तीन दिन देशैभरि वर्षा हुने प्रक्षेपण, ५३ जिल्लामा उच्च जोखिम
आगामी तीन दिन देशैभरि उच्च वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार अपराह्न विशेष मनसुन बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने र कैयौं स्थानमा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जनाएको छ। बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यूनचापीय प्रणालीका कारण असोज १० देखि असोज १३ गतेसम्म देशभरिको आकाश बादलले भरिने विभागले जनाएको छ।
यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा एवं मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको जोखिम रहेको विभागको भनाइ छ। विभागका अनुसार ५३ जिल्लामा अत्यधिक वर्षाको जोखिम छ।
विभागले गण्डकी र लुम्बिनीका थोरै स्थान एवं कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने बताएको छ। बिहीबार दिउँसोदेखि नै यस्तो वर्षा हुन शुरू हुने आकलन छ।
यस अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना औंल्याइएको छ। विभागले उच्च पानीले बाढीपहिरोको जोखिम निम्त्याउने भएकाले सतर्कता अपनाउन तथा तयारी गर्न आह्वान गरेको छ।
विभागले यो वर्षाले मुगु र हुम्ला दुई जिल्लामा निम्न जोखिम भए पनि अन्य सबै जिल्लामा मध्यमदेखि उच्च स्तरको जोखिम देखाएको छ। १६ जिल्लालाई मध्यम स्तरको जोखिम र ५३ जिल्लालाई उच्च जोखिममा राखिएको छ।
मनसुन सकिने औसत मिति नजीक आइरहँदा पनि यस वर्षको मनसुन सकिने छाँट देखिएको छैन। सामान्यतया नेपालमा २ अक्टोबरमा मनसुन सकिने प्रवृत्ति छ। यो वर्ष मनसुन दशैंसम्म लम्बिने अवस्था देखिएको मौसमविद्ले बताउँदै आएका छन्।