प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता शुरू
बीवाईडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुरू भएको छ।
नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकैमा क्याफेको सहयोगमा हिमालमिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो। सोमबार हिमालमिडियाका अध्यक्ष कुन्द दीक्षितले प्रतियोगिताको उद्घाटन गरेका छन्।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानका विभिन्न उमेर समूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले बताए। सबै स्पर्धामा पाँच लाख ७६ हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ। प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ।
पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। ३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १२ हजार ५०० र ६ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, ४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्समा प्रथम, द्वितीय र तृतीयले क्रमशः २० हजार, १० हजार र चार हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
यसैगरी, ५५ वर्षमाथिको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रोले क्रमशः १५ हजार, सात हजार ५०० र तीन हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउनेछन्। ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुनेलाई तीन हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।