बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ
एनसेल फाउन्डेशनले झापाको बिर्तामोड नगरपालिका-५ मा पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ शिविर सञ्चालन गरेको छ।
शिविरमा १२० जना स्थानीय महिला सहभागी थिए। उनीहरूमध्ये ९० जनाले निःशुल्क ‘पाप स्मीयर टेस्ट’ बाट लाभ लिएको फाउन्डेशनले जनाएको छ।
नेपाल क्यान्सर फाउन्डेशन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो। एनसेल फाउन्डेशनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाको पाठेघरको मुखको स्क्रीनिङ गर्ने लक्ष्य लिएको छ।
यो स्क्रीनिङ पहुँच नभएकासम्म पुग्ने लक्ष्यमा आधारित रहेको एनसेलको कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले बताइन्। पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ।
एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सव अवसरमा एनसेल फाउन्डेशनको घोषणा गरेको थियो।