कोशीमा मिनिबस दुर्घटना, २४ यात्रुको उद्धार
कोशी नदीमा खसेको मिनिबसमा सवार २४ यात्रुको सकुशल उद्धार गरिएको छ।
विराटनगरबाट उदयपुरको सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको मिनिबस बिहीबार साँझ सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी नदीको पुलबाट खसेको थियो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार कोशीको ३५ र ३६ नम्बरको ढोका दक्षिणतर्फबाट बस नदीमा खसेको हो।
बस खसेको ठाउँमा पानीको बहाव कम छ। उत्तरतर्फ ब्यारेजको ढोका बन्द भएकाले दक्षिणतर्फ बालुवा थुप्रिएको ठाउँमा बस खसेकाले उद्धारमा सहज भएको हो। पुलबाट नदीमा खसेको बस आधा मात्रै डुबेको थियो।
विराटनगर बस टर्मिनलका प्रमुख भीम अधिकारीका अनुसार को १ ख ४६०१ नम्बरको मिनिबस अपराह्न ३ः३५ बजेमा गाईघाटका लागि विराटनगरबाट हिंड्दा पाँच जना मात्रै यात्रु थिए। बाटामा यात्रु थपिंदै गएको उनको भनाइ छ।
बसमा सवार सबै यात्रुको उद्धार भएको एसपी रेग्मीले बताए। उनीहरू सबै घाइते भएका छन्। पुल पूर्व रहेको भान्टाबारी बस काउन्टरका कर्मचारी पशुपति कामतका अनुसार घाइतेमध्ये १२ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। अन्य गम्भीर घाइतेलाई विभिन्न अस्पताल लगिएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ। सुरक्षाकर्मीसँगै डुंगाचालक र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए। पुरानो पुलको बार कमजोर रहेकाले सामान्य दबाब पनि छेक्ने अवस्था छैन।