खम्पा निःशस्त्रीकरण र अञ्चलाधीश कृष्णमान श्रेष्ठको सम्झना
मुस्ताङ र मनाङमा रहेका यी दुई सशस्त्र खम्पा समूहबीच वैमनस्यको अवस्था उत्पन्न भएपछि वाङ्दीको नेतृत्वमा रहेको समूहको तुलनामा आफ्नो सानो समूह कमजोर भएकाले त्यस समूहका नेता हिसीले गण्डकी अञ्चलाधीश मार्फत सरकार समक्ष सुरक्षाका निम्ति अनुरोध गरेका रहेछन्।
आजभन्दा तीस-चालीस वर्ष अगाडि काठमाडौं आज झैं भव्य थिएन, विशाल थिएन र थिएन मानिसहरूको भीडले भरिभराउ। मलाई लाग्छ, त्यस बखत साँझपख साथीभाइसित गफ गर्दै जुद्ध सडक अर्थात् नयाँ सडकमा उभिइरहँदा वा त्यसै टहलिरहँदा त्यहाँ आउनेजाने व्यक्तिहरूमध्ये सत्तरी-असी प्रतिशत त परिचित नै हुन्थे। यस्तै बराबर त्यहाँ देखिइरहने भेटिइरहने परिचित व्यक्तिहरूमध्ये एक थिए कृष्णमान श्रेष्ठ। उनी मेरा परिचित व्यक्तिहरूमध्येका मात्र थिए, घनिष्ठ मित्रमध्येका हैनन्। त्यसो भन्नुको अर्थ– दिनहुँजसो भेट भई एकआपसको घरमा गई गफगाफ गर्ने, कुराकानी गर्ने एवं खानपिन गर्नेमध्येका थिएनन् ती।
त्यसरी नै हामी समान (राजनीतिक) आस्थाका पनि थिएनौं। उनका एक जना दाजु पनि थिए गोपालमान श्रेष्ठ। उनी पनि मेरा परिचित व्यक्तिहरूमध्येकै मात्र हुन्। तिनीहरूको निवास काठमाडौंको मिखाडो टोलमा थियो भने पसल चाहिं इन्द्रचोकमा त्यहाँका प्रसिद्ध देवता आकाशभैरवको सामुन्ने पश्चिम फर्केको घरमाथि थियो। यसरी तिनीहरूको घर र पसल दुवै नयाँ सडक निकट भएको र त्यस बखत साँझपख टहल्ने ठाउँ नै मुख्यतया त्यहीं भएपछि हामीहरूको बीच बराबर भेट भइरहनु स्वाभाविकै थियो र यसै प्रसंगमा परिचित हुनु पनि स्वाभाविकै थियो।
इन्द्रचोकमा उनीहरूको पसल पितापुर्खादेखिको थियो र तिनीहरू तत्कालीन (सम्भवतः आज पनि) काठमाडौंका नाम चलेका सुनचाँदी व्यापारीहरूमध्येका थिए। तर यी दुई दाजुभाइ गोपालमान र कृष्णमान श्रेष्ठ पुर्ख्यौली व्यापारतिर त्यति रुचि राख्दैनथे। दाजु गोपालमान प्राध्यापनतिर र भाइ कृष्णमान राजनीतिक गतिविधितिर बढी सक्रिय भएको देखिनाले मैले यस्तो अनुमान गरेको हुँ, अन्यथा परिचित व्यक्ति मात्र हुँदा उनीहरूको आन्तरिक व्यवसायबारे मैले बोल्न मिल्ने कुरा थिएन। (बरु सुन्नमा आएको छ, उनीहरूका छोरामध्ये कोही अहिले पनि उही पुर्ख्यौली व्यापारमा संलग्न छन्।)
वास्तवमा भन्ने हो भने, यी दुई भाइमध्ये दाजु गोपालमान श्रेष्ठ नेपालमा वाणिज्यशास्त्रको प्राध्यापनको शुभारम्भ गर्ने प्राध्यापकमध्ये एक हुन् भने अर्का हुन् प्रा. ईश्वरीलाल श्रेष्ठ। ईश्वरीलाल श्रेष्ठ पछि प्रशासनतर्फ मन्त्रालयमा सरुवा भई सचिवसम्म भएर सेवानिवृत्त भए। मलाई लाग्छ, गोपालमान श्रेष्ठ प्राध्यापन सेवाबाटै निवृत्त भए। अहिले त उनी सेवाबाट मात्र निवृत्त भएका हैनन् कि संसारबाट नै बिदा भइसकेका छन्। त्यसरी नै भाइ कृष्णमानले पनि केही वर्ष अगाडि मात्र संसारबाट प्रस्थान गरिसकेका छन्।
कृष्णमान श्रेष्ठ शुरूदेखि नै राजनीतितिर (सम्भवतः दलगत राजनीतितिर) आकर्षित थिए। एक पटक उनी तत्कालीन नगरपालिकाको निर्वाचनमा प्रत्याशी भई निर्वाचित पनि भएका थिए। जहाँसम्म मलाई सम्झना छ, त्यस बखत उनी सदस्यमा निर्वाचित भएका थिए तथा पछि निर्वाचन प्रत्याशी दलहरूको मिलेमतोमा उनी नगरपालिका उपप्रमुख भएका थिए। पछि उनी अञ्चलाधीश भए भन्ने सुनेको थिएँ– गण्डकी अञ्चलको अञ्चलाधीश। अनि म मुस्ताङ जिल्लाको प्रशासक भएर जाँदा शिष्टाचारको नाताले उनलाई पोखरामा भेटेको पनि थिएँ।
