असोज १२ सम्म पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन सकिने वेला आइसक्दा मनसुनी प्रणाली फेरि सक्रिय भएको छ। कम्तीमा शनिबार (१२ असोज)सम्मै देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरिको आकाश बादलले ढाकिएको उल्लेख छ। मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज देशका अन्य भागमा पनि वर्षाको सम्भावना छ।
त्यसैगरी, बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ। खासगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै र कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम छ। कैयौं भागमा हावाहुरीको समेत सम्भावना छ।
धान पाकेर थन्क्याउने समयमा सक्रिय हुन थालेको मनसुनका कारण देशभरिका किसान प्रभावित हुनेछन्। हावाहुरी सहितको पानीले पाक्न लागेको र फुल्न लागेको धानमा गहिरो असर छोड्नेछ।
सामान्यतया नेपालमा २ अक्टोबरमा मनसुन बाहिरिने मानिन्छ। तर यस वर्ष पनि अघिल्ला वर्षहरू जस्तै ढिलासम्म मनसुन सक्रिय रहने देखिएको छ। मौसमविद्हरूले दशैंसम्मै मनसुन सक्रिय रहने आकलन गरेका छन्।