यात्राको लयमा लय मिलाउँदै
प्रदीप सापकोटाले आफूले भोगेको समय र पाइला हालेको भूगोलको टिपोट कृतिका रूपमा नल्याएको भए ती कुरा मानसपटलबाट बिस्तारै हराउँदै जाने थिए।
सुमनराज ताम्राकार
कुशादेवी, र्याले बिहाबर क्षेत्रका सापकोटाहरूले काभ्रेली साहित्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य आकाशमा राम्रो योगदान दिंदै आएका छन्। सापकोटाहरूको यही साहित्यिक लिगेसीलाई निरन्तरता दिने क्रममा पछिल्लो छिमलका प्रदीप सापकोटा आइपुगेका छन्। प्रदीप सापकोटाको तेस्रो कृति हो– यात्राको लय (नियात्रा संग्रह)। यसअघि यात्राका इन्द्रेणी रङ (नियात्रा संग्रह, २०७७) र मनको वारपार (मुक्तक संग्रह, २०७८)। यस संग्रहमा १७ वटा नियात्रा लेख समेटिएका छन्।
पहिलो लेखमा नेपाल रेडक्रस सोसाइटीको सामुदायिक प्रशिक्षक तथा कार्यकर्ताको बैठकका लागि महेन्द्रनगरसम्मको यात्रा वर्णन छ। २०५९ सालतिर सशस्त्र द्वन्द्वको उत्कर्ष ताका पहिलो गाँसमा ढुंगा भने झैं यात्राको थालनीमै प्रहरीबाट भएको नमीठो व्यवहारको पुनर्ताजगी गराइएको छ। त्यो वेला मोबाइल नहुँदाको समस्या थाहा पाउँदा अनौठा मान्न सकिन्छ।
दोस्रो लेखमा महेन्द्रनगरकै बसाइको वेला टनकपुर यात्राको वृत्तान्त छ। यात्रा प्रसंगलाई रोचक, मार्मिक र त्यस वेलाको समय पुनःस्मृति गराउन शहीद तथा साहित्यिक र राजनीतिक व्यक्तिहरूको चर्चा गरिएको छ। यस्तो चर्चा अन्य लेखमा पनि भएको पाइन्छ। यसमा राष्ट्रियताको भावना गजबले जगाएको छ भने अहिले सुन्दा अचम्म लागे पनि रील लोड गर्नुपर्ने क्यामेराको जमानामा दुःखजिलो गरी खिचेका फोटोहरू पनि भारतीय सशस्त्र सीमा प्रहरी बलले मेटाइदिंदाको बयान रगत उम्लिने खालको छ। राजनीतिक नेतामा दूरदर्शिता नहुँदा वा कुनै पनि सन्धिसम्झौता हुँदा देशको हितलाई सर्वोपरि नराख्दाको परिणाम देशवासीले भोग्नुपर्ने वास्तविकता सदृश्य उल्लेख छ।
तेस्रोदेखि सातौं लेख कामको सिलसिलामा बाग्लुङकै सेरोफेरोमा लेखिएका छन्। तेस्रो लेखमा २०६० साल ताका बाग्लुङ हुग्दिसिरसम्मको यात्रा गर्दा खरीजुकाको आतंक पाठकलाई नै सिकसिक लाग्ने खालको छ। यसै यात्रामा जनगायक जीवन शर्मासँगको भेट, त्यति वेलाको चलन वा तत्कालीन सशस्त्र द्वन्द्वले गर्दा हो, पिंढीको वास भए पनि मगर दाजुको आतिथ्य राम्ररी समेटिएको छ।
चौथो लेखमा लेखक एकातिर बाग्लुङ, गल्कोटको प्रकृतिप्रति मुग्ध देखिन्छन् भने सरकारी स्कूलको हविगत देखेर खिन्न पनि हुन्छन्। यस भागमा खच्चडको वर्णन, घोडा बाँधेको बखान, स्थानीय रेडक्रसकर्मीको फेहरिस्त र गल्कोट दरबारको बयान उल्लेख छ।
पाँचौं लेखमा लेखक बाग्लुङकै गल्कोटस्थित शीतलपाटीमा तीनदिने तालीम चलाउन जाने क्रममा शुरूमा मनकारी रेडक्रसकर्मीको राम्ररी आतिथ्य पाए पनि एक ज्योतिषीको भविष्यवाणी लगत्तै सांघातिक आक्रमण भएको कारण लेखकको दिन खिन्नतामा बित्यो छ भने त्यस घटना लगत्तै साठी कटेकी आमाको ढाडस, बाग्लुङको सदरमुकाम फर्किने क्रममा राति हटियामा वास बस्ने वेला बिहानको घटनाको झझल्कोले लेखकलाई राति अनिंदो बनायो।
छैटौं लेखमा ‘नबिराउनु, नडराउनु’ भने झैं अघिल्लो पटक सांघातिक आक्रमण भएको वेलाभन्दा फरक परिदृश्य देखियो यस पटकको गल्कोटको यात्रा। आक्रमणकारीले आत्मालोचना गरे भने तालीमको समापनमा मन्तव्य राख्ने क्रममा यसै विषयमा भावुक बने लेखक। सातौं लेखमा तथाकथित छुवाछूत माथिल्लो जात र तल्लो जातमा मात्र होइन, तल्ला जातिहरूबीच पनि उँचनीचको माथापच्ची रहेछ। यसैलाई चिर्न लेखकले गरेको सहभोजको प्रयास एवम् मानिसले शिक्षा पाएर मात्र केही नहुने रहेछ भन्ने चेतना हुनुपर्ने, ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने रहेछ भन्ने शिक्षा पाए लेखकले।
