Jane, Pg. 376)। यही कारण लैंगिक राजनीतिको केन्द्रमा प्रतिनिधित्वलाई राखिएको छ भने लैंगिक समताको आधार पनि यही हो।
पहिचान र प्रतिनिधित्वको मूल पक्ष भनेको महिलाको छविको चित्रण हो। महिला र महिला शरीरलाई प्रस्तुत गर्ने विधि र शैलीका आधारमा महिलाको विम्ब कस्तो छ भन्ने कुरा पत्ता लाग्छ भने प्रतिरोध चाहिं यसको अर्थको व्याख्या तथा परम्पराका विरुद्धको खोज पनि हो। लैंगिक सन्दर्भमा पठन भनेको पाठकले वैयक्तिक रूपमा र सामाजिक रूपमा पाठहरूको विश्लेषण गर्दै विरोधको स्वरको खोजी गर्नु हो। लैंगिक अध्ययन राजनीतिको अध्ययन हुनाले राजनीतिक रूपमा व्यक्ति, समाज र समूहका स्वर केकस्ता रहेका छन् भन्ने कुराको खोजी गर्दै त्यसले निर्माण गरेको प्रतिरोधलाई अर्थ्याउनु हो। बार्कर र जेनले चाहिं प्रतिरोध सम्बन्धपरक र संयोगपरक हुने बताएका छन्। यसको तात्पर्य के भने, सत्तासँगको सम्बन्ध र अधीनस्थताको अवस्थामा प्रतिरोध चुनौती र सम्झौता दुवैको सम्भावना रहन्छ। यसरी प्रतिरोध नारीपक्षीय विचारधाराको स्थापनाको कार्य गर्दछ।
साहित्यको लैंगिक विश्लेषण
साहित्य त्यस्तो लेखन हो जसको उद्देश्य सिर्जनात्मक हुन्छ र यसमा कविता, गद्य, आख्यान, नाटक लगायत विधा आउँछन् (Goodman, L. (1996), Literature and Gender, NewYork: Routledge, Pg. VII)। साहित्यमा लेखकका कल्पनाका माध्यमबाट बिम्ब र विचारको प्रस्तुति हुन्छ र यसले पाठकलाई पनि कल्पनामा सहभागी गराउँछ। लैंगिकताले चाहिं लिंगको भिन्नताका आधारमा मानिसलाई हेर्ने र प्रतिबिम्बन गर्ने काम गर्छ (Goodman, Pg. VII)। यसमा लैंगिक भेद, उत्पीडन, प्रतिरोध, पहिचान र प्रतिनिधित्व जस्ता विषय आउँछन् भने यौनिकताका सन्दर्भमा यसमा यौनिक अनुभव, यौनिक सुख तथा व्यक्तिका यौनिक व्यवहार (विपरीतलैंगिक, समलैंगिक आदि) जस्ता विषय आउँछन्।
लैंगिकता सामाजिक-सांस्कृतिक निर्मिति भएको हुँदा यसले साहित्यमा पुरुष र महिलाका भूमिकालाई कसरी प्रस्तुत गरिएको छ र उनीहरूका व्यवहार र अभिवृत्ति केकस्ता छन् भन्ने कुराको अध्ययन गर्दछ। यसरी साहित्यमा लैंगिकताको अध्ययन भनेको सामान्यतः नारी-पुरुष वा लेखकको यौनिकताको अध्ययन नभएर त्यस समाजको चित्रण र त्यसको सांस्कृतिक अध्ययनको विषय हो। यसले महान् र आधिकारिक मानिएका साहित्यिक लेखक र कृतिको नभएर सामान्य महिला लेखकको र महान् भनिएका लेखकका कृतिको पनि आलोचनात्मक अध्ययन गर्छ (Goodman, Pg. VII)। यसरी पाठ वा कृतिमा व्यक्त लैंगिक विचारधाराको विश्लेषण गर्ने काम लैंगिक अध्ययनमा गरिन्छ।
