जीबी राई विरुद्ध अर्को मुद्दा दायर, ४४६ जनाको साढे ३७ करोड अपचलन
सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) विरुद्ध अर्को मुद्दा दर्ता भएको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत, कास्कीमा ठगी मुद्दा विचाराधीन रहेकै वेला जिल्ला अदालत, चितवनमा पनि अर्को मुद्दा दायर गरिएको छ। चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४४६ बचतकर्ताको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा ठगी मुद्दा दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत जीबी सहित १७ जना विरुद्ध ठगी मुद्दा दायर गरेको छ। जीबी यो सहकारीका संस्थापक अध्यक्ष हुन्।
उनीसँगै सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थानबहादुर बुढा मगर (थमन)लाई विपक्षी बनाइएको छ।
अभियोगपत्रमा उनीहरूले सहारा सहकारीको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा अपचलन गरेको दाबी गरिएको छ। मुद्दा दायर गरिएकामध्ये कुमार रम्तेल मात्रै पक्राउ परेका छन्। अन्यलाई फरार सूचीमा राखिएको छ।
त्यस्तै, विपक्षी बनाइएका वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढा मगर अनुपस्थित रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनीहरू विरुद्ध ४४६ जना बचतकर्ताले उजुरी दिएका छन्।
यस सहकारीबाट पनि गोरखा मिडिया नेटवर्क प्रालिमा तीन करोड ५० लाख रुपैयाँ लगिएको पाइएको छ। बचतकर्ताले भने १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गोरखा मिडियामा गएको बताउँदै आएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, नेचर हर्ब्स इन्टरन्याशनल प्रालिमा ९६ लाख, जीबी ग्रूप अफ कम्पनीमा एक करोड २५ लाख ३२ हजार र नेचर नेस्ट प्रालिमा एक करोड २७ लाख रुपैयाँ लगिएको प्रहरी अनुसन्धानमा देखिएको छ।