अर्थतन्त्रको स्थिति : मूल्य वृद्धिदर न्यून, बजारको माग बढेन
बजारको मूल्य वृद्धिदर अघिल्ला महीना जस्तै न्यून रहेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महीनाको आर्थिक र वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनमा उपभोक्ता मूल्यवृद्धि दर ४.१ प्रतिशतमा सीमित रहेको देखिएको छ। यो अघिल्लो वर्षको यही अवधिमा ७.५२ प्रतिशत थियो।
पछिल्ला महीनामा मूल्यवृद्धि दर चार प्रतिशतको हाराहारीमा रहँदै आएको छ। झन्डै दुई दशक सरदरमा सात प्रतिशतको मूल्यवृद्धि भोगेको नेपालका लागि चार प्रतिशतको मूल्यवृद्धि दर न्यून हो।
राष्ट्र ब्यांकले यस आर्थिक वर्षबाट उपभोक्ता मूल्य वृद्धिदर गणनाको विधिमा संशोधन गरेको छ। उपभोक्ता मूल्य सूचकांकको एक दशक पुरानो आधार वर्ष फेरेर आर्थिक वर्ष २०८०/८१ बनाइएको छ। योसँगै मूल्यवृद्धि गणनाका लागि वस्तु र सेवाको भार फेरिएको छ भने गणनाका लागि कैयौं नयाँ वस्तु र सेवा पनि थपिएका छन्।
मूल्य सूचकांक गणनाका लागि भारित वस्तु डालोमा २४९ वस्तु तथा सेवा समूह अन्तर्गत ५२५ वस्तु तथा सेवाको मूल्य संकलन गरिएको छ। मूल्य संकलनका लागि ७७ वटै जिल्ला समावेश हुने गरी तराई क्षेत्रबाट २८, पहाडी क्षेत्रबाट ४३ र हिमाली क्षेत्रबाट १६ गरी जम्मा ८७ वटा बजार केन्द्र छनोटमा परेका छन्। साप्ताहिक, मासिक र त्रैमासिक रूपमा यी बजार केन्द्रबाट तथ्यांक संकलन गरी उपभोक्ता मूल्य सूचकांक निकालिन्छ।
साउनमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर २.९४ प्रतिशत छ। साउनमा सबैभन्दा धेरै तरकारीको मूल्य १९.०७ प्रतिशतले बढेको छ।
त्यस्तै, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ३.६६ प्रतिशतले मूल्य बढेको छ। यद्यपि मरमसला उपसमूहको मूल्य २.७५ प्रतिशतले घटेको छ।
केन्द्रीय ब्यांकका अनुसार साउनमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ६.६९ प्रतिशतले मूल्यवृद्धि भयो। मूल्यवृद्धि दर सबैभन्दा थोरै कर्णाली प्रदेशको ३.४६ प्रतिशत छ।
राष्ट्र ब्यांकको तथ्यांकले अर्थतन्त्रमा वस्तु र सेवा मागको सिर्जना धेरै हुन नसकेको देखाउँछ। साउनमा वस्तु आयात ०.६ प्रतिशतले घटेको छ। साउनमा एक खर्ब २८ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएको देखिएको छ। राष्ट्र ब्यांकका अनुसार धानचामल, हवाईजहाजका स्पेयर पार्टपुर्जा, फलाम लगायत वस्तुको आयात घटेको छ। यसले निर्माणको गतिविधि पनि बढ्न नसकेको संकेत गर्छ। साउनमा वस्तु निर्यात पनि ९.६ प्रतिशतले घटेर १२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ।
साउनमा ब्यांक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले अर्थात् १४ अर्ब ११ करोड रुपैयाँले बढेको छ। व्यवसायीले कर्जा प्रवाहको विस्तार सुस्त रहेकाले अर्थतन्त्र चलायमान हुन नसकेको बताउने गरेका छन्। कर्जा प्रवाह अपेक्षित नबढे पनि ब्याजदर भने घटिरहेको छ। साउनमा वाणिज्य ब्यांकहरूको औसत आधार दर ७.६१ प्रतिशतमा सीमित छ।
अघिल्लो वर्षको साउनमा वाणिज्य ब्यांकहरूको औसत आधार दर १०.११ प्रतिशत थियो। आधार दर घट्दा ब्यांकहरूले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न सक्छन्। अहिले वाणिज्य ब्यांकहरूले एकल दर अर्थात् १० प्रतिशतभन्दा थोरैमा कर्जा प्रवाह गरिरहेका छन्।
केन्द्रीय ब्यांकका अनुसार देशको अर्थतन्त्रको बाह्य क्षेत्र भने बलियो भइरहेको छ। साउनमा देशको विदेशी मुद्राको सञ्चिति १५ अर्ब ५८ करोड अमेरिकी डलर बराबर पुगेको छ। असारमा सञ्चिति १५ अर्ब २७ करोड डलर थियो।
साउनमा देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर चालू खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा छ। यो खाता बचतमा हुनुले देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम धेरै भएको बुझाउँछ। नेपालले वैदेशिक व्यापारमा ठूलो घाटा बेहोरे पनि रेमिटेन्सको रकममा वृद्धिले देशमा भित्रिने रकम धेरै देखिएको हो।
साउनमा नेपालमा एक अर्ब दुई करोड अमेरिकी डलर अर्थात् एक खर्ब ३७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा करीब १६ प्रतिशत धेरै हो। वैदेशिक रोजगारीमा जाने नेपालको संख्यामा बढोत्तरीसँगै रेमिटेन्स रकम पनि बढिरहेको छ।