नौ वटा सहकारी डुबाउने ६ वटा मिडियाको हिसाबकिताब
नौ सहकारीले ११ अर्ब जति रकम ६ वटा मिडियामा डुबाएर बचतकर्तालाई बिल्लीबाँठ बनाइदिए।
२०७७ सालमा काठमाडौंका मुख्य सडक छेउछाउमा टेलिभिजन कार्यक्रमबाट उदाएका नेपाली मूलका अमेरिकन नागरिक रवि लामिछानेको आदमकद पोस्टर सहित नयाँ टेलिभिजन खुल्दै गरेको धूवाँदार प्रचार गरियो। ती पोस्टरमा टेलिभिजन स्टार विजयकुमार, म्याग्सेसे विजेता महावीर पुन, चलचित्र क्षेत्रका ‘नायक’ राजेश हमाल, चलचित्रकर्मी दीपक गिरी, संगीतकर्मी कालीप्रसाद बास्कोटा जस्ता चर्चित व्यक्तिका कार्यक्रम हुने भन्दै तिनका पोस्टर पनि टाँसिएका हुन्थे।
तर ती तस्वीरमा सबैभन्दा ठूलो र अग्लो चाहिं लामिछानेकै राखिएको हुन्थ्यो। त्यो टेलिभिजनको नामकरण गरियो– ग्यालेक्सी टेलिभिजन। त्यसका प्रबन्ध निर्देशक रवि स्वयं थिए, जो सम्पादकीय विभाग पनि आफैं हेर्दथे।
विभिन्न मिडिया हाउसबाट आकर्षक तलब दिई लगिएका अनुभवी पत्रकार र व्यवस्थापकले ग्यालेक्सी कार्यालय भरिभराउ थियो। हायात होटलमा ठूलो तामझाम सहित टेलिभिजनको शुभारम्भ गरिएको थियो। विभिन्न मिडिया हाउसबाट पत्रकारहरू लगेर ग्यालेक्सी टेलिभिजनलाई ‘नयाँ उचाइ दिइएको’ बताइएको थियो। टेलिभिजनको स्टुडियो र क्यामेराहरू पनि विश्व बजारमा चलेका महँगा र अत्याधुनिक राखिएका थिए।
त्यति वेला एक नेटवर्क व्यापारी गितेन्द्रबाबु (जीबी) राईले यत्रो तामझाम गर्ने पैसा कहाँबाट जम्मा गरे भन्ने खासखुस चलेको थियो। त्यति वेला ग्यालेक्सीमा राम्रो तलब दिएर कान्तिपुरबाट लगिएका एक पत्रकारको भनाइमा राईलाई हङकङका व्यापारीका रूपमा पनि चिनाइएको थियो। यो काम ग्यालेक्सीका प्रबन्ध निर्देशक रविले नै गरिरहेका थिए।
तर संसदीय समितिको विशेष छानबिन समितिको प्रतिवेदन आएपछि थाहा भयो- ग्यालेक्सी टेलिभिजन त सर्वसाधारणले खाईनखाई जम्मा गरेको सहकारीको पैसाले पो सञ्चालन गरिएको रहेछ। जीबी राईको अध्यक्षतामा खोलिएको गोरखा मिडिया नेटवर्क प्रालिबाट यो टेलिभिजन सञ्चालन गरिएको थियो। कम्पनीको संस्थापक शेयरधनी जीबी राई र नेपाल प्रहरीका सेवानिवृत्त अधिकृत छविलाल जोशी थिए। २०७७ सालकै अन्तिमतिर कम्पनीमा रवि लामिछाने पनि जोडिन आइपुगेका थिए।
गोरखा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था (पोखरा), सहारा बहुउद्देश्यीय सहकारी संस्था (चितवन), सुप्रिम बचत तथा ऋण सहकारी संस्था (बुटवल), स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था (काठमाडौं) र सानोपाइला बचत तथा ऋण सहकारी संस्था (वीरगन्ज)बाट ६५ करोड ५४ लाख चार हजारभन्दा बढी रकम ल्याइएको प्रतिवेदनमा उल्लेख छ। यी सहकारीबाट ऋण लिएर मिडिया चलाए पनि उक्त ऋण चाहिं तिरेको देखिंदैन।
जीबी, छवि र रविको नाममा प्रवाह भएको ऋण ग्लोबल आइएमई ब्यांकमा रहेको गोरखा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको छ। सुप्रिम सहकारीबाट मात्र २०७७ र २०७८ सालमा १० करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा भित्र्याइएको थियो।
यसरी सहकारी ठगीमा संलग्न जीबी हाल विदेशमा बेपत्ता छन् भने छविलाई ६ गते पक्राउ गरिएको छ। एकै प्रकृतिको अपराधमा संलग्न छविलाई पक्राउ गरिएको हुनाले अब राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रविलाई पनि पक्राउ गर्ने बाटो खोलिदिएको छ। यस प्रतिवेदनबाट ‘१२ भाइ’ भन्दै मिडिया संस्थानलाई सार्वजनिक तहमै सत्तोसराप गर्ने रवि स्वयंले कसरी एउटा नेटवर्क व्यवसायी र नेपाल प्रहरीका पूर्व अधिकारीसँग मिली जनताको पैसा मिडियामा लगानी गरेका रहेछन् भन्ने रहस्योद्घाटन हुन गएको छ।
