प्रतिष्ठानले सुधारिरहेको कर्णालीको स्वास्थ्य
प्रतिष्ठान आफैंले चिकित्सक उत्पादन गर्न थालेपछि स्वास्थ्य सेवामा नागरिकको पहुँच पहिलेभन्दा बलियो बनेको छ। चिकित्सा शिक्षा पढ्न विदेशी विद्यार्थी समेत जुम्ला पुगिरहेछन्।
डेढ दशकअघिसम्म साविक कर्णाली अञ्चलका बासिन्दा बिरामी पर्दा चिकित्सक देख्न मुश्किल थियो। सडक सञ्जालमा जोडिएको जिल्ला जुम्ला मात्र थियो। जटिल रोग लाग्दा त्यहाँबाट कम्तीमा १३ घण्टा जोखिमपूर्ण यात्रा गरी नेपालगन्ज पुग्नुको विकल्प थिएन। हुम्ला, मुगु, डोल्पा र कालीकोटलाई अन्य शहरसँग जोड्ने एक मात्र माध्यम हवाईजहाज थियो। तर वेलैमा जहाज नआउँदा नागरिकहरू विमानस्थलमै प्राण त्याग्थे। हवाईजहाज पनि आर्थिक स्तर बलियो हुनेको मात्र पहुँचमा थियो।
जिल्ला अस्पताल कतिसम्म कमजोर थिए भने पोस्टमार्टम गर्ने चिकित्सकसम्म हुँदैनथे। टाढाका शहरमा बसेर महीनौं उपचार गराउनुपर्दा यसै पनि घरखेत बन्धकी राखेर आउनेहरू झन् ठूलो ऋणमा फस्थे। गर्भवती, सुत्केरी, दुर्घटनाका घाइते र सिकिस्त बिरामीले अकालमै ज्यान गुमाउँथे।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि अहिले कर्णालीवासीको स्वास्थ्यस्थितिमा निकै सुधार आएको छ। सामान्य औषधिकै निम्ति छटपटिनुपर्ने उनीहरूका लागि स्वास्थ्य सेवाको पहुँच तुलनात्मक रूपमा सहज बनेको छ। चिकित्सक पाउनै मुश्किल पर्ने ठाउँमा अहिले धमाधम चिकित्सक उत्पादन हुँदै छन्। भारत, अमेरिका, बेलायत, क्यानडा, मलेशिया, चीन लगायत देशबाट समेत चिकित्साशास्त्र पढ्नेहरू यहाँ आइरहेछन्।
“अहिले त धेरै परिवर्तन भइसक्यो। १०० भन्दा बढी डाक्टर छन् कर्णालीमा। विशेषज्ञ पनि छन्। स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारी गरेर ५०० जतिले रोजगारी पाएका छन्,” जुम्लाका बासिन्दा समेत रहेका तत्कालीन संविधानसभा सदस्य नरेश भण्डारी भन्छन्।
प्रतिष्ठान अन्तर्गत ३०० शय्याको अस्पताल छ जहाँ आपत्कालीनदेखि सबैखाले स्वास्थ्य सुविधा उपलब्ध छन्। प्रतिष्ठानमा २० जनाबाट शुरू भएकोे एमबीबीएस अध्ययन कोटा ५० पुगेको छ। सन् २०११ अक्टोबरमा स्थापित प्रतिष्ठानले स्नातकतर्फ अब पाँचौं ब्याचको भर्ना लिंदै छ। केही विषयमा एमडी अध्ययन शुरू भइसकेको छ। जुम्ला आसपासका जिल्लाबाट समेत अहिले हरेक दिन सयौं बिरामीले स्वास्थ्य सेवा लिइरहेछन्।
सन् १९९९ मा पूरै कर्णालीमा एक जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकामा अहिले प्रतिष्ठानमा १०२ जना प्रध्यापक छन्। धनगढी, नेपालगन्ज, दाङ, पोखरा, काठमाडौंबाट पनि चिकित्सा शिक्षा पढ्ने विद्यार्थी यहाँ जाँदै छन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार जुम्लामा अहिले मेडिसिन, फार्मेसी, नर्सिङ र पब्लिक हेल्थ अन्तर्गत विभिन्न चौध विधामा एमबीबीएस र एमडी अध्यापन भइरहेको छ। यस वर्ष पहिलो पटक तीनवर्षे एमडी कोर्स पूरा गर्ने पाँचमध्ये तीन जनाले जुम्लामै काम शुरू गरेका छन्। पहिलो ब्याचको एमबीबीएस टोलीका बीस जनाले पढाइ पूरा गर्दै छन्।