अञ्चलाधीशबाट अवकाश प्राप्त गरी फर्केपछि कृष्णमान श्रेष्ठले आफ्नो वासस्थान काठमाडौंबाट ललितपुरतिर सारेका थिए। यसरी उनी ललितपुर निवासी हुन पुगे र संयोगवश उनी जस्तै काठमाडौंको झोछें टोलबाट ललितपुरको जावलाखेलमा बसाइँ सरेका रामलाल श्रेष्ठका प्रातःभ्रमणका सहयात्री हुन पुगे। सरकारी सेवामा शाखा अधिकृत रहेका रामलालले उपसचिवमा बढुवा हुने वेला सरकारी सेवाबाट राजीनामा गरेर व्यापारमा प्रवेश गरेका थिए। वर्तमानमा उनी नेपालका प्रतिष्ठित व्यापारी वर्गभित्र पर्दछन्। उनै रामलाल श्रेष्ठ मेरा घनिष्ठ मित्रहरूमध्येका एक हुन्, तथापि ढल्किँदो उमेर, स्वास्थ्यको प्रतिकूल अवस्थाका साथै निवासस्थानको दूरीका कारण आजभोलि उनीसित नियमित भेटघाट क्रमशः घट्दो छ।
त्यसो भए पनि उनी जावलाखेल बसाइँ गएदेखिन् शुरू गरेको वर्षको एक दिन गरिने जमघटको कार्यक्रम भने निरन्तर रूपमा चलिआएको छ। रामलालले आफू जावलाखेल बस्न गएदेखिन् रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन प्रत्येक वर्ष आफ्नो घरमा प्रीतिभोजको आयोजना गरी आफ्ना नातेदारहरूका अतिरिक्त नजीकका साथीभाइ, इष्टमित्रहरूलाई पनि बोलाउने गरेका थिए। यो कार्यले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ। एक दिन त्यही भोटोजात्राको जमघटमा मैले कृष्णमान श्रेष्ठलाई पनि सहभागी भएको देखें। त्यस्तै, अरू पनि एक-दुइटा नयाँ अनुहारलाई देखें त्यस दिन। पछि कुराकानीको प्रसंगमा थाहा भयो– कृष्णमान श्रेष्ठ सहित अन्य एकाध नयाँ अनुहारहरू जो देखेको थिएँ, तिनीहरू सबै रामलाल श्रेष्ठको प्रातःभ्रमणका सहयात्रीका रूपमा त्यहाँ निम्त्याइएका रहेछन्।
कृष्णमान श्रेष्ठलाई त्यहाँ देख्दा मलाई एक किसिमले आनन्द पनि अनुभूत भयो, जे भए पनि धेरै पहिलेदेखि परिचित व्यक्तिलाई घनिष्ठ मित्रहरूको बीचमा देख्दा रमाइलो नै लाग्यो। उसमाथि त्यस बखत रामलाल श्रेष्ठ र कृष्णमान श्रेष्ठको बीचमा सम्धीको नाता पनि स्थापना भइसकेको थियो, अर्थात् कृष्णमानका दाज्यू प्रा. गोपालमान श्रेष्ठको छोरासित रामलाल श्रेष्ठकी माहिली छोरीको बिहे भएबाट यो नाता कायम हुन गएको थियो। तथापि कृष्णमानलाई त्यहाँ देख्दा नाताभन्दा पनि मित्र वा प्रातःभ्रमणको सहयात्रीका रूपमा नै बढी नजिकिएको मैले अनुभव गरेको थिएँ। दुई-चार वर्ष यसरी नै भोटोजात्राको दिन रामलालको निवासमा भेट भई खानपिनमा रमाउँदै रहेका पूर्व परिचित मित्र कृष्णमान श्रेष्ठ एक दिनको जमघटमा अनुपस्थित भएपछि सोधपुछ गर्दा थाहा भयो– उनको देहावसान भएको रहेछ। शुरूमा परिचित मात्र भएर पछि क्रमशः सालको एक पटक भए पनि भेट भई घनिष्ठतामा परिणत हुन लागेका मित्रको एकाएक यसरी देहावसान हुनु निःसन्देह दुःखको कुरा हो।