रिपोर्टमा उल्लेख भए बमोजिम शुरूमा जीबीले गोर्खा मिडियाबाट तात्कालिन उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेश पुनको अगुवाइमा नागरिकखबर डटकम अनलाइन सञ्चालन गरेका थिए। त्यसका निम्ति सूर्यदर्शन सहकारीको करीब करोड पैसा लगानी गरेको बताइन्छ। तर त्यो अनलाइनले सोचे जस्तो प्रभाव पार्न नसकेपछि जीबी न्यूज–२४ मा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम चलाइरहेका रविकहाँ पुगेका थिए। त्यसपछि जीबीको नियन्त्रणमा रहेका देशभरका सहकारीबाट लगानी छिराई तामझाम सहितको ग्यालेक्सी फोरके टेलिभिजनको यात्रा प्रारम्भ गरियो जसले जीबी, छवि र रविलाई अहिलेको अवस्थासम्म ल्याइपुर्यायो। ती त फसे फसे, उनीहरूको बदमासीसँगै लगानीकर्ताको अर्बौं डुब्न गयो।
जीबी, छवि र रविले जसरी सहकारीको मोटो रकम मिडियामा खन्याएर डुबाउनेहरू अरू पनि छन्, जसलाई प्रतिवेदनमा प्रस्ट रूपमा उल्लेख गरिएको छ। त्यसमध्येको एक हो, ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था।
यो सहकारीले टेलिभिजनमा लगानी गरेको पाइएको छ। उक्त सहकारीका अध्यक्ष तथा कार्यकारी प्रमुख तेजविक्रम थापा हुन्। आर्थिक वर्ष २०५६/५७ मा स्थापना भएको सहकारीले स्थापनाकालदेखि नै कृषि टेलिभिजनमा लगानी गरेको छ। टेलिभिजनका अध्यक्ष पनि थापा नै हुन्।
थापाले २०७३ सालमा सहकारीकै पैसाले टेलिभिजन सञ्चालन गरेका थिए। छानबिन विशेष संसदीय समितिको प्रतिवेदनमा ब्याज सहित पाँच करोड ४९ लाखभन्दा बढी रकम कृषि टेलिभिजन नेटवर्क प्रालिको नाममा देखिन्छ। थापाको यस सहकारीमा २५ सयभन्दा बढी बचतकर्ताको दुई अर्ब ८२ करोडभन्दा बढी रकम डुबेको छ। २०८० माघ २६ गते यस सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।
त्यसैगरी, ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि दुई वटा मिडियामा लगानी गरेको छ। २०५६ सालमा स्थापना भएको यस सहकारीमा ६ जना अध्यक्ष फेरिएका छन्। तर प्रारम्भदेखि नै कार्यकारी भूमिकामा रहेका सुरेन्द्र भण्डारीले नै हालसम्म सचिव तथा कार्यकारी प्रमुख भएर काम गर्दै आएका छन्। भण्डारीकै एकल निर्णयमा सहकारी चल्दै आएको छानबिन समितिको निष्कर्ष छ। सहकारीबाट पेज टू प्रिन्ट मिडिया प्रालिमा २१ करोड ४० लाख १७ हजार रुपैयाँभन्दा बढी लगानी भएको छ भने एभिन्यूज नेटवर्क प्रालिमा ६ करोड ८९ लाख तीन हजार रुपैयाँभन्दा धेरै लगानी छ। यो नेटवर्कले एभिन्यूज टेलिभिजन सञ्चालन गर्दै आएको छ। एभिन्यूज नेटवर्क प्रालिका अध्यक्ष भास्करराज राजकर्णिकार ‘मिडिया अलायन्स नेपाल’ का अध्यक्ष पनि हुन्। लालीगुराँस बहुउद्देश्यीय सहकारी २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा भएको हो।
भक्तपुरको कौशलटारस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि उपकार मिडिया ग्रूप प्रालिमा ६ करोड दुई लाख २७ हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ।
विभिन्न सहकारी एकीकरण भई २०७७ सालमा शिवशिखर बहुउद्देश्यीय सहकारी बनेको थियो। केदारनाथ शर्माले चलाउँदै आएको भए पनि २०७८ सालमा सुशील बानियाँलाई अध्यक्ष बनाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। उपकार मिडिया ग्रूप प्रालि पनि शर्माकै साझेदारी रहेको कम्पनी हो। यस कम्पनीले अर्थन्यूज टेलिभिजन सञ्चालन गरेको थियो। मिडियाकर्मीमाझ हल्लाखल्ला गरी स्थापना गरिएको यो टेलिभिजन पनि करीब एक वर्ष जति चलेको थियो।
यी बाहेक क्यापिटल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पनि द प्रेस अनलिमिटेड प्रालिमा तीन करोड ८३ लाखभन्दा धेरै रकम लगानी गरेको छ। सहकारीका अध्यक्ष रामचन्द्र शर्मा हुन् भने प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल हुन्। हाल पौडेल सम्पर्कविहीन रहेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सहकारीको प्रमुख कार्यालय क्षेत्रपाटी, ठमेलमा र यसको सेवा केन्द्र न्यूरोडमा रहेको बताइएको छ।