पारिवारिक विवादमा गोली प्रहार, श्रीमतीको हत्या, बुबा घाइते
सर्लाहीको हरिपुर्वामा एक युवकले गोली हानी श्रीमतीको हत्या गरेका छन्।
गए राति पौने २ बजे हरिपुर्वा नगरपालिका-५ का धीरेन्द्र यादवले गोली हानी २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेको प्रहरीले जनाएको छ। गोली लागेर धीरेन्द्रका बुबा ५४ वर्षीय रामदिनेश राय घाइते भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए।
पारिवारिक विवाद बढ्दै जाँदा गोली हानेको देखिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार चित्रलेखाको घटनास्थलमै मृत्यु भएको हो।
रामदिनेशको प्रादेशिक अस्पताल, मलंगवामा उपचार भइरहेको छ। उनको बायाँ हातमा गोली लागेको छ। धीरेन्द्र भने फरार छन्।
उनको खोजीका लागि सीमाक्षेत्रमा २० जना प्रहरीको टोली परिचालन गरिएको छ।