उसमाथि आआफ्नो वासस्थानको दूरीको कारण मृत्यु भएको तेह्रौं दिन अखबारमा सूचना प्रकाशित भएपछि मात्र ‘फलाना फलाना त गएछन्’ भन्ने थाहा भई समवेदना व्यक्त गर्नसम्म पनि जान नपाइनु अर्को दुःखको कुरा हो, कारण हाम्रो प्रचलन अनुसार मृत्युको दश दिनपछि समवेदना व्यक्त गर्न जाने कुरा मिल्दो रहेनछ। यसैकारण कृष्णमानको निधनमा पनि मैले उनको घरसम्म गई समवेदना व्यक्त गर्न नपाएकोमा मलाई अहिले पनि दुःखको अनुभूति भएको छ। कारण– उनको निधनको जानकारी पनि मैले तेह्र दिन बितिसकेपछि मात्र पाएको थिएँ।
तिनै कृष्णमान श्रेष्ठ गण्डकी अञ्चलाधीश भएको वेलाको कुरा हो यो। त्यस बखत म मुस्ताङको प्रशासक/सहायक अञ्चलाधीश भएर जाँदा उनलाई पोखरामा भेटेको कुरा माथि उल्लेख भइसकेको छ। त्यस बखत नेपालको उत्तरी क्षेत्रतर्फ चार जिल्लामा ‘उत्तर क्षेत्रीय सीमा प्रशासन क्षेत्र’ को नामबाट प्रशासकीय इकाइको स्थापना गरिएको थियो। तीमध्ये मुस्ताङ जिल्लामा पनि यो इकाइ स्थापना गरिएको थियो। सदरमुकाम जोमसोममा क्षेत्रीय प्रशासन कार्यालय रहेको थियो भने प्रमुख जिल्ला अधिकारीको कार्यालय दानामा थियो। पछि प्रशासक पदलाई सहायक अञ्चलाधीशमा परिणत गरियो भने यी दुवै पद अर्थात् सहायक अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मैले नै पाएको थिएँ। वर्तमान समयमा मुस्ताङमा पनि अन्यत्र सरह प्रमुख जिल्ला अधिकारी मात्र छन् र जिल्ला सदरमुकाम पनि जोमसोम नै कायम छ। त्यसो त त्यस बखत प्रमुख जिल्ला अधिकारीको कार्यालय समेत कतिपय जिल्लास्तरीय अन्य कार्यालयहरू रहेको स्थान दाना अहिले मुस्ताङमा नै पर्दैन। पछि जिल्लाको सीमा पुनर्निर्धारण भएपछि घासादेखि उत्तरतर्फको इलाका मात्र मुस्ताङ जिल्ला कायम भएबाट त्यसभन्दा दक्षिणतर्फ दाना समेतको इलाका म्याग्दी जिल्लामा पर्न गयो। त्यसै बखतको कुरा हो। एक दिन मैले गृह मन्त्रालयबाट ‘यथाशीघ्र पोखरामा गएर गण्डकी अञ्चलाधीशसित भेट गर्नू र भेटको प्रसंगमा भएको कुराको रिपोर्ट गर्न काठमाडौं आउनुपर्ने भए आउनू’ भन्ने आदेश आकाशवाणीबाट पाएँ। त्यस वेला आजभोलिजस्तो सञ्चारको सुविधा विस्तार भइसकेको थिएन। गृह मन्त्रालयबाट यस्तो आदेश पाएपछि पहिले त म छक्क परें– मैले किन गण्डकी अञ्चलाधीशलाई भेट्नुपर्ने? मुस्ताङ त धौलागिरि अञ्चलमा पर्दछ, न कि गण्डकी अञ्चलमा। यस हिसाबबाट मेरो तालुकवाला सम्बन्धित अञ्चलाधीश त धौलागिरि अञ्चलाधीश हुन् जो अञ्चल सदरमुकाम बाग्लुङमा बस्छन्।
तर जे होस्, तालुकवाला मन्त्रालयबाट ‘जानू’ भन्ने आ.वा. आदेश पाएपछि मैले नजाने कुरै भएन र मुस्ताङबाट पोखरातर्फ हिंडें। पोखरा पुगेपछि गण्डकी अञ्चलाधीशलाई आफू आइपुगेको खबर दिएँ र उनले दिएको दिन र समयमा भेट्न अञ्चलाधीश कार्यालयमा पुगें। त्यहाँ पुगेपछि थाहा भयो– कुरा के रहेछ। त्यहाँ अञ्चलाधीश कार्यालयमा विभिन्न अधिकृत एवं प्रहरी अधिकृतका साथै गे हिसी नामका खम्पा नेताका दलका केही व्यक्तिहरू पनि उपस्थित रहेछन्, यी खम्पा नेताहरूसितको कुराकानीमा संलग्न हुन मलाई त्यहाँ जान भनिएको रहेछ। यस सम्बन्धमा केही पूर्व कथाहरू यहाँ उल्लेख हुनु समीचीन हुनेछ।