“अब एमबीबीएसको पाँचौं ब्याच भर्ना लिइँदै छ,” रावल भन्छन्, “चिकित्साशास्त्र पढ्न हरेक वर्ष १६० भन्दा बढी विद्यार्थी आउँछन्।”
कोरोनामा भर
रावलका अनुसार कोभिड-१९ महामारीमा प्रतिष्ठानले नै कर्णाली प्रदेशका १० जिल्लामा ४२ चिकित्सक र नर्स परिचालन गरेको थियो। सोही कारण त्यति वेला सबैभन्दा धेरै नागरिकलाई कोराना जाँचको सुविधा दिनमा यो काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि दोस्रो नम्बरमा रह्यो।
महामारीमा प्रतिष्ठानले आफैं अक्सिजन उत्पादन गरेर कोभिडसँग जुधिरहेका बिरामीको ज्यान जोगाएको थियो। त्यसअघि प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गरिए पनि प्रयोगमा आएको थिएन। नेपालगन्जको भेरी अस्पतालमा आईसीयू चलाउने स्वास्थ्यकर्मी अभाव हुँदा प्रतिष्ठानबाटै क्रिटिकल केयर विशेषज्ञ डाक्टर सहित ६ जनाको टोली खटाइएको थियो।
“कोरोनाले थलिएका बिरामी हुम्लाबाट हेलिकोप्टरमा प्रतिष्ठानको अस्पताल ल्यायौं,” रावल भन्छन्, “डोटीको दिपायल सिलगढी नगरपालिकाबाट परीक्षणका लागि पठाइएका १५०० स्वाब तत्काल परीक्षण गरिदियौं।”
प्रतिष्ठानले यस क्षेत्रमा मातृ मृत्युदर घटाउन पनि भूमिका खेलेको रावलको दाबी छ। उनका अनुसार जुम्लामा मातृ मृत्युदर शून्यमा झरेको छ भने अन्य जिल्लामा पनि घट्दो क्रममा छ। जिल्लामै स्वास्थ्य सुविधा पाइन थालेपछि जुम्लामा स्वास्थ्य बीमा गर्नेको संख्या बढेको छ। “स्वास्थ्य बीमा धेरै गरिनेमा झापापछि दोस्रोमा जुम्ला नै पर्छ, यहाँ स्वास्थ्य बीमाको कभरेज ८२ प्रतिशत छ,” उनी भन्छन्।
गत चैतमा कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रतिष्ठान स्थापनापछि प्रदेशमा सुरक्षित प्रसूति, बाल मृत्युदर, अस्थायी साधन प्रयोग, पोषण आदि सूचकमा सुधार आएको तथ्यांक सार्वजनिक गरेको थियो। यस अनुसार यहाँ सबै खोप पूर्ण रूपमा प्राप्त गर्ने बालबालिकाको दर आर्थिक वर्ष २०७८/०७९ मा ८३ प्रतिशत रहेकामा आव २०७९/८० मा ८८·६ प्रतिशत पुगेको छ।
अहिले तीनै तहका सरकारले प्रदेशका अन्य जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा पनि चिकित्सकको दरबन्दी थपेका छन्। यसले बाल मृत्युदर नियन्त्रणमा सघाएको छ। डेढ दशकअघिसम्म नवजात शिशु मृत्युदर अत्यधिक रहेकामा आव २०७८/०७९ मा जम्मा दुई शिशुले ज्यान गुमाएका थिए। आव २०७९/०८० मा यो संख्या शून्यमा झरेको थियो। यद्यपि आव २०८०/०८१ को पुस मसान्तसम्म ६ शिशुको मृत्यु भएको थियो। आव २०७८/०७९ मा यहाँ स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ६९·८ प्रतिशत रहेकामा आव २०८०/०८१ मा ८३ प्रतिशत पुगेको छ।