आठौं लेखमा बाढीपीडितलाई राहत वितरणका लागि मधेशको जीवनभोगाइ नजीकबाट नियाल्न पाएका लेखकले बनेपा–सिन्धुली राजमार्गको वर्णन, मुसहर एवं चमार जाति, बेरोजगारीको समस्या, नागरिकताको पीडा सपाट पोखेका छन्। नवौं लेखमा सर्लाहीको यात्रा उल्लेख छ। यस पटक बीपी राजमार्गको सकसपूर्ण यात्रा, कोरोना कहरका बीच वृद्धाश्रमको यात्रा र मनकारी वासु कोइरालाको बखान छ।
दशौं लेखमा आफ्नो थातथलोमा हुन लागेको बाह्रवर्षे मकरमेलाको प्रचारप्रसारको सिलसिलामा गाईघाटसम्मको यात्रा वर्णन छ। यात्राका बीच दुम्जास्थित कुशेश्वर महादेवको वर्णन राम्ररी गरिएको छ। एघारौं लेखमा मकरमेलाकै प्रचारकै निरन्तरता दिने क्रममा वराह क्षेत्र चतराधाम एवं बालसन्त महाराजको बखान छ।
बाह्रौं र तेह्रौं लेखमा पनौती नगरपालिकाको न्यायिक समितिको अवलोकन भ्रमणका क्रममा जिरी एवं दोलखा वरिपरि गरिएको भ्रमणको वर्णन छ। चौधौं र पन्ध्रौं लेखमा दार्जीलिङ यात्राको बयान छ। टाइगर हिलबाट सूर्योदय हेर्न नपाउँदा हिस्सिएका लेखकले यसै लेखमा नक्सलाइट आन्दोलनको वर्णन, चौरास्तामा भानुभक्तको प्रतिमा देखेपछिको भावुकता र नेपाल फर्किने क्रममा इलाम, पशुपतिनगर नजीकैको मिरिक बजार घुम्दाको चर्चा छ।
सोह्रौं लेख साहित्यमय यात्राको छ। सुकुटे यात्रा एवं बसाइका क्रममा नेपाल स्रष्टा समाजका दुईदिने कार्यक्रमबारे बखान छ। अन्तिम लेखमा पनौती नगरपालिकाको कामले हेटौंडा यात्रा गर्दाको वर्णन छ। यसमा कान्ति लोकपथको यात्राको वर्णन एवं ऐतिहासिक मकवानपुरगढी भ्रमणको चर्चा छ।
समीक्षक र नियात्राकारको नियति पनि गजबको हुन्छ। दुवैले स्वाद लिएर पढ्न र घुम्न पाउँदैनन्। किनकि समीक्षकले कृति पढ्दै गर्दा कृतिकारका सबल र दुर्बल पक्षबारे हेक्का राख्दै जानुपर्ने हुन्छ, साहित्य पठनको खासै स्वाद लिन पाइन्न। किनकि अन्य पाठकले जस्तो खुरुरु पढ्दै साहित्यिक कृतिको रसरागपान गर्दै जान पाइँदैन। यस्तै नियति प्रदीप सापकोटा जस्तो नियात्राकारको पनि हुन्छ। अन्य भ्रमणकर्ता वा पर्यटकले जस्तो स्वाद मानी मानी ठाउँ घुम्ने, दृश्यपान गर्ने, रमाइलो मात्र गर्ने भन्ने हुँदैन। कतिपय जानकारीको टिपोट राख्ने, कतिपय स्थानीयसँग जानकारी लिने, जिज्ञासा राख्ने, समय, स्थान, परिवेश, लवाइ, खवाइ, मौसम, बाटाघाटा, वनजंगल, खोलानाला सबैको टिपोट राख्दै जानुपर्ने हुन्छ। यस क्रममा शुद्ध पर्यटकलाई भन्दा बढ्ता जिम्मेवारी हुन्छ।
त्यसमाथि कृतिका रूपमा प्रकाशन नै गर्ने हो भने पहिलेदेखिको घटना सिलसिलेवार रूपमा टिपोट, टङ्कण, प्रकाशन गरेर मात्र कहाँ पुग्यो र? अलिकति तलमाथि हुनासाथ समीक्षकले टोकसो गरिहाल्छन्। यसमा पनि केही मुद्राराक्षस छन् नै।
ती समय, पात्र, स्थानविशेषको भोगाइ र रसास्वादन अन्यले पनि गरेका थिए नि, तर प्रदीप सापकोटाकै काँधमा यसलाई लेख (नियात्रा)का रूपमा लेख्न आइपर्यो त? अर्को अर्थमा, प्रदीप सापकोटाले आफूले भोगेको समय र पाइला हालेको भूगोलको टिपोट कृतिका रूपमा नल्याएको भए ती कुरा मानसपटलबाट बिस्तारै हराउँदै जाने थिए। यति हुती देखाएकै कारण त नेपाली साहित्य आकाशमा नियात्राकारका रूपमा काभ्रेली युवा प्रदीप सापकोटाको नाम पनि दर्ज भएको छ। यात्रा जारी रहोस्।
पुस्तक : यात्राको लय, विधा : नियात्रा, लेखक : प्रदीप सापकोटा, पृष्ठ : १४४+४, प्रकाशक : भुँडीपुराण प्रकाशन, काठमाडौं