चीनमा जनवादी गणतान्त्रिक सरकारको स्थापना भएपछि विभिन्न क्षेत्र र इलाकालाई मुक्ति गर्दै लाने प्रसंगमा चीनको स्वशासित क्षेत्र तिब्बतलाई पनि मुक्त गर्न भनी त्यहाँ चिनियाँ सेना प्रवेश गरेपछि तिब्बतका धर्मगुरु (एवं प्रशासक) दलाई लामा समेत धेरै तिब्बतीहरू भागेर नेपाल एवं भारतका विभिन्न स्थानहरूमा शरणार्थीका रूपमा रहन थालेका थिए र अहिले पनि दलाई लामा सहित कतिपय तिब्बतीहरू प्रवासमा नै छन्। दलाई लामाले त भारतको धर्मशालामा आफ्नो आप्रवासन–सरकार नै स्थापना गरेका थिए। यसरी त्यस बखत प्रवासनमा रहेका तिब्बती शरणार्थीहरूमध्ये नेपालमा शरणार्थीका रूपमा प्रवेश गरेका व्यक्तिहरूमा मुख्यतया तीन थरीका समुदाय वा समूहसित आबद्ध व्यक्ति थिए भन्न सकिन्छ– (१) डोक्पा जातिका, (२) आम्दो जातिका एवं (३) खम्पा जातिका। यी तीन किसिमका शरणार्थीहरूमध्ये डोक्पा जातिका शरणार्थीहरू बन्दव्यवसाय एवं खेतीपातीमा आबद्ध गृहस्थ किसिमका थिए। आम्दो जातिका व्यक्तिहरू पनि विशेषतः व्यापारतिर लागेका गृहस्थहरू नै थिए, तथापि तिनीहरूको संख्या अरू दुई जातिका शरणार्थीहरूको तुलनामा निकै कम थियो। खम्पा समुदायका शरणार्थीहरू भने हातहतियारले युक्त लडाकू स्वभावका थिए।
यी तिब्बती शरणार्थीहरूमध्ये डोक्पा जातिका (एवं केही आम्दो समुदायका समेत) व्यक्तिहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयको सहयोग र संयोजनमा तथा नेपाल रेडक्रसको व्यवस्थापनमा नेपालका विभिन्न स्थानहरूमा पुनर्वासको व्यवस्था गरिएको थियो। यीमध्ये पूर्वाञ्चलमा सोलु जिल्लाको खाल्सा, मध्यमाञ्चलमा ललितपुरको जावलाखेल, पश्चिमाञ्चलमा कास्की जिल्लाको छोरेपाटन हेम्जा एवं बाग्लुङको ढोरपाटन तथा सुदूरपश्चिमको दार्चुला जिल्लामा गरिएको पुनर्वासको व्यवस्था उल्लेखनीय थियो। पुनर्वास सम्बन्धी यी सबै कार्यक्रममा नेपाल रेडक्रसको केन्द्रीय समिति एवं शरणार्थी सम्बन्धी उपसमितिमा गृह मन्त्रालयको मनोनीत प्रतिनिधिको हैसियतमा म पनि संलग्न थिएँ। पछि म मुस्ताङको प्रशासक भएर गएपछि नेपाल रेडक्रसकै कार्यक्रम अनुरूप मुस्ताङका विभिन्न गाउँघरमा छरिएर बसेका तिब्बती (डोक्पा) शरणार्थीहरूलाई छैरौ भन्ने स्थानमा पुनर्वास गर्ने कार्य मेरै रेखदेखमा सम्पन्न भएको थियो।
तर शरणार्थीकै रूपमा आएका भए पनि खम्पा समुदायका व्यक्तिहरू यस प्रकारको खेतीपाती वा ससाना बन्दव्यवसायसित सम्बन्धित पुनर्वास कार्यक्रमप्रति आकृष्ट थिएनन्। तिनीहरू सशस्त्र रूपमा नेपालको उत्तरी सीमा क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म विभिन्न शिविर स्थापना गरी सैन्य गुल्मका रूपमा रहेका थिए। तिनीहरूको भरणपोषण एवं खर्चको व्यवस्था पोखरा, ललितपुर आदि विभिन्न शहरहरूमा सञ्चालित होटल-रेस्टुराँ एवं गलैंचा कारखानाहरूबाट हुने गर्दथ्यो भने अधिकांश खर्चको रकम सीधा भारतस्थित धर्मशालाबाट आउने गर्दथ्यो। यिनै खम्पा शरणार्थीहरूमध्ये एक समूह सशस्त्र रूपमा मुस्ताङमा थियो र तिनीहरूका नेताका रूपमा गे हिसी थिए। यी सशस्त्र खम्पाहरूले अवसर मिल्नासाथ तिब्बततर्फ गएर त्यहाँका चिनियाँ अधिकारीहरूमाथि सांघातिक आक्रमण समेत गर्दथे भने नेपालीहरूलाई पनि तिब्बततर्फ गई बन्दव्यापार गर्न निरुत्साहन गर्दथे। तिनीहरूको भनाइलाई उपेक्षा गरी बन्दव्यापार गर्न जाने नेपाली नागरिकहरूलाई दुःख पनि दिने गर्दथे। तिनीहरूले कतिपय नेपालीलाई भौतिक कारबाही पनि गरेका थिए। विशेषतः त्यस बखत मुस्ताङमा रहेका खम्पा नेता हिसीको कार्यविधि निकै अराजक एवं आपत्तिजनक थियो। यिनै खम्पा सशस्त्र शरणार्थीहरूको यस्तै आपत्तिजनक गतिविधिको प्रतिकारका निम्ति यी क्षेत्रहरूमा सरकारको उपस्थितिको अवबोध गराउने हेतुले माथि उल्लिखित उत्तरी क्षेत्र सीमा प्रशासन कार्यालयको स्थापना गरिएको थियो। स्मरणीय छ, त्यस बखत तत्कालीन नेपाल सरकारको स्वीकृति अनुसार नेपाल र चीनको तिब्बत क्षेत्रको सिमानाका विभिन्न नाकाहरूमा भारतीय सैनिकहरूको आ.