अन्तर्राष्ट्रिय चिनारी
प्रतिष्ठानले पछिल्ला दिन विदेशी विश्वविद्यालयसँग पनि सम्बन्ध बढाइरहेको छ। रावलका अनुसार अमेरिकाको ह्युस्टन मेडिकल स्कूलसँग चिकित्सक आदानप्रदानसँगै जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई अनुसन्धानमा सघाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। त्यस्तै, हार्वर्ड विश्वविद्यालयले ग्रामीण स्वास्थ्यमा छात्रवृत्ति उपलब्ध गराउँदै छ। रावलले हार्वर्डमा कर्णालीको स्वास्थ्य अवस्था र प्रतिष्ठानले गरेका कामबारे प्रस्तुतीकरण दिएपछि यस्तो सहकार्य हुन लागेको हो। त्यस्तै, बेलायतको परोपकारी संस्था डक्टर्स फर नेपालले कमजोर आर्थिक अवस्थाका चार नेपालीलाई एमडी अध्ययनमा सहयोग गरिरहेको छ।
केही सातामा युनिभर्सिटी अफ डेनमार्क र जोन हप्किन्स विश्वविद्यालयका ६ जना प्राध्यापक विद्यार्थी आदानप्रदान सम्झौताका लागि जुम्ला आउँदै छन्।
“प्रतिष्ठान कर्णालीमा चिकित्सा शिक्षा र स्वास्थ्य सुविधाका लागि मेरुदण्ड बनेको छ। अब यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विकास गरिनुपर्छ,” रावल भन्छन्, “भौगोलिक र सामाजिक स्थितिका आधारमा यसलाई विश्वकै उत्कृष्ट ग्रामीण स्वास्थ्य केन्द्र बनाउन सकिन्छ।”
जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित नरेश भण्डारीले २०६६ साउनमा प्रतिष्ठान स्थापनाका निम्ति संसद्मा निजी विधेयक दर्ता गराएका थिए जसलाई संसद्ले पहिलो पटकमै अनुमोदन गरेको थियो। भण्डारी आफैं पनि उपचार अभावमा आमा गुमाएका व्यक्ति हुन्। उनी एसएलसीपछि ललितपुरको पुल्चोक इन्जिनीयरिङ कलेज पढ्न आउँदा जुम्लामा रहेकी ३६ वर्षीया आमा पेट सम्बन्धी रोगले थलिइन्। जसोतसो नेपालगन्ज लगिए पनि अस्पतालमै मृत्यु भयो।
त्यसपछि पढाइ पूरा नगरी माओवादीको सशस्त्र द्वन्द्वमा होमिएका भण्डारी पहिलो संविधानसभामा जुम्लाबाट चुनिए। चुनाव जितेर काठमाडौं आउने क्रममा जहाजमा रोगले ग्रस्त एक महिला पनि थिइन्। तर जहाज नेपालगन्जको राँझा विमानस्थल पुग्दा उनको निधन भइसकेको थियो।
यस्ता घटना पटक पटक देखेकैले आफूले उक्त विधेयकलाई प्राथमिकतामा राखेको भण्डारी सुनाउँछन्। “बिरामीहरू बाटामै मर्नु त सामान्य जस्तै थियो कर्णालीमा,” उनी सम्झन्छन्, “एउटा पोस्टमार्टमका लागि समेत नेपालगन्ज र काठमाडौंबाट डाक्टर लिएर जानुपर्थ्यो। अहिले प्रतिष्ठानले यो स्थितिमा निकै सुधार ल्याइदिएको छ।”