नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको आकलन
नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एशियाली विकास ब्यांक (एडीबी)को आकलन छ।
आर्थिक वृद्धिदर बढेसँगै यो वर्ष नेपालको अर्थतन्त्रमा सुधार आउने एडीबीले अनुमान गरेको छ। ब्यांकले एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने आकलन सार्वजनिक गरेको हो।
गत आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो। गत वर्षको तुलनामा यो वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान गरिएको छ। ब्यांकको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, “आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटन सम्बन्धी सेवाको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादनमा सुधार आउनेछ।”
मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ। विद्युत् क्षमता वृद्धिले औद्योगिक उत्पादन बढाउने, पर्यटक आगमन बढेकाले होटल-रेस्टुराँ व्यवसायको माग बढाउने ब्यांकले जनाएको छ।
त्यस्तै, लचिलो मौद्रिक नीति, आन्तरिक मागमा सुधार तथा थोक र खुद्रा व्यापार, घरजग्गा जस्ता क्षेत्रको कारोबार वृद्धिले अर्थतन्त्र चलायमान भइरहेको ब्यांकको दाबी छ। यो वर्ष नेपालको मुद्रास्फीति दर पाँच प्रतिशतको सीमाभित्रै रहने आकलन पनि गरेको छ।
ब्यांकले खाडी मुलुकमा भूराजनीतिक तनाव बढेमा नेपालको रेमिटेन्स आम्दानी घट्न सक्ने साथै इन्धन र खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम पनि औंल्याएको छ। प्राकृतिक विपद् र जलवायु परिवर्तनलाई पनि अर्को जोखिमका रूपमा औंल्याइएको छ।