वा. सेट सहितको चेकपोस्ट थिए र तिनीहरूको क्रियाकलाप विशेषतः तिब्बततर्फ चिनियाँ सैनिकहरूको गतिविधिको निगरानी गर्नु थियो र तिनीहरूको यस कार्यबाट चीन विरोधी खम्पाहरूलाई आफ्नो गतिविधि सञ्चालन गर्नमा निकै सहयोग पुगेको थियो। पछि राजा महेन्द्रको प्रादुर्भाव भई पञ्चायती व्यवस्था लागू भएको वेलामा सिमानामा रहेका चेकपोस्टबाट भारतीय सैनिक जवानहरूलाई हटाउने काम भएको थियो।
उत्तरी सीमा प्रशासन कार्यालयको स्थापनापश्चात् तत्तत् क्षेत्रमा रहेका खम्पाहरूको गतिविधिमा पहिलेको तुलनामा उच्छृंखलताको मात्रा केही कम भई नरमपना देखा पर्यो भने स्थानीय नेपाली जनताले पनि केही त्राणको अनुभव गर्न थाले। फलतः मुस्ताङमा रहेका गे हिसीको अराजक गतिविधिको स्थानीय एवं कूटनीतिक रूपमा समेत विरोध हुन थालेपछि भारतको धर्मशालास्थित दलाई लामाको आप्रवासन सरकारले मुस्ताङस्थित खम्पा समूहको नेताको स्थानमा गे वाङ्दी नामका व्यक्तिलाई पठाई हिसीलाई धर्मशाला फिर्ता बोलायो। (स्मरणीय छ, यहाँ कूटनीतिक रूपमा विरोध भयो भन्नुको अर्थ थियो– दलाई लामाको नेपालस्थित प्रतिनिधिको समक्ष गरिएको विरोध।) यहाँनेर यो कुरा स्पष्ट गर्नु पनि समीचीन हुनेछ होला, दलाई लामाको आप्रवासन–सरकारको प्रतिनिधिका रूपमा माथिल्लै तहका एक जना तिब्बती अधिकारी काठमाडौंको लाजिम्पाटमा ‘गाङ्देन कास्सेर’ नामबाट कार्यालय खोलेर बसेका थिए (र सम्भवतः अहिले पनि छ त्यो कार्यालय), यद्यपि यो कार्यालय स्थापनार्थ नेपालबाट औपचारिक स्वीकृति प्रदान गरिएको थियो जस्तो लाग्दैन। (यसरी नै तिब्बतलाई चीनको स्वशासित क्षेत्रका रूपमा मान्यता दिने हुँदा दलाई लामाको आप्रवासन सरकारलाई पनि नेपालले औपचारिक रूपमा मान्यता प्रदान गरेको छैन। दलाई लामालाई बौद्ध धर्म सम्बन्धी एक जना अति सम्मानित धर्मगुरुका रूपमा सम्मान गर्नु चाहिं बेग्लै कुरा भयो।) तर पनि सशस्त्र खम्पाहरू सहित अरू पनि थुप्रै तिब्बती शरणार्थीहरू नेपालमा रहेको र तिनीहरूको पुनर्वासको साथै अन्य विविध गतिविधिको कारण उत्पन्न हुने गरेका समस्याहरू समाधान गर्ने परिप्रेक्ष्यमा तिब्बती शरणार्थीसित सम्बन्धित विभिन्न सरकारी एवं गैरसरकारी संस्थासित आबद्ध व्यक्तिहरूले त्यस कार्यालयमा गएर कुरा गर्नुपर्ने अवस्थालाई पनि नकार्न सकिंदैन। यसै प्रसंगमा मुस्ताङमा रहँदा हिसीले गरेको अराजक एवं आतंकपूर्ण गतिविधिलाई लिएर त्यस कार्यालयमा गरेको विरोधलाई नै यहाँ कूटनीतिक रूपमा गरिएको विरोध भनिएको हो।
