नेपालका ब्यांकको निरन्तर निगरानी आवश्यक : अन्तर्राष्ट्रिय मुद्रा कोष
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको अर्थतन्त्र सुधारतिर फर्कन खोजेको शुरूआती संकेत देखिएको बताएको छ।
कोभिड-१९ महामारीबाट तंग्रिने प्रयास हुँदाहुँदै नेपाल विदेशी मुद्राको तीव्र क्षयीकरण र अर्थतन्त्रमा शिथिलताको चरणमा प्रवेश गरेको थियो। मुद्रा कोषले नेपालको पछिल्लो तथ्यांकले आयात वृद्धि हुन थालेको, सार्वजनिक लगानी बढ्न थालेको र राजस्व संकलन वृद्धिको सकारात्मक संकेत देखिएको बताएको छ।
कोषले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (ईसीएफ)बारे छलफल गर्न कोषको मिसन (टोली) नेपाल भ्रमण गरेर फर्किएपछि कोषले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ।
कोषको प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले जारी गरेको विज्ञप्तिमा दिगो, सशक्त र समावेशी आर्थिक वृद्धिको बाटोमा अर्थतन्त्रलाई लैजान सुधारका कामलाई गति दिन आवश्यक रहेको औंल्याइएको छ। यसका लागि सार्वजनिक लगानीको प्रभावकारी कार्यान्वयन, आन्तरिक राजस्व संकलनलाई सुदृढ बनाउन जरूरी रहेको उल्लेख गरिएको छ।
ब्यांकहरूको बढेको खराब कर्जा र पूँजीको समस्या सामना गरिरहेको अवस्थामा ती संस्थाको निरन्तर निगरानी राख्नु आवश्यक भएको र नियमनलाई अझ सुदृढ बनाउँदै १० ठूला ब्यांकको ऋणको स्थिति समीक्षा (पोर्टफोलियो रिभ्यू) सम्पन्न गर्नु आवश्यक रहेको कोषले उल्लेख गरेको छ। सरकारले नेपालका १० ठूला ब्यांकको ऋणको स्थिति मूल्यांकन गर्न अन्तर्राष्ट्रिय परामर्शका लागि बोलपत्र आह्वान गरे पनि त्यो फेरि रोकिएको छ। कोषले छिटो ब्यांकहरूको स्थिति मूल्यांकन गर्न फेरि सरकार र नेपाल राष्ट्र ब्यांकलाई घचघच्याएको हो।
कोषले बचत र ऋण सहकारीको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गर्न पनि सुझाएको छ। हालसालै सम्पत्ति शुद्धीकरण विरुद्धको ऐनमा गरिएको संशोधनको स्वागत गर्दै कोषले नेपाल राष्ट्र ब्यांक ऐनमा संशोधन गर्न, राष्ट्र ब्यांकको बाह्य लेखापरीक्षण सम्पन्न गर्न तथा सार्वजनिक संस्थानको पारदर्शिता बढाएर सुशासन र जवाफदेहीमा सुधार ल्याउन आवश्यक रहेको पनि औंल्याएको छ।
विस्तारित कर्जा सुधार कार्यक्रम अन्तर्गत नेपालले अहिलेसम्म गरेका सुधारलाई स्वागत गर्दै कोषले अहिलेसम्मका कामबारे औपचारिक रूपमा मूल्यांकन गरिने बताएको छ। नेपालले कोषसँग ४० करोड अमेरिकी डलरको विस्तारित कर्जा सुविधा लिएको छ।
कोषको टोलीले अर्थमन्त्री विष्णु पौडेल, गभर्नर महाप्रसाद अधिकारी लगायतसँग भेटघाट गरेको थियो।