लैंगिकता र साहित्यको अध्ययनमा आधारित समालोचना अन्तर्विषयक समालोचना हो। यसले साहित्यिक कृतिमा व्यक्त संस्कृति र समाजमा आधारित भएर साहित्यमा लैंगिक र यौनिक पक्षको चित्रण कसरी भएको छ भन्ने कुराको अध्ययन गर्दछ। लैंगिक समालोचनाले लैंगिकता, पहिचान र महिला, पुरुष, स्त्रीत्व, पुरुषत्व, तथा लिंग वा महिला पुरुषको जीववैज्ञानिक पक्षका भिन्नताका आधार खोज्छ (Murfin & Ray, Pg. 313) र लैंगिकता प्राकृतिक हो भन्ने मान्यतालाई अस्वीकार गर्दै लैंगिकता भनेको सामाजिक निर्मिति, सिकिएको व्यवहार र भाषा र संस्कृतिको उत्पादन हो भन्ने कुराका आधारमा कृतिमा व्यक्त सामाजिक र सांस्कृतिक निर्मितिको खोजी गर्छ। यसले हरेक लेखकका पाठको सांस्कृतिक विश्लेषण गर्दै त्यसमा प्रस्तुत भएको पहिचान, लैंगिक मूल्य र सामाजिक-सांस्कृतिक स्वरूपको अध्ययन र विश्लेषण गर्दछ।
लैंगिक अध्ययनले परम्परागत यौनिक अभ्यासको आलोचना गर्दै मानिसका इच्छा साहित्यिक कृतिमा कसरी व्यक्त भएका छन् भन्ने कुराको खोजी गर्छ भने यसले पुरुषपन र महिलापन पुरुष र महिलामा मात्र नभएर दुवैमा हुन सक्ने कुराको खोजी गर्दै जीवविज्ञान र मनोविज्ञानलाई जोड्ने काम पनि गर्दछ। मनोविश्लेषणात्मक नारीवादमा झैं यसले पात्रहरूको मनोविज्ञानका आधारमा तिनका लैंगिक रुचि र व्यवहारको अध्ययन गर्छ, यौनिकताको अवस्थाको विश्लेषण गर्छ।
साहित्यिक कृतिमा सामाजिक, राजनीतिक र आर्थिक जीवनको प्रस्तुति हुन्छ भने लैंगिक समालोचनाले त्यही सांकृतिक निर्मितिलाई कृतिमा कसरी व्यक्त गरिएको छ भन्ने विश्लेषण गर्दछ। यसरी हेर्दा लैंगिक सम्बन्ध, लैंगिक विभेद, लैंगिक हिंसा, लैंगिक असमानता र पहिचान, प्रतिनिधित्व तथा प्रतिरोधका विषयलाई साहित्यमा कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको अध्ययन लैंगिक समालोचनाले गर्दछ।
लैंगिकता र साहित्य समाजमा विद्यमान लैंगिक र यौनिक व्यवहारको विश्लेषणमा आधारित छ। समाजमा नारी र पुरुषमा रहेको भिन्नता प्राकृतिक नभएर सामाजिक-सांस्कृतिक हो र यौनिक व्यवहारमा निषिद्ध भनिएका विषय पनि प्राकृतिक नभएर सामाजिक-सांस्कृतिक मान्यता मात्र हुन् भन्ने मान्यता यसको छ। यसले पितृसत्ताका कारण हजारौं वर्षदेखि उत्पीडनमा परेका महिला तथा पूँजीवादी समाजले महिलालाई बजारको वस्तु बनाएको विषयको अध्ययन गर्दै समातायुक्त र न्यायपूर्ण समाजको खोजी गरेको छ। महिलाको अधिकारका लागि सर्वप्रथम आफ्नो पहिचानको बोध र प्रतिनिधित्वको खोजी गर्ने र त्यसका लागि प्रतिरोधी साहित्यको निर्माण गर्नुपर्ने मान्यता राख्छ।
लैंगिक अध्ययनले पुरुषका पीडा र समस्यालाई पनि संबोधन गर्नुपर्ने धारणा स्पष्ट पारेको छ। यसले विभिन्न प्रकारका यौनिकता र यौनिक व्यवहारको सम्मान गर्दै फरक यौनिकताको पनि अध्ययन गर्दछ। यसरी साहित्यमा व्यक्त भएका लैंगिक सामाजिक प्रस्तुति र सांस्कृतिक व्यवहारले महिला-पुरुष समविकासको कस्तो अवस्थालाई चित्रण गरेको छ र समाजमा महिला, पुरुष, समलैंगिक व्यवहार, विपरीत लिंगी, परिवर्तित लगायत सन्दिग्ध सिद्धान्त समेतको अध्ययन गर्ने कार्य लैंगिक सिद्धान्तले गरेको छ।
(डा. ढकालको ‘लैङ्गिकता र नेपाली साहित्य’ पुस्तकबाट साभार। यो पुस्तक हालै बजारमा आएको छ।)