धर्मशालाको आदेश अनुसार गे वाङ्दी मुस्ताङ आइपुगे, तर गे हिसी भने धर्मशाला जान तयार भएनन् र उनले एक प्रकारले दलाई लामाको आप्रवासन–सरकारको विरोधमा विद्रोह नै गरे। वाङ्दीले मुस्ताङमा आएर त्यहाँ रहेका खम्पाहरूको नेतृत्व सम्हालेपछि हिसी आफूप्रति बफादार रहेका केही खम्पा शरणार्थीहरूलाई साथमा लिएर मनाङ जिल्लामा गएर बसे। त्यस बखत उनको साथ लाग्ने खम्पाहरूको संख्या डेढ सय जति थियो तथा सशस्त्र त्यस समूहलाई सानो समूहका रूपमा लिनु उपयुक्त हुँदैनथ्यो। मनाङमा हिसीको नेतृत्वमा रहेको खम्पा समूह र मुस्ताङमा वाङ्दीको नेतृत्वमा रहेको खम्पा समूहको बीच एक प्रकारले वैमनस्यको भावना विकास भएपछि मुस्ताङको मुक्तिनाथबाट मनाङ भई अन्नपूर्ण हिमालको परिक्रमा गर्ने पर्यटन मार्ग असुरक्षित हुन गयो। त्यसो त सशस्त्र खम्पाहरूको उपस्थितिका कारण पर्यटन मार्ग असुरक्षित थियो नै, उसमाथि यी दुई समूहबीच वैमनस्य बढी कुनै पनि वेला संघर्ष हुन सक्ने आशंकाले गर्दा यो मार्ग बढी असुरक्षित हुन गयो।
मुस्ताङ र मनाङमा रहेका यी दुई सशस्त्र खम्पा समूहबीच यस प्रकार वैमनस्यको अवस्था उत्पन्न भएपछि वाङ्दीको नेतृत्वमा रहेको समूहको तुलनामा आफ्नो सानो समूह कमजोर भएकाले त्यस समूहका नेता हिसीले गण्डकी अञ्चलाधीश मार्फत सरकार समक्ष सुरक्षाका निम्ति अनुरोध गरेका रहेछन्। यही कुराको परिप्रेक्ष्यमा केकस्तो उपाय अपनाउनुपर्ने हुन्छ भन्ने विषयमा गण्डकी अञ्चलाधीश कार्यालयमा हुने छलफलमा मैले पोखरा जानुपरेको कुरा माथि नै उल्लेख भइसकेको छ। विशेष गरेर मुस्ताङका सहायक अञ्चलाधीशको हैसियतमा मैले मनाङमा रहेका हिसी समूहमाथि कुनै किसिमको कारबाही नगराउनू भनी वाङ्दीलाई दबाब दिने वार्तामा भाग लिन जानुपरेको कुरा पोखरा पुगी अञ्चलाधीशसँग भेट भएपछि स्पष्ट भयो। त्यस दिन गण्डकी अञ्चलाधीशको कार्यालयमा यस सम्बन्धमा भएको छलफलमा प्रारम्भिक कुराकानी भएपछि उक्त समूहका नेता हिसीसँग नै भेटी कुरा गर्नु उपयुक्त हुने ठहर भई हिसीतर्फका मानिसहरू फर्केपछि गण्डकी अञ्चलाधीश सहित त्यहाँ उपस्थित नेपाली अधिकृतहरूको बीच एक क्षण थप कुरा भयो र अञ्चलाधीशले गृह मन्त्रालयबाट प्राप्त थप निर्देशनबारे पनि जानकारी दिए। साथै, त्यस वेला उक्त समूहका नेता हिसी काठमाडौंमा बसिरहेको हुँदा मैले काठमाडौं गएर उनीसित भेट गर्ने र त्यसपछि गृह मन्त्रालयमा रिपोर्ट गर्ने भन्ने भएपछि म त्यहींबाट काठमाडौंतर्फ लागें।
काठमाडौं आएर सर्वप्रथम मैले गृहसचिवलाई भेटी पोखरामा गण्डकी अञ्चलाधीश कार्यालयमा भएको छलफलको विवरणबारे रिपोर्टिङ गरें। त्यस बखत गृहसचिव सुन्दरप्रसाद शाह थिए। म मुस्ताङ सरुवा हुँदाखेरिका गृहसचिव (हाल स्वर्गीय) उपरथी क्षेत्रविक्रम राणा मुख्यसचिवमा बढुवा भई गइसकेका थिए। हिसीसँग कुरा गर्दा सर्वप्रथम अवैध हतियार नै बुझाउनुपर्नेमा जोड गर्नू भन्ने निर्देशन सचिवबाट पाएँ। हिसी समूहबाट अवैध हतियार लिइसकेपछि तिनीहरूलाई मनाङमा नै रहन दिने हो भने मुस्ताङस्थित वाङ्दी समूहबाट तिनीहरूलाई झन् बढी खतरा हुने भन्ने भएपछि तिनीहरूलाई नुवाकोटको त्रिशूली नदीको किनारामा रहेको ठूलो पर्ती जग्गामा बसोबास गराइने योजना रहेको जानकारी पनि सचिवज्यूबाट पाएँ। तिनीहरूलाई मनाङबाट बसोबास क्षेत्रतर्फ नल्याएसम्म उनीहरूमाथि त्यस्तो कुनै अवाञ्छित कार्य नगर्नू/नगराउनू भनी गे वाङ्दीलाई मैले सतर्क गराउने कुराको पनि निर्देशन पाएँ। त्यसपछि गण्डकी अञ्चलाधीशले नै सूचित गरे अनुसार हिसीका मान्छेले मलाई भेटी काठमाडौंमा हिसी डेरा गरी बसेको घरमा लगेपछि यस सम्बन्धमा उनीसँग दुई-चार पटक नै कुरा भयो। यसैबीचमा नुवाकोटको त्यस क्षेत्रको निरीक्षण गर्न पनि पुगेको थिएँ। यसै सिलसिलामा काठमाडौं, पोखरा, मुस्ताङ र मुस्ताङ, पोखरा, काठमाडौं (एवं नुवाकोट सहित) दुई-तीन पटक आवतजावत गर्नुपरेको थियो। एक पटक त हेलिकोप्टरबाट मनाङ पनि गएको थिएँ– हिसी समूहको शिविरको अवलोकन गर्न। तर प्रतिकूल मौसमका कारण मनाङमा हेलिकोप्टर बस्न सकेन र पोखरा फर्कनुपर्यो।
अन्त्यमा हिसी पक्षका व्यक्तिले हातहतियारका बाकसहरू जिल्ला प्रहरी कार्यालय मनाङमा बुझाउने र त्यस कार्यालयले आफ्नो तालुकवाला कार्यालय गण्डकी अञ्चल एस.पी. कार्यालयमा पठाउने र एस.पी. कार्यालयबाट हतियारयुक्त ती बाकसहरू मैले बुझिलिई लगत्तै काठमाडौं ल्याएर सैनिक मुख्यालयमा बुझाउने भन्ने ठहर भयो। त्यसै निर्णय अनुसार गे हिसीका मान्छे– छुडा भन्ने व्यक्तिले जि.प्र. ठाना मनाङमा बुझाएको विभिन्न किसिमका हतियार भएको बाकस ६ थान उक्त कार्यालयले गण्डकी अञ्चल एस.पी. कार्यालयमा पाएपछि उक्त कार्यालयले लेखेको २०२९ जेठ १० गते बुधबारको पत्र अनुसार हतियारहरू भएका ६ थान बाकसहरू २०२९ जेठ १९ गते बिहीबार उक्त एस.पी. कार्यालयबाट मैले बुझी सोही दिन पोखराबाट प्रस्थान गरी काठमाडौंमा ल्याई सीधै सैनिक मुख्यालयमा बुझाउने काम गरें। ती बाकसहरूमा केकस्ता हतियारहरू थिए भन्ने कुरा यसैसाथ परिशिष्टका रूपमा प्रस्तुत पत्रबाट स्पष्ट हुने हुँदा यहाँ उल्लेख गरिरहनु आवश्यक परेन। मेरा परिचित व्यक्ति कृष्णमान श्रेष्ठसित सम्झनलायक मैले कुनै काम गरेको थिएँ भने मलाई लाग्छ, यही खम्पाका एक समूहका नेता गे हिसीसित मनाङमा रहेका हतियार बुझ्ने/बुझाउने सम्बन्धी काम नै थियो भन्न सकिन्छ। अस्तु।
२०६४/२/१८
परिशिष्ट
(क) गण्डकी अञ्चल एस.पी. कार्यालयको पत्र
गोप्य
श्री ५ को सरकार
गण्डकी अञ्चल एस.पी. कार्यालय
(व्य.त. शाखा मुद्धाता (अस्पष्ट) तथ्यांक जा. उपशाखा) पोखरा
प.सं.– २/०७/२४ मिति २०२९/२/१८/४
प्रा.प.सं. ०२८/११ (?)/७९ मिति २०२९/२/१८/४
विषयः– बन्दी बाकस जिम्मा दिएको
श्री नारायण प्रसाद राजभण्डारी
प्रशासक, मुस्ताङ् हाल पोखरा
हुडाले (अस्पष्ट) बुझाएको भनी श्री जि.प. थाना मनांगको उपरोक्त प.सं. मितिको पत्रसाथ दाखील हुन आएका निम्न बन्दी बाकस थान ६ श्री गृ.पं.मं.को सा.सु. गो ०२८/२९/२९/१९७३ मिति ०२९/१/५/२ को आदेशानुसार यसैसाथ तपाईलाई जिम्मा दिइन्छ सो बुझी लिनु भै श्री गृ.पं.मं.बाट तपाईलाई भएको उक्त आदेशानुसार गर्नु हुन अनुरोध गरिएको छ।
१. ४६+१३+८.५ इन्च हरियो कपडाले मोडेको बन्दी बाकस थान दुइ ––––––––––––––– २
२. २०+१३+७.५ इन्चको हरियो कपडाले मोडेको बन्दी बाकस थान तीन ––––––––––––– ३
३. ३२+१७+११ इन्चको हरियो कपडाले मोडेको बन्दी बाकस थान, एक ––––––––––––– १
(सही) इन्दुकुमार थापा
का.मु एस्.पी
(इन्दु कुमार थापा)
बोधार्थ
श्री गृह पंचायत मंत्रालय
सा.सु. शाखा
श्री प्र.प्र.का. व्य. त. जा उपशाखा नक्साल
श्री म. क्षे. डि.आई.जी.पी. का. काठमाडौं
(ख)
अति गोप्य
श्री ५ को सरकार
गृह पंचायत मंत्रालय
(... शाखा)
सिंहदरबार,
काठमाडौ नेपाल
मिति...
पत्र संख्या– शा.सु. मुस्ताङ् २०२८/२९/२२८९
श्री सम्माननीय प्रधान सेनापतिज्यू
शाही जंगी अड्डा
महोदय,
हालै बरामद् भएको केही अबैध हातहतियारहरू मुस्ताङ्का प्रशासक श्री नारायण प्रसाद राजभण्डारीले यही जेष्ठ १९ गते पोखराबाट ल्याउनु भै तहाँ बुझाउन ल्याउने भएकोले उहाँले जुनसुकै समयमा ल्याई पुराए पनि थान गिन्ती गरी बुझी भपाई दिनु भनी सम्बन्धित अधिकृतका नाउँमा आदेश हुन अनुरोध गर्दछु। यो हतियार के गर्ने वा कहाँ राख्ने भन्ने सम्बन्धमा त्यसै कार्यालयबाट श्री ५ महाराजाधिराज सरकारका हजुरमा विन्ती गरी हुकुम बक्से बमोजिम गर्नु भै यस मंत्रालयलाई समेत सूचित गर्नु हुन पनि अनुरोध गर्दछु।
(सही) सुन्दरप्रसाद शाह
०२९/२/१६/२
श्री ५ को सरकारको साविक
सचिव
गृहपंचायत मंत्रालय
बोधार्थ
श्री ५ महाराजाधिराजका प्रमुख सैनिक सचिवालय
राजदरवार
कार्यार्थ
श्री नारायण प्रसाद राजभण्डारी
प्रशासक, मुस्ताङ्– उपर्युक्त बमोजिम गर्नु हुन
(ग)
श्री ५ को सरकार
प.सं.११८०८/३/ह.पा.जि ३४/ढप्र
टु.म. कोतखाना डिपो
तोपखाना।
मिति २०२९/२/२३ गते
श्री गृहपंचायत मन्त्रालय
शा.सु. शाखा
विषय– वरामदी हतियार सम्बन्धमा
सम्बन्धः–प.सं. २२५३/२४/ वा /२७/ जनरल, मिति २०२९/२/१८
सम्बन्ध आदेशको बोधार्थ पत्र ताहा प्राप्त भएकै छ। उक्त आदेशानुसार मुस्ताङ् जिल्लाका प्रशासक श्री नारायणप्रसाद राजभण्डारीले प्राविधिक जाँचबाट ठहर भए बमोजिम गर्ने गरी २०२९/२/१९ को भर्पाइ बमोजिम जाकड राखी जानुभएको हात हतियारहरू नियम बमोजिम प्राविधिक जचाउँदा तपसिल बमोजिम ठहर हुन आएकोले उक्त हात हतियारहरू २०२९/२/२० मा सम्बन्धित जिन्सी खातामा आमदानी बाँधिएको छ।
तपसिल
विवरण– सावुद– वेसावुद–बेकम्मा– जम्मा
१) सर्ट हायण्ड स्प्रीङ्फिड (अस्पष्ट नाल) ३ – ६ २ ११
२) राइफल विनचेस्टर गोलीवाल नाल १ – – – १
३) राइफल चाइनिज गोलीवाल – २ – २
४) राइफल माजर गालीवाल नाल १ – – १
५) राइफल ३०३ नं. १ मार्क ३ नाल – १ – १
६) ७.९२ ब्रेन मार्क १ नाल – २ – २
७) मार्टर ६० एम्.एम्. नाल – २ – २
८) मेग्जीन ब्रेन थान १० – – १०
९) ब्रेनको जगेडा ब्यारल गोटा १ – – १
एमुनेसन डिपो ठिमिमा बुझाउन फिर्ता लानु पर्ने भनी उहाँले उक्त भर्पाइ बमोजिम बुझाइ राख्नु भएको निम्न एमुनिसनहरू प.सं. २/५३/३४/वा /२९/ जनरल मिति २०२९/२/२० को आदेश बमोजिम उक्त डिपोमा बुझाइएकोले सो सम्बन्धमा उक्त डिपोबाटै कारवाई हुने व्यहोरा अनुरोध गरिएको छ :–
१) विभिन्न किसिमको बल राउण्ड खोका मात्र ३ (तीन) समेत सात सय अन्ठानब्बे –––––––––––– ७९८
२) ६० एम् एम् को मोर्टरको बम प्याक भएको कालो डब्बासहित अठ्ठाइस –––––––––––––––– २८
(सही) कुवेरध्वज
सेनानी
बोधार्थ
श्री बलाधिकृत विभाग (व्य.व्यू.नि.) शाही जंगी अड्डा
श्री सम्भार रथि विभाग (जनरल) शाही जंगी अड्डा
श्री मुस्ताङ्, जिल्ला प्रशासक श्री नारायण प्रसाद राजभण्डारी– यस डिपोको उक्त भर्पाई रह गरिएको व्यहोरा समेत सूचनार्थ अनुरोध।
श्री एम्युनिसन डिपो ठिमी– २०२९/२/२० मा यस डिपोका उ.से. इन्द्रबहादुर सिजापतिले तहाँ बुझाउनु भएको उपरोक्त एम्युनिसनको आवश्यक कारवाई गरी श्री गृहपंचायत मंत्रालय शा.सु शाखामा भर्पाइ पठाउन भै (अस्पष्ट) अनुरोध।
(दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थबाट। प्रकाश गुरागाईंद्वारा सम्पादित स्मृतिग्रन्थ असोज १८ मा विमाेचन हुँदै छ।)